साउदीमा उमेश यादवलाई मृत्युदण्डको फैसला

पुनरावेदनका लागि निवेदन दिँदै छौं – नेपाली दूतावास
हाेम कार्की

काठमाडौँ — साउदी अरबको दमामस्थित पुनरावेदन अदालतले पाकिस्तानी नागरिक मोहम्मद लतिफ बसिरको हत्या अभियोगमा झिटैया, धनुषाका उमेश यादवलाई मृत्युदण्ड दिने फैसला गरेको छ । उनलाई जुवेलस्थित केन्द्रीय कारागारमा राखिएको छ । त्यस जेलमा उमेशसहित २२ नेपाली छन् ।

जुबेलस्थित ‘जनरल कोर्ट’ ले सुनाएको फैसलालाई उल्टाउँदै पुनरावेदन अदालतले वैशाख २ गते (अप्रिल १५) मृत्युदण्डको फैसला सुनाएको हो । यसअघि जनरल कोर्टले १५ मार्च २०१७ मा यादवलाई ११ वर्ष कैद, ११ सय कोर्रा र साउदीबाट निकाला गर्ने फैसला सुनाएको थियो । जनरल कोर्टको फैसला चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन गएको हो ।

रियादस्थित नेपाली दूतावासले उमेशको जीवनरक्षाका लागि अदालतसमक्ष पुन: पुनरावेदन गर्ने तयारी गरेको छ । ‘अदालतले आफ्नो फैसला चित्त नबुझेमा पुनरावेदन गर्न ४८ दिनको समयसीमा तोकेको छ,’ उपनियोग प्रमुख आनन्दराज शर्माले भने, ‘हामी भोलि नै निवेदन दर्ता गर्दै छौं । त्यसको तयारीका लागि दूतावासका प्रतिनिधि जुवेल पुगिसकेका छन् ।’ जुवेल पुगेका दूतावासका प्रथम सचिव विजयकान्त राउतको टोलीले बुधबार उमेश यादव र फैसला गर्ने न्यायाधीशलाई भेटेको छ । ‘फैसला आएदेखि नै उमेश निराश छन् । चिन्ताले खाना पनि खाएका छैनन् । बचाइदिन आग्रह गर्दै धेरैबेर रोए,’ राउतले कान्तिपुरसँग भने, ‘दूतावासले जीवनरक्षाका लागि सक्दो प्रयास गर्ने विश्वास दिलायौं ।’

Yamaha

३ जुलाई २००७ मा उमेशले पाकिस्तानी सहकर्मी बसिरको हत्या गरेका थिए । बिन लादेन कम्पनीमा कार्यरत दुवैजना ह्युम पाइप निर्माणको काम गर्थे । हत्याबारे फैसलामा लेखिएको विवरण र उमेशको भनाइ फरक–फरक छ । फैसलामा आर्थिक लेनदेनको विषयमा सुतिरहेका बेला रडले हानेर बसिरको हत्या गरेको उल्लेख छ । उमेशले भने कार्यस्थलमा झगडा हुँदा मृत्यु भएको बताउँदै आएका छन् । त्यसलगत्तै भागेका यादव नेपाल पैसा पठाउने बेला बैंकबाट पक्राउ परेका थिए । फैसला गर्ने पुनरावेदन अदालतका न्यायाधीशले नियतवश हत्या गरेको भन्दै माफी दिन नसकिएको बताएका छन् । ‘आर्थिक लेनदेनमा कुरा नमिल्दा हत्या गरेको देखियो । उनीसँग भएको १२ हजार रियाद पनि लिएर गएको देखिन्छ । जुन जानीबुझी र नियतवश थियो । यो सरिया कानुनअनुसार ठूलो अपराध हो,’ न्यायाधीशको भनाइ उद्धृत गर्दै राउतले भने, ‘अदालतले रियादस्थित पाकिस्तानी दूतावासमा ब्लडमनी दाबी गर्न भनेको थियो । कोही नआएपछि फैसला गर्न बाध्य भयौं ।’

