कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कांग्रेसको मत किन घट्यो ? गगन थापासहितका ६ युवाले दिए ४ कारण

काठमाडौँ — कांग्रेसका ६ जना युवा नेताको तर्फबाट भन्दै गगन थापाले मंगलबार पार्टी केन्द्रीय समितिको बैठकमा ५० पेजको धारण प्रस्तुत गरेका छन् । थापासहित चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, प्रदीप पौडेल, जीवन परियार, रामकृष्ण यादवले 'निर्वाचनको समिक्षा र अगामी कार्यदिशा' नाम दिएर प्रस्तुत गरेको अवधारणको पहिलो अध्ययमा कांग्रेसको मत किन बढेन भन्ने सम्बन्धमा लामो विवरण दिइएको छ । 

कांग्रेसको मत किन घट्यो ? गगन थापासहितका ६ युवाले दिए ४ कारण

त्यसमा उल्लेखित कारणहरुको सम्पादित अंश यहाँ दिइएको छ:

अवसरको सदुपयोग गर्न नसक्नु

२०४८ सालको निर्वाचन पश्चात कांग्रेसलाई एउटा महत्वपूर्ण अवसर आएको थियो । जन आकांक्षा अनुरुप सुशासन कायम राख्दै देशको विकासमा गर्ने अवसर थियो । झण्डै तीन दशक अन्धकारमा रहेका जनताले न्याय, समता र लोककल्याणलाई सर्वोपरी मान्दै शासन सञ्चालनको नयाँ परम्परा स्थापित गर्छ भन्ने आशा गरेर नै कांग्रेस पार्टीलाई बहुमत दिएका थिए । त्यो अवसरलाई सदुपयोग गरेर कसरी जनताको मत जित्ने बिढ कसरी पुर्‍याउने तर्फ कोशिस हुनु पर्‍थ्यो, तर त्यस हुन सकेन । यो २६ वर्षको अविधमा हाम्रो जनाधार बढेन बरु निरन्तर घट्दै गयो । हाम्रो परम्परागत गढ भत्किए, तर नयाँ मतदाता आकर्षित भएनन् । हाम्रो बलियो पकड भएको मधेसमा जनताको पहिलो रोजाई मधेस केन्द्रित दल भएका छन् भने सहरी क्षेत्रमा नयाँ मतदाताले कांग्रेसको विकल्पतर्फ नजर लगाइरहेको दुखद अवस्था छ । सहरी मध्यमवर्ग, गरीब-विपन्न, युवा-बृद्ध, मधेस-पहाड-तराई किन कोही पनि हामीसँग रहेनन् ? हामीले लिएको बाटो गलत भयो वा कार्यशैली ?

प्रजातन्त्रको पुनस्थापना पश्चात २०४८ सालमा नेपाली कांग्रेसको बहुमतको सरकार बन्यो । हाम्रो आफ्नै कारणले सरकार पुरा अविध चलाउन सकेन । त्यसयताका २६ वर्षको अविधमा राजाको प्रत्यक्ष शासन बाहेक पनि दुई दर्जन बढी सरकारहरु बने । दुई पटक बहुमतसहित र अन्य समयमा गठबन्धन बनाएर पटक पटक सरकार सञ्चालनको अवसर कांग्रेसले पायो । अर्थात जनताको मन र मत दुवै जित्ने, परिणाम दिनसक्ने मौका कांग्रेसले पाएकै हो । तर किन जनता कांग्रेससँग निराश र आक्रोसित भए ? 'पटक पटक तिमीहरुलाई मौका त दिएकै हो के गर्‍यौ ?' भनेर जनताले सोध्दा हामीले गरेका कामको लामै सूची त देखाउन सकिएला । तर आजका दिनमा कुनै पनि नेपाली नागरिकलाई यो कालखण्डमा बनेका सरकारहरुले गरेका काम कस्तो लाग्यो भनेर सोध्ने हो भने उत्तर आउँछ- अस्थिर, अनुत्तरदायी र अप्रभावकारी यस्तै यस्तै... ।

