कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुन तस्करीको लहरो : पहरो गर्जने संकेत

–थप दुई प्रहरी पक्रन सर्कुलर
–प्रमाण नपुगेर अदालतबाटै छुट्छन् आरोपी
जनकराज सापकोटा

काठमाडौँ — संगठित रूपमा सुन तस्करीका घटनामा एकपछि अर्को वरिष्ठ प्रहरी अधिकारी मुछिएपछि प्रश्न उठेको छ– लहरो तान्दा पहरो गर्जने त होइन ? 

सुन तस्करीको लहरो : पहरो गर्जने संकेत

गत फागुन ९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको तस्करीको ३३ केजी सुन ओसारपसारका क्रममा हरायो । त्यही सुन खोज्ने क्रममा मोरङ, उर्लाबारीका सनम शाक्यको हत्या भएपछि यो प्रकरण सार्वजनिक भएको थियो । शाक्यको हत्या अनुसन्धान थालेको महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी नेतृत्वको टोलीकै भूमिका शंकास्पद देखिएपछि मन्त्रिपरिषद्ले विशेष अनुसन्धान समिति गठन गर्‍यो । विशेष समितिको अनुसन्धानले घटनाको ‘लहरो’ तान्दै जाँदा नयाँ–नयाँ तथ्य खुल्न थालेको हो ।

को हुन् गोरे ?

मोरङ, उर्लाबारीका ‘गोरे’ भनिने चूडामणि उप्रेती नै पछिल्लो सुन प्रकरणका सर्वाधिक खोजीमा रहेका व्यक्ति हुन् । लामो समय दुबई बसेर फर्केका उप्रेतीले नै प्रहरीका उच्चपदस्थ अधिकारी र विमानस्थलका कर्मचारी हातमा लिएर संगठित रूपमा सुन तस्करीको र्‍याकेट चलाएको अनुसन्धान अधिकारीहरूको बुझाइ छ । स्रोतका अनुसार उप्रेतीकी श्रीमतीसमेत हाल दुबई बस्छिन् ।

उप्रेतीकै योजनामा दुबईबाट आउने सुन विमानस्थल हुँदै बाहिरिन्थ्यो र स्थलमार्ग हुँदै त्यसलाई भारतीय बजार पुर्‍याएर बेचिन्थ्यो । संगठित समूह नै बनाएर गोरेले सुन तस्करीलाई निरन्तरता दिइरहेका थिए । जसमा उनले आफू र आफूनिकटका प्रहरी उच्चपदस्थ अधिकारी र सुन व्यापारीलाई समेत साथमा लिएका थिए । प्रहरी सहायक निरीक्षकबाट अवकाश पाएका बाबुका छोरा भएकाले उनलाई केही प्रहरी अधिकारीले विश्वास गरेको देखिन्छ ।

सुन तस्करीको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार उप्रेती प्रहरीका निम्ति सुराकीको भूमिकामा समेत थिए । उनले विमानस्थल हुँदै बाहिरिने एकाध केजी सुनको केही सूचनासमेत प्रहरीलाई दिने गरेका थिए । त्यसैले उनको अनुसन्धानमा संलग्न प्रहरीको एउटा तप्कासँग राम्रो सम्पर्क थियो ।

उच्च स्रोतका अनुसार जिल्लास्थित विभिन्न दलका नेतालाई अप्ठ्यारो पर्दा र चुनावका बेला उनी आर्थिक सहयोग गर्थे । गोरेले दुबई प्रहरीमा समेत केही समय काम गरेको सूचना अनुसन्धान समितिले पाए पनि त्यसलाई पुुष्टि हुने आधार फेला पारिसकेको छैन । स्रोत भन्छ, ‘पछिल्लो समय उनले दुबईमा बस्ने पत्नीको सहयोगमा सुन तस्करीको धन्दा अगाडि बढाइरहेका थिए ।’

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित ९ सदस्यीय विशेष अनुसन्धान समितिले अहिलेसम्म २० जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेकामा प्रहरीका दुई बहालवाला र एक पूर्वअधिकारीसमेत छन् । समितिकै निर्देशनमा प्रहरीले चैत अन्तिम साता तस्करीको सुन कारोबारमा संलग्न भन्दै आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य, जय मातादी गोल्डका सञ्चालक पवन अग्रवाल, थाई एयरका कर्मचारी, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्रीलगायतलाई पक्राउ गरेको थियो । समितिले ११ वैशाखमा मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनाललाई बयानपछि नियन्त्रणमा लियो भने सोही दिन इटहरीमा कार्यरत डीएसपी सञ्जय राउतको बयान लियो । डीएसपी राउत भने बयान सकिनै लागेका बेला समितिका सदस्यलाई झुक्याएर बेपत्ता भए ।

