कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

किन सताइन्छन् उखु किसान ?

अमन कोइराला

सर्लाही — चिनी नबिकेको भन्दै उखु बेचेको चार महिनासम्म उद्योगपतिले किसानलाई भुक्तानी दिएनन् । मधेसमा तामझाम सहित मनाइने खर्चिलो चाड होलीमा किसानले चर्काे ब्याजमा ऋण लिनुपर्‍यो । 

किन सताइन्छन् उखु किसान ?

घर खर्च चलाउन नसक्ने अवस्था भएपछि भुक्तानीका लागि किसान आमरण अनशन बसे । आमरण अनशनले उद्यमीलाई भुक्तानी गर्न बाध्य बनायो । उद्योगले उखु किसानलाई चैत अन्तिम सातादेखि भुक्तानी दिन थाले । किसानले धमाधम भुक्तानी पाउन थालेका छन् । तर, अहिले पनि चिनी भने बिकेको छैन ।


चिनी नबिकेको बहाना बनाएर करोडौं रुपैयाँ ४ महिनासम्म रोकेका मिलले आन्दोलनपछि अचानक कहाँबाट पैसा ल्याएर भुक्तानी दिए भन्ने प्रश्न किसानले उठाएका छन् । चिनी उद्योगले किसानलाई कहिल्यै पनि सजिलै उचित मूल्य र भुक्तानी नदिने परम्परारलाई यस वर्ष पनि जारी राखेको किसानको आरोप छ ।


किसान महासंघका अध्यक्ष एवं अगुवा उखु किसान राजकुमार उप्रेती चिनी नबिके पनि आन्दोलनपछि भुक्तानी दिने पैसा उद्यमीसँग अचानक आउनुले उनीहरूको नियत प्रस्ट हुने बताउँछन् ।


‘किसानलाई ४ महिनासम्म भुक्तानी नदिएका उद्योगलाई आन्दोलनले मात्र गलायो,’ उनले भने, ‘अहिले पनि चिनी बिकेको छैन । भुक्तानी दिन सक्दा रहेछन् भन्ने त देखियो । समयमा पैसा नपाउँदा किसानले सयकडा ३६ प्रतिशत ब्याजमा ऋण लिएर गुजारा चलाउनुपर्‍यो । उद्योगपतिले कच्चा पदार्थ आपूर्ति गर्ने किसानलाई सताएको मात्र देखियो ।’


एकपटक रोपेको उखु बिक्री हुन करिब एक वर्ष लाग्छ । बेचेर भुक्तानी पाउने बेलासम्म १६ महिना जान्छ । उद्योगले उखु क्रसिङ गरेकै दिन चिनी तयार गरेर बेच्न सक्छन् । किसानले वर्ष दिनसम्म लगानी गरेर तयार पारेको कच्चा पदार्थमा टिकेको उद्योगले किसानलाई सताउन अवसर भने कहिल्यै छाडेनन् ।


भन्सार महसुल सस्तो भएकाले विदेशी चिनीको आयात बढेर स्वदेशी बिक्री नभएको भन्दै उद्योगले किसानलाई भुक्तानी दिन नसक्ने बताएका थिए । विदेशबाट आएको चिनीले भाउ घटेकाले बिक्री नभएको उद्यमीको भनाइ थियो ।


केही दिनको रिले र आमरण अनशनजस्ता आन्दोलन किसानले गर्न थालेपछि उद्यमी गले । प्रदेश सरकार र संघीय सरकार पनि किसानको आन्दोलनपछि छिटो भुक्तानी दिलाउन सक्रिय भएका थिए । उप्रेतीले किसान सताउन हरेक अवसरलाई चिनी उद्यमीले प्रयोग गर्दै आएको बताए । किसानलाई सताएर कमाउने दाउमा उद्यमी लाग्ने गरेको उनले आरोप लगाए ।


‘किसानको पैसा रोकेर रुवावासी मच्चाउने र त्यसको फाइदा उद्यमीले लिने गर्दै आएका छन्,’ उनले भने, ‘विदेशबाट आउने चिनीको भन्सार बढाउन पनि किसानलाई भुक्तानी नदिएर समस्यामा पारे । चिनी नबिकेको होइन । महँगोमा बेच्नका लागि उद्यमीले किसानको भुक्तानी नदिएका हुन् । किसानलाई अचानो बनाएर आफ्नो स्वार्थ सिद्ध गर्ने दाउमा उद्यमी लागे ।’


चिनी बिक्री नभएर हरिवनस्थित इन्दुशंकर चिनी उद्योगको सबै गोदाम भरिएका छन् । भुक्तानी नदिँदाकै जस्तो अवस्थामा अहिले पनि छ । उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले चिनी उत्पादकको सिन्डिकेटले किसानलाई समस्या पर्दै आएको बताए ।


किसानलाई दु:ख दिएपछि सरकारलाई बाध्य पारेर फाइदा लिन सकिन्छ भन्ने मान्यता उद्यमीमा रहेको उनले उल्लेख गरे । ‘मूल्य र भुक्तानीको समस्या हरेक वर्ष हुने गर्छ,’ उनले भने, ‘किसानलाई देखाएर फाइदा जति उद्यमीले लिन्छन् ।’


इन्दुशंकर चिनी उद्योगका अधिकृत ठाकुर नेपालले चिनीको बिक्री अहिले पनि फाटफुट मात्र भएको बताए । उनले ऋण लिएर किसानको भुक्तानी भइरहेको उल्लेख गरे । गत वर्षसम्म मासिक ३० हजार मेट्रिक टन चिनी बिक्री हुने गरेकोमा विदेशी सस्तो चिनीले बजार ढाक्दा स्वदेशी उत्पादन गोदाममै थन्किएको उद्यमीको भनाइ छ ।

प्रकाशित : वैशाख ११, २०७५ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?