कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापा आन्दोलनका नेता खड्का बेपत्ता

पर्वत पोर्तेल

काँकडभिट्टा — झापा आन्दोलनका अगुवा नेता हर्क खड्का दुई सातादेखि बेपत्ता भएका छन् ।  जेठी पत्नी अम्बिकाका अनुसार उनी दुई साता काठमाडौं जाने भनेर घरबाट निस्किएका थिए ।

झापा आन्दोलनका नेता खड्का बेपत्ता

‘काठमाडौं हिँडेको पाँच दिनपछि फर्किन्छु भनेर जानु भएको अहिलेसम्म अत्तोपत्तो छैन,' अम्बिकाको भनाई उद्धृत गर्दै खड्काका सहयोद्धा नारद वाग्लेले भने, ‘अहिलेसम्म कोहीसँग सम्पर्क पनि गर्नु भएको छैन, कहाँ जानु भो के भो केही थाहा छैन ।’


खड्का केही समयदेखि विचलित थिए । उनी विगतमा एमाले र पछि एमाओवादी केन्द्रबाट उपेक्षित बनेका थिए । आर्थिक अवस्था डमाडोल थियो । दुईटा घरजमका कारण पारिवारिक जीवन पनि राम्रो थिएन । उनी घेरावारी र विर्तामोड बराबरी बस्थे । ‘केही समयदेखि उनी ज्यादै निरास देखिन्थे', माओवादीका एक जना नेताले भने,‘डिप्रेसनको अवस्थामा पुगेका थिए ।’


२०२४ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय बनेका खड्का २०२५/२०२६ सालमा तत्कालिन राज्य सत्ताले पक्राउ गरेको थियो । पहिलोपटक ५ दिन र दोस्रोपटक १७ दिन थुनामा बसेर निस्किएका थिए । उनी त्यही बेलादेखि नै भूमिगत राजनीतिमा थिए ।


२०२८ सालदेखि झापा विद्रोहका नाममा चर्किएका वर्ग शत्रु सफाया अभियानका अगुवा थिए, खड्का । झापा आन्दोलनकै दौरान २०३० साल बैशाख तिर उनी गरामनीको नडियावारीबाट समातिएका थिए । उनीसँगै नरेश खरेल, राधाकृष्ण मैनाली, नारद वाग्ले आदि पनि पक्राउ परेका थिए । केही समय झापा जेलमा विताएका उनलाई तत्कालिन शासकले काठमाडौंको नक्खु जेल सरुवा गरेको थियो ।


२०३३ को नख्खु जेल व्रेक काण्डमा राजेन राजवंशी, सीपी मैनाली, जीवन मगर, नारद वाग्ले, भिष्म धिमाल, धर्म घिमिरे, नरेश खरेल लगायतसँगै उनी पनि सहभागि थिए । जेल ब्रेक गरेर निस्किएपछि राजनीतिक सांगठनिक जिम्मेवारीसहित झापा फर्किएका उनी प्रहरीको ‘मोष्ट वान्टेट’ सूचीमा थिए । करिव ७ वर्ष भारतमा निवासित जीवन विताएका उनी प्रजातन्त्र बहालीपछि फर्किएका थिए ।


नेपाल फर्किएर उनी वाम राजनीतिकै सक्रिय बने । जनआन्दोलनपछि २०५४ मा भएको पहिलो स्थानीय निकायको निर्वाचनमा एमालेबाट घेराबारी गाविस अध्यक्ष बनेका थिए । माओवादी जनयुद्ध सुरु भएपछि माओवादी निकट बन्दै गएका उनी कालान्तरमा एमालेको राजनीतिक सिद्धान्तप्रति असहमति जनाउँदै माओवादीमा प्रवेश मात्रै गरेनन् लामो समय भूमिगत नै बने ।


समानान्तर सत्ताको अभ्यास गरिरहेको माओवादीले २०५८ सालताका उनलाई झापा जिल्ला जनसरकार प्रमुख बनाएको थियो ।


विस्तृत शान्ति प्रक्रियापछि भएको २०६४ सालको पहिलो ऐतिहासिक संविधान सभामा झापा क्षेत्र नं ५ बाट उम्मेद्वार बनेका खड्का कांग्रेसका केशवकुमार बुढाथोकीसँग झिनो मतले पराजित बनेका थिए ।


लामो समय माओवादीको केन्द्रीय सल्लाहकार सदस्य रहेका खड्का केही समयदेखि माओवादी राजनीतिबाट टाढिएका थिए ।

प्रकाशित : वैशाख १३, २०७५ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?