उच्च प्रहरी अधिकारीसहित २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको विशेष समितिले घटनाको लहरो तान्दै जाँदा संगठित तस्करीको जालो क्रमश: खुल्दै छ

समितिले १० वैशाखमा महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत सई गजेन्द्र रावललाई बयानपछि नियन्त्रणमा लियो भने ९ वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गरेका पूर्वडीआईजी गोविन्द निरौलालाई समेत बयान पछि नियन्त्रणमा लिएको थियो ।


उच्च स्रोतका अनुसार समितिले तस्करीको सुन ओसारपसारमा प्रत्यक्ष रूपमा संलग्न र सहयोगी भूमिकामा रहेकाहरूको लामो सूची तयार पारेको छ । समितिले तस्करीका मुख्य नाइके गोरे (चूडामणि उप्रेती) सँग सम्पर्कमा रहेकाहरूलाई पहिलो सूचीमा राखेको छ । समितिसँग समन्वयमा रहेका एक प्रहरी अधिकारीले भने, ‘गोरेसँग केही प्रहरी अधिकारीको बाक्लो फोन कनेक्सन देखिन्छ ।’


यसरी बाहिरियो घटना

‘सेटिङ’ मा सहजै विमानस्थलबाट बाहिरिएको तस्करीको ३३ केजी सुनबारे त्यतिबेला मात्रै चर्चा भयो, जब १४ फागुनमा काठमाडौंको गौरीघाटबाट हराएका सनम शाक्यलाई सुन तस्करकै समूहले हत्या गरेको तथ्य खुल्यो । १८ फागुनमा महानगरीय अपराध महाशाखाका डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल उक्त घटना अनुसन्धान क्रममा मोरङ पुगेपछि शाक्यको हत्या भएको तथ्य बाहिरिएको थियो । फागुन १९ गते महाशाखाले जारी गरेको विज्ञप्तिमा शाक्यको हत्या काभ्रेका टेकराज मल्ल, मोरङ, उर्लाबारीका कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेले मिलेर गरेको निष्कर्ष निकालेको थियो ।


विराटनगर महानगरपालिका– ३ का टेकराज मल्लले चलाएको स्कारपियो गाडी जाँच गर्दा डिकीभित्र शाक्यको शव फेला परेको र उनको मृत्यु निर्घात कुटपिट र करेन्टबाट भएको महाशाखाले विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो । २९ फागुनमा उर्लाबारीका स्थानीयले शाक्य हत्या घटनाको छानबिन हुनुपर्ने भन्दै संघर्ष समिति गठन गरेका थिए । स्थानीय कृष्ण प्रधानको नेतृत्वमा ५१ सदस्यीय संघर्ष समिति हत्याको निष्पक्ष छानबिन माग गर्दै प्रधानमन्त्री कार्यालयसम्म पुगेको थियो ।


लगत्तै मन्त्रिपरिषद्ले विशेष अनुसन्धान समिति गठन गरेको थियो । समितिले महाशाखाको टोली आफू तालुकदार निकाय महानगरीय प्रहरी कार्यालयलाई जानकारी नगराई कार्यक्षेत्रभन्दा बाहिर गएर काम गरेको, महाशाखाका सई बालकृष्ण सञ्जेल र गोरे लामो समयदेखि सम्पर्कमा रहेको, उनैको सूचनाका आधारमा गोरे भागेको आशंका गर्दै डीएसपी केसी, सई सञ्जेलसहित महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई जिम्मेवारीमुक्त गर्दै हेडक्वार्टर तान्न निर्देशन दियो ।


अनुसन्धान समितिले उक्त तस्करीको सुन ओसारपसारमा प्रहरीका उच्च पदस्थ अधिकारीको संलग्नता रहेको र आफ्नो बाबुको परिचय उपयोग गर्दै गोरे प्रहरी अधिकारीसँग नजिकिएको निष्कर्ष निकालेको देखिन्छ । चैतको अन्तिम साता प्रहरीले बानेश्वरस्थित गोरेको डेरा छापा मार्दा बिस्कुट आकारका सुन बोक्न मिल्ने ज्याकेट र बैंकमा पैसा गन्नेजस्तै टेलर मेसिन बरामद गरेको थियो ।


