१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तेस्रो मुलुकको सामान अब रेलबाट सिधै विराटनगर !

कोलकाताबाट हिंडेको कार्गो रेल भोलि बथनाहा आइपुग्दै
माधव घिमिरे

विराटनगर — तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ तथा ट्रेडिङका सामान अब रेलमार्फत् सिधै नेपाली सीमानजिक आइपुग्ने भएको छ । यसका लागि भारतको कोलकाता बन्दरगाहबाट कन्टेनर बोकेर ‘कार्गो रेल’ हिंडेको छ ।

तेस्रो मुलुकको सामान अब रेलबाट सिधै विराटनगर !

कोलकाता बन्दरगाहबाट यसअघि यस्तो कार्गो रेल वीरगन्ज नाकासम्म आउने गरेको थियो । यो सेवाले समुद्रपार मुलुकसँगको व्यापारमा सकारात्मक प्रभाव पर्ने उद्योगी–व्यवसायीले बताएका छन् । हाल परीक्षणका लागि सञ्चालन गरिएको उक्त रेल सीमावर्ती जोगबनी नाकाभन्दा केही पर बथनाहासम्म आइपुग्ने छ ।


बुधबार कोलकाताबाट हिंडेको कार्गो रेल शनिबार मध्यान्नसम्म बथनाहा आइपुग्ने अनुमान छ । सीमावर्ती क्षेत्रसम्म यसअघि नै ‘ब्रोडगेज’ रेलसेवा आइसकेको छ । मोरङको बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार पोष्ट पूर्ण रुपमा तयार भएपछि रेलले त्यही स्थानसम्म सामान ल्याउने छ ।


‘यो सुविधाले नेपाली उद्योगी–व्यवसायीलाई ठूलो राहत पुग्नेछ,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अभिनाश बोहोराले भने, ‘ढुवानी लागत कम पर्ने भएकाले यसको फाइदा आम उपभोक्तासम्मै पुग्नेछ ।’

तत्कालका लागि बथनाहासम्म रेलले सामान ल्याउने छ ।


बोहोराका अनुसार त्यहाँ अनलोड गरिएको सामान मालबाहक अरु साधनमार्फत् सम्बन्धित उद्योगसम्म पुर्‍याइने छ । यो सुविधाले तत्कालका लागि कम्तीमा पनि आयातीत सामानमा प्रतिकिलो एक रुपैयाँ ढुवानी भाडा सस्तो पर्ने बोहोराले बताए । रेल नियमित रुपमा सञ्चालन भएपछि घट्दै गएर २ रुपैयाँभन्दा सस्तो पर्ने उनले सुनाए ।


बुधनगरको भन्सार पोष्ट निर्माण सकिएपछि तेस्रो मुलुकबाट आएका समान ‘सिपिङ कम्पनी’ ले सिधै रेलबाट नेपालमै सामान ल्याइपुर्‍याउनेछ । ‘यसबाट कोलकाता बन्दरगाहमा ब्यहोर्दै आउनुपरेको झन्झटबाट मुक्ति मिल्नेछ’ बोहोराले भने, ‘पूर्ण रुपमा कार्गो रेल सञ्चालनमा आएपछि नेपाली औद्योगिक क्षेत्रमात्र होइन उपभोक्तासम्मै फाइदा पुग्नेछ ।’


कोलकाता बन्दरगाहसम्म आएका औद्योगिक कच्चापदार्थ र अन्य सामान त्यहाँबाट भारतीय ढुवानीका साधनमार्फत् सडक मार्ग हुँदै ल्याउने गरिएको छ । यसबाट ढुवानी भाडा महंगो पथ्र्यो । सामान नोक्सानी हुने गरेको थियो । यस्तै सामान भरिएका कन्टेनर राख्दा कोलकातामा लाग्ने ‘ड्यामरेज’ र बन्दरगाह शुल्क बढी तिर्नुपर्ने अवस्था थियो । ‘कोलकाताबाट सामान ढुवानी गर्दा त्यहाँका ट्रान्सपोर्टले मनपरी भाडा लिने गर्थे’ बोहोराले भने, ‘अब यो समस्याबाट मुक्ति मिल्ने छ ।’


तेस्रो मुलुकका सामान अब सिधै रेलमार्फत् डेलिभरी हुनु ठूलो उपलब्धि भएको उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रिय सदस्य महेश जाजु बताउँछन् । ‘हामीले धेरै अघिदेखि यो माग गर्दै आएका थियौं,’ उनले भने, वीरगन्जले पाउँदै आएको सुविधा अब यता पनि आएको छ, यसबाट ढुवानीको झन्झट हट्ने र समग्रमा उत्पादन लागतमा सकारात्मक असर पर्ने छ ।’


कोलकाताबाट बथनाहाासम्मको सडक दूरी करिब ५ सय ५० किलोमिटर पर्छ । रेलमार्गको दूरी योभन्दा कम हुने र बिना अवरोध आउने भएकाले समय र ढुवानी भाडा समेत बचत हुने उद्योगीको भनाइ छ । तेस्रो मुलुकबाट सोयाबिन तेल, सूर्यमुखी तेल, प्लाष्टिकको कच्चापदार्थ, दाल र दलहनका वस्तु, चिनी, बिस्कुट, स्टिलको कच्चापदार्थ, इनर्जी ड्रिंकलगायत थुप्रै सामान आयात हुने गरेको छ ।


कोलकाता बन्दरगाहमा आएका सामान ढुवानी गर्न झन्झट भएको र बन्दरगाह शुल्क, ढुवानी भाडालगायत महंगो पर्ने गरेको भन्दै सरकारसँग रेलबाट सिधै नेपाली भूमिसम्म सामान ल्याउने व्यवस्थाका लागि आग्रह गर्दै आएका थिए । भारत भ्रमणका बेला मन्त्रीहरुले यसबारे भारतीय अधिकारीसँग छलफल गर्दै आएका थिए ।

यसैगरी, वाणिज्य मन्त्रालय र विभाग, महावाणिज्य दूतावास र नेपाली उद्योगी–व्यवसायी र आयातकर्ताले रेलबाट सिधै सामान ल्याउनका लागि भारतीय पक्षसँग कुराकानी गर्दै आएका थिए ।


समुद्रपारबाट वार्षिक रुपमा कोलकाता बन्दरगाह हुँदै सामान लिएर ७० हजारभन्दा बढी कन्टेनर नेपाल आउने गरेको तथ्यांक छ । सिधा रेलसेवा नियमित भएपछि यो परिमाण बढ्ने उद्योगीको भनाइ छ । सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुले तेस्रो मुलुकबाट ठूलो परिमाणमा कच्चापदार्थ आयात गर्दै आएका छन् । यसैगरी ट्ेरडिङका सामान पनि उल्लेख्य परिमाणमा ल्याउने गरिएको छ ।


प्रकाशित : वैशाख १४, २०७५ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?