गैंडाको प्राकृतिक मृत्यु बढ्यो

कारण खोतल्दै निकुञ्ज विभाग
अब्दुल्लाह मियाँ

काठमाडौँ — एकसिंगे गैंडाको चोरीसिकार झन्डै शून्यमा झरे पनि चितवन निकुञ्जमा पछिल्ला केही वर्षयता गैंडाको बढ्दाे प्राकृतिक मृत्यु सरकार र विशेषज्ञका लागि चुनौती बनेको छ । अघिल्लो आर्थिक वर्षमा प्राकृतिक कारणले मात्र २५ वटा गैंडा मरेपछि सरकारले कारण खोज्न थालेको हो । 

गैंडाको प्राकृतिक मृत्यु बढ्यो

निकुञ्जको मुख्य व्यवस्थापक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडाको प्राकृतिक मृत्यु बढ्नुको कारण अध्ययन गर्न केही समयअघि विशेषज्ञसमेत सम्मिलित एक टोली चितवन निकुञ्जमा परिचालन गरेको थियो । टोलीले आव २०७३/७४ मा २५ गैंडा प्राकृतिक कारणले मरेको र त्यो क्रम अझै बढ्न सक्ने भन्दै सतर्क हुनुपर्ने सुझावसहितको प्रारम्भिक प्रतिवेदन विभागका महानिर्देशक मनबहादुर खडकासमक्ष पेश गरेको छ । टोलीमा विभागका इकोलोजिष्ट लक्ष्मणप्रसाद पौडेल र चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालसहित विज्ञहरु नरेस सुवेदी, कञ्चन थापा, भगवान दाहाल, कमल गैरेलगायत थिए ।


‘१० वर्षे द्वन्द्वका क्रममा सिकारीले मार्ने भन्दा पनि बढी प्राकृतिक कारणले गैंडा मर्ने गरेको पाइयो,’ टोलीमा रहेका विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलले भने, ‘निकुञ्जभित्रै पनि पूर्वीक्षेत्रका गैंडा कसराबाट पश्चिमतिर सरेको देखियो ।’ झण्डै ७ वर्ष यता चोरी सिकारबाट चितवन निकुञ्जमा गैंडाको सिकार नगन्य भएको अधिकारीहरुले गौरबका साथ बताउने गरे पनि अन्य कारणले मर्ने क्रम बढेकोप्रति खासै ध्यान दिने गरिएको थिएन । चितवनमा एकसिंगे गंैडा पर्यटकका मुख्य आकर्षण हुन् ।


इकोलोजिष्ट पौडेलका अनुसार गत आर्थिक वर्षमा मरेका २५ गैंडामध्ये ११ वटा आपसमा जुधेर मरेका हुन् । मरेकामध्ये अधिकांश बयस्क गैंडा हुन् । अन्यमा केही खाडलमा फसेर, बुढो भएर र केही बिरामी भएरसमेत मरेका छन् । प्रतिवेदनअनुसार १० वर्षे द्वन्द्व उत्कर्ष पुगेको बेला आर्थिक वर्ष २०६०/६१ मा पनि जम्मा २४ गैंडा मरेका थिए । त्यसमध्ये धेरै गैंडा सिकारीले मारेका हुन् । त्यस अघि २०५७/५८ मा भने सिकारीले ३७ वटासम्म गैंडा मारेका थिए ।

आर्थिक वर्ष २०६१/६२ मा पनि २५ वटा गैंडा मरेका थिए । त्यसमा धेरै सिकारीले मारिएको अधिकारीहरुको भनाई छ । चोरी सिकार रोकिएपछिको आर्थिक वर्ष २०७३/७४ मा पनि २५ गैंडा मरेपछि विभागले अध्ययनमा चासो देखाएको हो । आर्थिक वर्ष ०६२/६३ मा १७, ०६३/६४ मा १५, ०६४/६५ मा १३, ०६५/६६ मा १७, ०६६/६७ मा २४, ०६७/६८ मा १६, ०६८/६९ मा १३, ०६९/७० मा १०, ०७०/७१ मा ११, ०७१/७२ मा ११ र ०७२/७३ मा १४ गैंडा मरेका थिए ।

विज्ञसहितको टोलीले जुधेर गैंडा मर्नुलाई पनि असामान्य मानेका छन् । ‘२५ मा ११ वटा जुधेर मर्नुको कारणसमेत खोज्नु जरुरी छ,’ पौडेलले भने । २०७१ को गणना अनुसार चितवन निकुञ्जमा ६ सयको हाराहारीमा गैंडा छन् । विज्ञहरुको अध्ययनले धेरै गैंडा कसराबाट पश्चिमतिरको जंगलतिर सरेको निष्कर्ष निकालेका छन् । कसरा पूर्वी क्षेत्रमा खस्कदो घाँसे मैदान र पानीका घोल कम भएकाले सुरक्षित क्षेत्रतिर सरेको हुनसक्ने उनीहरुको बुझाई छ ।


‘पूर्वी क्षेत्र र पश्चिम क्षेत्रतिर सामान्यतया आधा आधा गैंडा हुनुपर्ने हो,’ पौडेलले भने, ‘यसले पूर्वीक्षेत्रको वासस्थानमा ह्रास आएको संकेत गर्छ ।’ चितवन निकुञ्जमा ‘माइकेनिया म्याकारान्था’ नामको मिचाहा झार गैंडाको वासस्थान र घाँसे मैदान क्षय गराउने मुख्य कारकका रुपमा देखा परेको छ । उक्त मिचाहा झारले गैंडाले खाने पोसिलो घाँस छोपिदिने र पानीका घोलसमेत छोपिदिने गर्छ ।