तर समितिका कुनै पनि सदस्य यसबारे औपचारिक रूपमा मुख खोल्न तयार छैनन् । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण काफ्लेले मन्त्रिपरिषद्ले गठन गरेको समितिको कामकारबाहीबारे आफूलाई थाहा नहुने बताए । महाशाखाका सई सञ्जेल र गजेन्द्र रावलसहितको टोलीले करिब सात महिनाअघि विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको गाडी गेटबाहिर खानतलासी लिँदा डेढ केजीभन्दा ठूलो डल्लो आकारको सुन बरामद गरेको थियो । उच्च स्रोतका अनुसार उक्त सुनबारे गोरेले नै प्रहरीलाई सूचना दिएका थिए । यसरी गोरे बेलाबखत सूचना दाता बन्दै प्रहरीका जुनियरदेखि सिनियर अफिसरसम्म सम्पर्कमा रहन्थे ।


समितिले हालसम्म पक्राउ गरेका व्यक्तिका आधारमा गोरेले संगठित तवरमै सुन तस्करीको र्‍याकेट चलाइरहेको संकेत मिलेको छ । विमानस्थलका कर्मचारी, थाई एयरवेजका कर्मचारी, भन्सारमा खटिने लोडरदेखि प्रहरीका अधिकारीसम्मलाई मिलाएर संगठित तवरमा विमानस्थलबाट सुन बाहिरिएको देखिन्छ । समितिको निर्देशनमा प्रहरीले नेपाल एयरलाइन्सका तीन र थाई एयरलाइन्सका ८ कर्मचारीलाई पक्राउ गरेको थियो । एयरलाइन्सका कर्मचारीले विमानबाट आएको सुन विमानस्थलको भन्सार कटाउन सहयोग गर्ने गरेको अनुसन्धानले देखाएको विश्वस्त स्रोतले बतायो ।


सुन तस्करीको यही संगठित अभ्यासबारे चाल पाएरै १९ चैतमा गृह मन्त्रालयमा आयोजित ‘गृह प्रशासन सुधार मार्गचित्र’ सार्वजनिक गर्दै गृहमन्त्री रामबहादुर थापाले विमानस्थलबाट संगठित रूपमा टनका टन सुन तस्करी भइरहेको बताएका थिए ।

सोमबार मात्रै गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सहसचिव ईश्वरराज पौडेलले तस्करीको सुनबारे भइरहेको अनुसन्धान विवरण प्रधानमन्त्री ओलीलाई सुनाएका थिए ।


स्रोतका अनुसार सहसचिव पौडेलले ठूलो परिमाणमा विमानस्थलमार्फत सुन भित्रिएको र यसमा प्रहरी अधिकारीकै संलग्नता देखिएको बताएका थिए । प्रधानमन्त्री ओलीले छानबिन कार्य निर्भीक रूपमा अघि बढाउन समितिलाई निर्देशन दिएका छन् ।


प्रमाणित होला कसुर ?

सुन तस्करीमा यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो होस् वा महानगरीय अपराध महाशाखाले गरेका अनुसन्धानमा प्रतिवादीहरूको ठूलो संख्या देखिने, तर प्रमाण अभावमा उनीहरू अदालतबाट सजिलै छुट्ने गरेको देखिन्छ । २०७३ पुस २१ गते विमानस्थलबाट बाहिरिएको ३३ किलो ५ सय ७७ ग्राम सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा चलाएका ३३ मध्ये २० जना सामान्य धरौटी बुझाएर छुटिसकेका छन् । महानगरीय अपराध महाशाखाले ८८ केजी सुन तस्करीको अभियोगमा प्रमुख योजनाकार भनिने रसुवाका कांग्रेस नेता मानबहादुर तामाङसहित ११ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाएको थियो । जसमा काठमाडौंका ५ जना सुनचाँदी व्यवसायी र गाडीका तीन चालकसमेत थिए । तर अदालतबाट धरौटी बुझाएर चालकबाहेक सबै छुटिसकेका छन् ।


१५ भदौ २०७२ मा केरुङबाट भित्रिएको २२ मध्ये १५ केजी सुन केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको थियो । ब्युरोले उक्त सुन तस्करीका मुख्य नाइके सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल रहेको ठहर गरेको थियो । तर घटना सार्वजनिक भएलगत्तै फरार भएका पौडेल खुसुक्क अदालतमा उपस्थित भएर एक लाख धरौटी बुझाई छुटे र संसदीय चुनाव प्रचारमा खटिए ।


