ढाकाबाट गुडेको दुईवटा बस आज नेपाल प्रवेश गर्दै
काँकडभिट्टा — बंगलादेशको राजधानी ढाकाबाट बुधबार दुईवटा बस नेपाल प्रवेश गर्दैछन् । सम्झौता भएको करिव ३ वर्ष पछि बंगलादेश, भारत र नेपालबीच त्रिदेशिय बस सेवा संचालनको परीक्षणका लागि ढाकाबाट बस आएको हो ।
बसमा नेपाल, भारत र बंगलादेशका अधिकारीहरु सवार छन् । टोलीमा सहभागी मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले ढाकाबाट करिव २४ घन्टा पछि बस नेपाल प्रवेश गर्ने बताए । बसको स्वागतका लागि भन्सार र अध्यागमन परिसरमा व्यापक तयारी गरिएको छ ।
तीन देशका अधिकारीसहितको बस मंगलबार अपराह्न भारत–बंगलादेश सीमाको फूलबारी आएको थियो । त्यहाँबाट आज नेपालका लागि बस प्रस्थान गरेको भन्सार प्रमुख अर्यालले बताए । टोलीमा ६ जना नेपाली अधिकारी छन् । बंगलादेशका ३६ र भारका १२ जना छन् ।
नेपालसहितका चार देश बंगलादेश, भुटान र भारतबीच सोझो बस सेवा संचालनका लागि सन् २०१५ जुनमा बीबीआइएन मोटर भेइकल सम्झौता भएको थियो । तर, भुटानले भने यो सम्झौतामा हस्ताक्षर गरेको छैन ।
सोही सम्झौता अनुसार परीक्षणको रुपमा बस सेवा संचालन गर्न लागिएको हो ।
बीबीआइएन मोटर भेइकल सम्झौता पछि नै एसियाली विकास बैंकले नेपाल, भारत, भुटान र बंगलादेश जोडिने सडकलाई एसियन हाइवेको रुपमा विकास गर्ने उद्देश्यका साथ स्तरोन्नतरी गरिरहेको छ । बंगलादेश क्षेत्रको सडक स्तरोन्नतरी लगभग सकिएको छ । भारतीय क्षेत्रमा भने अझै काम जारी छ । आकासे पुलसहित चार लेनको सडक निर्माण गरिएको छ ।