विभागका पूर्व महानिर्देशक कृष्णप्रसाद आचार्य गैंडाको प्राकृतिक मृत्युबारे गहन अध्ययन आवश्यक ठान्छन् । ‘संख्या बृद्धिसंगै विविधखाले समस्या उत्पन्न भएको छ,’ उनले कान्तिपुरसित भने, ‘कहाँ कसरी मरेका छन्, कुन उमेरका मरेका छन्, एउटा एउटाको अध्ययन जरुरी छ ।’ गैंडाको दिगो संरक्षण र तीनको संख्या विस्तारका लागि वासस्थान व्यवस्थापनमा ठूलो खर्च गर्नुपर्ने उनको जोड छ । ‘निकुञ्जको कोर क्षेत्रमा पानीका घोल, घाँसे मैदान व्यवस्थापन र तीनको स्वास्थ्य अवस्थामा विशेष ख्याल गर्नुपर्छ,’ आचार्यले भने, ‘अब परम्परागत शैलीको वन्यजन्तु व्यवस्थापन प्रणाली बदल्नुपर्छ ।’


केही वर्ष यता सरकारले गैंडाको चोरी सिकार नियन्त्रणमा मात्र बढ्ता ध्यान दिएको देखिन्छ । संरक्षण सहयोगी संस्थाले पनि वासस्थान व्यवस्थापनमा भन्दा संरक्षणमुखी अभियानमा बढ्ता ध्यान दिएको देखिन्छ ।


गैंडा र तीनको वासस्थानमा विद्यावारिधी नरेस सुवेदीका अनुसार चितवनमा बयस्क गैंडा बढी छन् । तीनमा पनि भालेको संख्या बढी भएकाले समागमका लागि प्रतिस्पर्धा हुँदा जुधेर मर्नेको संख्या बढेको छ । ‘बयस्क भाले गैंडाको तुलनामा पोथीको संख्या कम हुँदा यो समस्या आएको हो,’ उनले भने, ‘जन्मदर ५ प्रतिशत भएकाले संख्या बढिरहेको छ ।’ जन्मदर अनुसार अब गणना गर्दा गैंडाको संख्या सात सय पुग्नुपर्ने उनीहरुको विश्लेषण छ ।


बासस्थान विनाश पनि गैंडाको अर्को समस्या हो । चितवनमा २५ प्रतिशत घाँसे मैदान हुनुपर्नेमा अहिले मुश्किकले त्यो १० प्रतिशतमा झरेको छ । ठूला रुख उम्रनु, पानीका घोल सुक्नु र मिचाहा प्रजातीको समस्या बढ्नाले पनि गैंडालाई चुनौंती थपिएको सुवेदीको तर्क छ । उनका अनुुसार २०६१ पछि २६ प्रतिशत सिकारीले, २८ प्रतिशत बुढो भएर, १५ प्रतिशत आपसमा जुधेर, ७ प्रतिशत बाघले खाएर र १० प्रतिशत गैंडा रोग लागेर मरेका छन् । ‘यी सबै अवस्था हेर्ने हो भने अब चुप लागेर बस्ने अवस्था छैन,’ उनको बुझाई छ, ‘अब सजग हुने बेला चाही भएको छ ।’

विभागमा इकोलोजीमा लामो समय काम गरेका वन मन्त्रालयको जैविक विविधता महाशाखाका प्रमुख महेश्व ढकाल पछिल्ला दुई वर्ष यता गैंडाको प्राकृतक मृत्यु बढेकाले नेचुरल हो सिकारीले मारेको होइन भनेर चुप लागेर बस्ने अवस्था नरहेको टिप्पणी गर्छन् । ‘पूर्वी चितवनमा घाँसे मैदान घटो छ, मिचाहा प्रजातीले वासस्थान क्षय गरेकाले गैंडालाई पर्याप्त मात्रामा स्वस्थ्य खानेकुराको अभाव छ,’ ढकालले भने, ‘जसका कारण ती गैंडा पूर्णरुपमा स्वस्थ हुन सकेनन्, बाढीलगायत स(साना रोगव्याधीसमेत थेग्न नसक्ने अवस्थामा पुगेका हुन सक्छन्, त्यसबारे विस्तृत अध्ययन आवश्यक छ ।’


सहयोगी दातृ निकायले पनि गैंडा र बाघ स्थानान्तरण गर्न, तीनको अनुगमन गर्न र जीवीकोपार्जनका कार्यक्रमबाहेक ठूलोस्केलमा सिमसार र घाँसे मैदान व्यवस्थापनमा लगानी गर्न हिचकिचाउन नहुने उनको सुझाव छ । ‘अब संरक्षण क्षेत्रको कोर भ्यालुमा खर्च गर्नु आवश्यक छ,’ उनको सुझाव छ, ‘अब विगतका कार्यक्रममा पुनरावलोकन गर्नैपर्छ । मापदण्ड बनाएर भोलीका दिनका लागि ठूलो स्केलमा घाँसे मैदान र सिमसार व्यवस्थापनमा डोर्‍याउन सक्नुपर्छ ।’


सात वर्षअघिसम्म चोर सिकारीले वर्षमा १५ देखि १७ वटासम्म गैंडा मार्ने गरेकोमा त्यो क्रम भने अहिले नगण्यमा झरेको छ ।

प्रकाशित : वैशाख १८, २०७५ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?