विशेष समितिले सुन तस्करीमा संलग्न आशंकामा धमाधम प्रहरीका पूर्वउच्च अधिकारीदेखि बहालवाला अधिकारीसम्मलाई पक्राउ गरेको छ । प्रहरीकै एक उच्च अधिकारीका अनुसार फोन कनेक्सनका भरमा धेरैको संलग्नता प्रमाणित गर्न समिति लागिपरेको जस्तो देखिन्छ । ती अधिकारीले प्रमाणको पर्याप्त भार जुटाउन नसक्ने हो भने बयानमा पोलेका भरमा मात्रै अदालतबाट दोषी प्रमाणित हुन नसक्ने बताए । समितिले ठोस प्रमाण कत्तिको बटुलेको छ, अभियोग प्रमाणित हुने आधार त्यही बन्ने ती अधिकारीले बताए ।


बहालवाला प्रहरी पक्रन आन्तरिक सर्कुलर

३३ केजी सुन तस्करीमा अनुसन्धान गरिरहेको समितिको निर्देशनमा दुई बहालवाला प्रहरी अधिकारीलाई पक्रन प्रहरी प्रधान कार्यालयले सबै प्रदेश कार्यालय र ७७ वटै जिल्लामा बुधबार दिउँसो आन्तरिक सर्कुलर गरेको छ । एसएसपी श्याम खत्री र ११ गते गृह मन्त्रालयमा बयान चल्दाचल्दै भागेका डीएसपी सञ्जय राउतलाई पक्राउ गर्न यस्तो सर्कुलर जारी गरिएको हो ।


उच्च स्रोतका अनुसार एसएसपी खत्री केही दिनयता प्रहरी प्रधान कार्यालयसँग सम्पर्कविहीन छन् । खत्रीलाई बयानका निम्ति उपस्थित गराइदिन समितिले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएलगत्तै उनी सम्पर्कबाहिर रहेकाले सर्कुलर जारी गरिएको हो । खत्री तिनै एसएसपी हुन्, जो २०७३ पुस २१ गते विमानस्थलबाट बाहिरिएको ३३ किलो ५ सय ७७ ग्राम ४० मिलिग्राम सुन तस्करीमा पनि मुछिएका थिए ।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थल भन्सारबाट बाहिरिएको सुन विमानस्थल गोल्डेन गेट हुँदै बाहिरिएलगत्तै समातेको थियो । उक्त सुन पास गराउन एसएसपी खत्रीको समेत संलग्नता रहेको भन्दै उनलाई पक्राउ गरिएको थियो । तर खत्रीले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका थिए । सुन तस्करीका मुख्य नाइके गोरेसँग एसएसपी खत्रीको नियमित सम्पर्क देखिएको भन्दै अनुसन्धान समितिले उनको खोजी गरेको हो ।


समय रेखा :

माघ ९ गते : दुबईबाट भित्रिएको ३३ केजी सुन त्रिभुवन विमानस्थलबाट सेटिङमा बाहिरियो

माघ २२ गते : थाई एअरवेजका वरिष्ठ प्राविधिक सानु वनको विमानस्थलभित्र गुडदै गरेको ट्याक्टरमा ठोक्किएर मृत्यु

१४ फागुन : मोरङ, उर्लाबारीका सनम शाक्य बेपत्ता

१८ फागुन : महानगरिय अपराध महाशाखाका डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेल मोरङ प्रस्थान । टोलीद्वारा शाक्यको शव गाडीभित्र फेला ।

फागुन तेस्रो साता : शाक्यको हत्याबारे छानबिन गर्न प्रधानमन्त्री कार्यालयमा उजुरी । प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा ९ सदस्यीय विशेष अनुसन्धान समिति गठन ।

२२ चैत : समितिको निर्देशनमा महाशाखाका प्रमुख एसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई जिम्मेवारी मुक्त गर्दै हेडक्वार्टर तानियो

३० चैत : विमानस्थलमा लोडरका रुपमा कार्यरत प्रेमलाल चौधरीद्वारा महानगरीय प्रहरी वृत्त, अनामनगरको थुनुवा कक्षमा पासो लगाई आत्महत्या

चैत अन्तिम साता : अनुसन्धान समितिको निर्देशनमा आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य, जय मातादी गोल्डका सञ्चालक पवन अग्रवाल, थाई एअरका कर्मचारी, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्रीलगायतका २५ जना अनुसन्धानका लागि पक्राउ

११ वैशाख : मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनाल बयानपछि नियन्त्रणमा

११ वैशाख : इटहरीमा कार्यरत डिएसपी सञ्जय राउतको बयान, लगत्तै बेपत्ता

१० वैशाख : महानगरीय अपराध महाशाखामा कार्यरत गजेन्द्र रावल बयानपछि नियन्त्रणमा

९ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गरेका पूर्व डिआईजी गोविन्द निरौला बयानपछि नियन्त्रणमा

प्रकाशित : वैशाख १२, २०७५ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?