जनतासँगको संवादको उपेक्षा

हामीले यो बीचमा त दुई पटक एक्लै सरकार चलाउन बहुमत नै पायौं, तर न हामीले पुरा समय सरकार चलाउन सक्यौं, न त सरकारको नेतृत्व नै एक जनाको गरिराख्न सक्यौं । गठबन्धनमा सरकार चलाउँदा पनि हामीलाई सधै सरकार बदल्न हतारो भइरहेको नै जनताले देखिरहे । एक पटक अन्तरआत्मालाई सोध, सरकार बदल्न, आफ्नै सरकार कमजोर गराउन हामीले के चाही गरेनौं होला ! यो सबैले गर्दा जनताबाट प्राप्त मतादेशलाई आम नागरिकको हितमा प्रयोग गर्न भन्दा पनि फगत पार्टीका केही महानुभावहरुको सत्तारोहणको लालसालाई पुरा गर्नमा प्रयोग गर्न कांग्रेसको परिचय बन्न पुग्यो । पार्टी सत्तामा गएपछि, यसैमा मदहोश भएर जनतासँगको संवादलाई कांग्रेस पार्टीको नेतृत्वले सदैव उपेक्षा गरिरह्यो । यो कालखण्डमा सहरी मध्यम वर्ग बढ्दै गयो, यो वर्गले सवैभन्दा महत्व दिने भनेको सरकारमा रहँदाको पार्टीको कार्यसम्पादन हो । हाम्रो कार्य सम्पादनले सन्तुष्ट हुन नसक्दा ठूला सहरहरुमा मतदाताले विकल्प खोज्न थाले ।

समाजिक मुद्दामा अलमल

२०४७ पश्चात कांग्रेसले नेपाली समाजमा विद्यमान असमानतालाई के-कसरी हेर्ने भन्ने विषयमा सबैभन्दा ठूलो गल्ति गरेको देखिन्छ । जसको सिधा फाइदा कम्युनिष्टहरुले लिएका छन् । जात, धर्म, लिङ्ग, भूगोल आदिको आवरणमा देखिएको असमानता कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा कांग्रेस सदैव अलमिलएको अवस्थामा रह्यो । दलित, महिला, जनजाति, मधेसी, विपन्न, पीछिडएको वर्ग, क्षेत्र तथा समुदाय आफ्नो पहिचान र समानताको आकंक्षा गरिरहे तर त्यस्तो आकांक्षालाई कांग्रेसले कसरी सम्बोधन गर्ने भन्ने विषय नै पहिल्याउन सकेन । हामी अलमलियौं तर हाम्रो मान्यता र घोषणाले नेपाली समाजमा गुम्सिएर रहेका दलित, महिला, जनजाति, मधेसी, विपन्न, पीछडिएको वर्ग, क्षेत्र, समुदायका पहिचान र समानताका आकांक्षाहरु प्रकट र सघन हुँदै जाने क्रम भने रोकिएन । किनकी हाम्रो संघर्षले ल्याएको उदार प्रजातान्त्रिक राजनीतिले त्यसका निम्ति वातावरण वनाइिदएको थियो ।

सांगठनिक कमजोरी

कुनै पनि पार्टी कस्तो हो भन्ने निर्धारण पार्टीको सदस्यता विधि, नीति र नेतृत्वको छनोट कुन तरिकाबाट हुन्छ भन्नेले निर्धारण गर्छ । नेपाली कांग्रेसको सम्बन्धमा पार्टीले चाहेकाले मात्र पार्टीको सदस्यता पाउन सक्छन् र यसरी पार्टीले चाहेको व्यक्तिले नै पार्टीको नेतृत्व चुन्न पाउँछ र चुनिएको नेतृत्वको समुहले मात्र पार्टीको नीति निर्धारण गर्न पाउँछ । पार्टीको औपचारिक आम्दानी पार्टीको सदस्यहरुको लेबी नै हो । पार्टीले कुनै पनि मौका दिंदा अपवाद वाहेक पार्टी सदस्यता लिएको व्यक्ति र अवधिलाई नै मुख्य आधार बनायो । अर्थात कांग्रेस क्याडर बेष्ड पार्टी हो । तर हामीले यसलाई स्वीकार गरेनौं र मास वेष्ड पार्टी भन्ने नै मानिरह्यौं । मास वेष्ड पार्टी भएकोले पार्टीको नीति र नेताबाट प्रभावित भएर स्वत: पार्टीमा सदस्य थपिन्छन् भन्ने भ्रम हामीमा रहिरह्यो तर वास्ताविकता त्यस्तो थिएन । हामीले नचाहेका र नछानेका पार्टीमा आफैँ छिर्न नसकुन् भनेर पार्टीको मूल प्रवेशद्वारमा नै ठूलो ताल्चा लगाएर राखेका थियौं । अनि नयाँ सदस्य र मतदातादे कसरी प्रवेश पाउने?

प्रकाशित : वैशाख ११, २०७५ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?