धरानमा प्रहरीले फायरिङ खोलेपछि फरार अभियुक्तहरु पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको धरानस्थित इन्जिनियरिङ क्याम्पसका दुइ विद्यार्थीमाथि छुरा प्रहार गर्ने समूहलाई पक्राउ गर्नेक्रममा प्रहरीले मंगलबार दिउँसो फायरिङ गरेको छ ।

धरानमा प्रहरीले फायरिङ खोलेपछि फरार अभियुक्तहरु पक्राउ

प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलका अनुसार पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत दुई विद्यार्थीमाथि गएराति छुरा प्रहार गरि फरार रहेकाहरुलाई पक्राउ गर्नेक्रममा फायरिङ गरिएको हो । प्रहरीले धरान–१५ बस्ने विज्ञान लिम्बूलाई गएराति नै पक्राउ गरेको थियो । कुम्बे राई र लिम्बे भनिने विकेन लिम्बूलाई पक्राउ गर्ने क्रममा फाइरिङ खोलेको प्रहरीले जनाएको छ ।


बाग्लुङका सुजन खड्का र काभ्रेका प्रदीप सापकोटालाई छुरी प्रहार गरेर फरार रहेका मध्ये कुम्वे राईलाई पक्राउ गर्न खोज्दा धरान–१५ बाँझोगराको महादेवचोकमा प्रहरी माथि नै अन्धाधुन्दा ढुंगा प्रहार गरेपछि फाइरिङ गरिएको प्रनाउ पौडेलले बताए ।


प्रहरीले प्रहार गरेको गोलीले राईलाई भने नलागेको प्रहरीले जनाएको छ । फायर खोलेपछि मात्र राईलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ ।


धरान–१५ विशाल चोक नजिकै साथीकोबाट नोटकपी लिएर आउने क्रममा इन्जिनियरिङ क्याम्पसमा चौथो वर्ष अध्ययनरत बाग्लुङका खड्का र काभ्रेका सापकोटामाथि एक्कासी छुरी प्रहार गरी गम्भीर घाइते बनाएर मोबाइल र पैसा समेत लुट्ने प्रयास भएको थिए ।


छुरा प्रहारबाट दुवैको छातीमा चोट लागेको छ । सुजन खड्काको भने हातमा चोट लागेको छ । घाइते विद्यार्थीहरुको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । घाइते सापकोटाको अवस्था सामान्य रहेपनि खड्कालाई भने तत्काल आइसियुमा भर्ना गरिएको थियो । प्रहरीले दुवै घाइते खतरा मुक्त रहेको जनाएको छ ।

प्रकाशित : वैशाख ११, २०७५ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?