जेसीबी जोगाउनै हम्मे

अर्जुन राजवंशी

दमक — गाउँको विकासका लागि खरिद गरेको जेसीबी जोगाउन इलाम चुलाचुली गाउँपालिकालाई हम्मे परेको छ । सुरक्षा खतरा बढेपछि गाउँपालिकाले जेसीबी प्रहरी चौकीमा लगेर राख्नुपरेको छ ।

जेसीबी जोगाउनै हम्मे

जेसीबी खरिद गरेलगत्तै चुलाचुली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट भएको थियो । विस्फोटपछि सुरक्षा खतरा बढेकाले जेसीबी प्रहरी चौकीमा राख्नुपरेको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले बताए । उनले जेसीबी सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने बताए । उनले आवश्यक नियम बनाएर मात्रै जेसीबी सञ्चालनमा ल्याउने जानकारी दिए । त्यसका लागि प्रक्रिया अघि बढाएको समेत उनले बताए ।


गाउँपालिकाले ३८ लाख ९९ हजार ९ सय रुपैयाँमा जेसीबी खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत छविलाल खतिवडाले जानकारी दिए । जेसीबी खरिद गरेर चैत २८ गते गाउँपालिका कार्यालयको भवन परिसरमा राखिएको थियो । तर, गाउँपालिका परिसरमा जेसीबी राख्दा सुरक्षित नहुने देखेपछि वैशाख १ गते बेलुका ६ बजेतिर प्रहरी चौकी पेल्टिमारीमा लगेर राखेको अधिकृत खतिवडाले बताए ।


कार्यालय परिसरबाट जेसीबी लगेकै बेलुका साढे ८ बजेतिर गाउँपालिका भवनमा कुकर बम विस्फोट भएको थियो । अज्ञात समूहले गराएको बम विस्फोटबाट गाउँपालिका भवनमा तीन लाख ८६ हजार ९ सय ५० रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ । विस्फोटबाट कार्यालयस्थित सभाहलको छत प्वाल पर्नुका साथै माथिल्लो तलाको सभाहल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।


विस्फोटपछि चुलाचुली क्षेत्रमा त्रास बढेको स्थानीयले बताए । नेपाली कांग्रेस चुलाचुलीका सभापति राजेन्द्र केरुङले जेसीबी खरिद गरेलगत्तै बम विस्फोट हुनु गम्भीर विषय भएको बताए । ‘जेसीबी खरिद गरेर ल्याएलगत्तै विस्फोट हुनु गम्भीर विषय हो । विस्फोटको घटना कसरी हुन पुग्यो ?’ केरुङले प्रश्न गर्दै भने, ‘कतै जेसीबी खरिद प्रक्रियाको असहमति हो कि ? गाउँपालिकाले सबैको सहमतिबिनै जेसीबी खरिद गरेको हो कि ? यो विषयमा सबैले गम्भीरता देखाउन जरुरी छ ।’


अधिकृत खतिवडाले सार्वजनिक खरिद ऐन अनुसारै जेसीबी खरिद गरेको बताए । उनका अनुसार चालु वर्ष गाउँपालिकाले एउटा जेसीबी र दुइटा ट्रिपर खरिदका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये ट्रिपर खरिद प्रक्रियामा रहेको खतिवडाले बताए । जेसीबी र ट्रिपर गाउँपालिकाभित्र सञ्चालित विकास निर्माणका कार्य गर्न अति जरुरी रहेको उनले बताए ।


प्रहरी चौकी पेल्टिमारीका प्रहरी नायब निरीक्षक देवराज केसीले गाउँपालिका प्रमुखको आग्रहअनुसार जेसीबीलाई सुरक्षा प्रदान गरेको बताए । उनले गाउँपालिका कार्यालय परिसरमा घेराबार नभएको, प्रहरी चौकीदेखि करिब डेढ किलोमिटर टाढा रहेको तथा पछिल्लो समय सुरक्षा चुनौती बढेकाले जेसीबीलाई सुरक्षा दिनुपरेको बताए ।


गाउँपालिका क्षेत्रमा सुरक्षा चुनौती बढेको तथा विस्फोटको घटनाबारे आइतबार गाउँपालिकाले सर्वपक्षीय छलफल गरेको थियो । उक्त छलफलमा घटना भएको १५ दिनसम्म विस्फोट गराउने समूहको पहिचान हुन नसक्नु गम्भीर कुरा भएको केसीले बताए ।

प्रकाशित : वैशाख १९, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?