उता बसिरको परिवार भने यादवलाई माफी दिन तयार देखिएका छन् । पाकिस्तानको फैसलावादस्थित बसिरको घरमा बुधबार उमेशका तर्फबाट क्षमा माग्न पुगेका सरोज रायले ब्लडमनी दिन तयार रहेको बताएपछि उनीहरू माफी दिन तयार भएका हुन् ।

प्रकाशित : वैशाख १३, २०७५ ०७:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

साउदीद्वारा लरी चालकलाई कतार छिर्न अनुमति

हाेम कार्की

काठमाडौं — साउदी अरबमा रोकिएका नेपालीसहित आप्रवासी लरी चालकलाई कतारमा फर्किन अनुमति दिइएको छ । कुवेत, बहराइन, युएई र साउदीमा सामान पुर्‍याएर साउदी अरब र कतारको वोर्डरमा आइपुगेर रोकिएका रित्तो गाडीलाई कतार छिर्न अनुमति दिएको नेपाली चालकले कान्तिपुरलाई भने ।

साउदी अरबमा रोकिएका नेपालीसहित आप्रवासी लरी चालकलाई कतारमा फर्किन अनुमति दिइएको छ ।कुवेत, बहराइन, युएई र साउदीमा सामान पुर्‍याएर साउदी अरब र कतारको वोर्डरमा आइपुगेर रोकिएका रित्तो गाडीलाई कतार छिर्न अनुमति दिएको नेपाली चालकले कान्तिपुरलाई भने ।

‘लामो समय साउदीपट्टिको वोर्डरमा रोकिन पुगे । साउदी प्रहरीले राति १२ बजे कतार छिर्न दियो,’ पोखरा, लेखनाथका प्रदीप सुनारले भने,‘अहिले कम्पनीको क्याम्पमा आएर बसिरहेको छु ।’ उनका अनुसार कतारपट्टिको सिमामा रोकिएको गाडीलाई भने साउदीले प्रवेश अनुमति दिएको छैन । ‘हाम्रा धेरै नेपालीसहित साथीभाइ साउदीको विभिन्न स्थानमा सामान पुर्‍याएर फर्किएका थियौ,’ उनले भने, ‘सीमा छेउमा सयौं गाडीहरु लस्कर देखिन्थ्यो ।’

सुनार साउदी अरवले कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गर्ने दिन सबेरै आइसक्रिम लिएर साउदीको रियाद पुगेका थिए । ‘रियाद प्रवेश भइसकेपछि सीमा बन्द गरेको समाचार पाए । अब के गर्ने भनेर चिन्तित हुँदै वोर्डरमा आएर बसे । प्रहरीले खाली गाडीलाई जान दिने भन्दै बोलाएपछि निकै खुसी भएँ,’ उनले भने ।

कतारमा उत्पादन भएको आइसक्रिमलाई रियादमा लिएर उनी गएका थिए । ‘खाडीमा गाडी चलाउन थालेको २३ वर्ष पुग्यो । नेपाल फर्किन्छु भन्दा भन्दा यतिका वर्ष कसरी बित्यो पत्तै भएन,’ उनले भने, ‘यति लामो समय गाडी चलाउँदा यस्तो अवस्था मैले कहिल्यै देखेको, भोगेको थिइनँ ।’

सुनारले लरी डाइभरहरू यो अवस्थाबाट सबैभन्दा बढी प्रभावित बनेको बताए । ‘यहाँ कतिपय नेपालीलगायत विदेशी नागरिक चालक मात्रै छैनन् । उनीहरू आफूले लरी गाडी नै किनेर चलाइरहेका छन्,’ उनले भने,‘यो बन्द भएपछि उनीहरू एकदमै प्रभावित बनेका छन् । उनीहरू ऋणको किस्ता कसरी तिर्ने भन्नेमा चिन्तित भएर बसेका छन् ।’

साउदी, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइनलगायत देशबाट कटनीतिक सम्बन्ध विच्छेद गरेपछि सडक, हवाई र जलस्थल पनि बन्द छ ।



प्रकाशित : जेष्ठ २५, २०७४ १५:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT