कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

निजी विद्यालयहरुले असुलेका शुल्क फिर्ता गर्न शिक्षा विभागमा विद्यार्थीको धर्ना

सुदीप कैनी

काठमाडौँ — निजी विद्यालयहरुले भर्नाको बेला असुलेका चर्को शुल्क फिर्ता लिन दबाव दिने उद्देश्यले विद्यार्थी संगठनहरुले बुधबार शिक्षा विभागमा धर्ना दिएका छन् । अनेरास्ववियू, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैटौंलगायत विद्यार्थी संगठनले शिक्षा विभाग भक्तपुरमा करिब डेढ घण्टा धर्ना दिएका हुन् ।

निजी विद्यालयहरुले असुलेका शुल्क फिर्ता गर्न शिक्षा विभागमा विद्यार्थीको धर्ना

शुल्कवृद्धि रोक्न र लिइसकेको शुल्क फिर्ता लिने उद्देश्यले शिक्षा विभाग घेराउ गरेर धर्ना दिइएको अनेरास्ववियूका सचिव आरसी लामिछानेले बताए । निजी विद्यालयहरुले शिक्षा मन्त्रालयले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ कार्यान्वयन नगरेको भन्दै ती संगठनहरुले विरोध जनाउँदै आएका छन् ।

शुल्क वृद्धि फिर्ता गराउन र फिर्ता नगर्ने विद्यालयलाई कारवाही गर्न दबाब दिन विद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेका हुन् । वैशाख १४ गतेभित्र शुल्क फिर्ता लिन देशभरका स्थानीय तहका प्रमुखहरुको कार्यालय घेराउसहित धर्ना दिने ती विद्यार्थी संगठनले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आगामी बजेटमा शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्टाउन, चर्को शुल्क वृद्धि घटाउन, शैक्षिक प्रमाणपत्रको आधारमा विद्यार्थीलाई कर्जा दिन, विद्यालय तहको शिक्षा निशुल्क बनाउन दबाव दिने उद्देश्यले प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाउने लामिछानेले जानकारी दिए ।

अनेरास्ववियूका कार्यवहाक अध्यक्ष महेश बर्तौला, नेविसंघ अध्यक्ष नैनसिंह मगर, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अखिल छठौंका अध्यक्ष विमल पोखरेल लगायतले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन् ।

शुल्क वृद्धि, विवादित नवौं शिक्षा ऐनको खारेजी लगायतका विषयमा विद्यार्थी संगठनहरुले दबावमूलक कार्यक्रम गर्दै आएका छन् ।


प्रकाशित : वैशाख १२, २०७५ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?