काँचुली फेर्दै कँरेंचुली

वीरेन्द्र केसी

कँरेंचुली (अर्घाखाँची) — शीतगंगा नगरपालिका १४, कँरेंचुली जिल्लाकै विकट बस्ती हो । यहाँको विकास पूर्वाधारमा राज्यको आँखा पुग्न सकेको छैन ।

६५ वर्षीय भीमबहादुर रास्कोटीलाई सधैं चुनावका बेला नेता गाउँ आएर ‘भोट दिनुस् मोटरबाटो, खानेपानी योजना, गाउँमै मावि शिक्षा, बिजुली, स्वास्थ्य चौकीलगायत पूर्वाधार विकासका काम गरिदिन्छौं’ भनेको नौलो लाग्दैन । यस्ता कुरा पञ्चायतदेखि सुन्दै आएका हुन् । पञ्चायतका बेला भोट हाल्न उर्दी हुन्थ्यो, नेता देखिँदैनथे ।

प्रजातन्त्रपछि चुनावका बेला मात्रै गाउँमा नेता देख्न पाइएको छ । ‘सरकारी कर्मचारी र नेता खासै देख्न पाइँदैन,’ उनले भने, ‘विकास योजना कहाँ माग्ने हामीले मेसो खासै पाउन्नौं ।’ अग्लो पहाडको चुचुरोमा १ सय ६४ घरधुरी बसोबास छ । ९० प्रतिशत मगर जाति छन् । चारैतिर झाडी जंगल तलपट्टि खोला र बीचमा बस्ती छ ।

Yamaha


गाउँका खेतबारीमा खेती गर्ने, गाईंभैसी, बाख्रा, कुखुरा र बंगुर पालेरै उनको जोवन बित्यो । उनी सदरमुकाम एकपटक पनि पुगेका छैनन् । कपिलवस्तुको सिमानासँग जोडिएकाले सन्धिखर्क पुग्न २ दिन लाग्छ । नागरिकता र जग्गा पास गर्नबाहेक कँरेंचुलीका बासिन्दा सदरमुकाम खासै जाँदैनन् । अधिकांशले त नागरिकता नै लिएका छैनन् । जिल्ला सदरमुकाम पुगेर नागरिकता बनाउन दुई दिन लाग्छ ।


कपिलवस्तुको पिपराबाट भित्र छिरेपछि अर्घाखाँचीको विक्रमसोता हुँदै जंगलै जंगल करिब ४ घण्टा उकालो उक्लेपछि बल्ल कँरेंचुली पुगिन्छ । २ वर्षअघि मात्रै रास्कोटीले गाउँमा मोटर देखे । कँरेंचुली मैदान लेकमा मकालु सिमेन्ट प्रालिले चुनढुंगा उत्खननका लागि पहाड किनेको छ । ढुंगा लैजान मकालुले बढेनी(कँरेंचुली १७ किमि बाटो निर्माण गरिदिएपछि बल्ल मोटर पुगेको हो । फराकिलो बाटो भएकाले हिउँदभर बस र जिप चल्छन् । पानी पर्नासाथ गाडी ठप्पै हुन्छन् । उनले बस चढेर पिपरा बजार पुगी केही महिनाअघि चामल किनेर घरसम्म ल्याए । ‘गाडी चढ्दा आनन्द आउँदो रहेछ,’ उनले अनुभव सुनाए, ‘मेरै पालामा गाउँमा गाडी देख्न पाइयो ।


अरू विकास केही भएको छैन ।’ मोटर आएपछि अलि रमाइलो भएको छ । चुनढुंगा खानीसम्म सडक निर्माण भइरहेको छ । बिहान यहाँबाट सालझन्डी र पिपरामा बस चल्छन् । ‘बल्ल सहरसँग बस्ती जोडियो,’ स्थानीय युवा थर्कबहादुर पाण्डेले भने, ‘यहाँका बासिन्दाको तराई आउजाउ बढदो छ । यातायात सुविधाले तराईबाट खसीबोका किन्न गाडी लिएरै आउँछन् ।’ गाडी नचल्दासम्म बोका जति पाले पनि गाउँबाहिर बिक्री गर्न कठिन थियो ।

जंगलको जडीबुटी खाएको खसीबोकाको मासु स्वादिलो मान्दै तराईबाट फोन गरेरै माग गर्छन् । ओमबहादुर हिस्कीले सयवटा बाख्रा पालेका छन् । बोका बसमै तराई पठाइदिएपछि घरखर्च चल्न सजिलो भएको उनले बताए । गर्मी छल्न तराईबाट सर्वसाधारण गाडी लिएरै कँरेंचुली आउँछन् । चिसो मौसम छ । लोकल कुखुरो, कोदोको मदिरा, बोका, गुन्द्रुक बिक्री भएपछि गाउँलेको आम्दानीको मेलो खुलेको छ ।


साल र असनाको जंगल छ । सबैले घर काठैकाठले बनाइएका छन् । अब नेताले आश्वासन दिएर विकास हुँदैन, कामै गरेर देखाउनुपर्ने उनको तर्क छ । गाउँका सबै बस्तीका परिवार मिलिजुली हरेक काम गर्छन् । विकासमा पछि परेकै यही बस्ती हो । सिंगो गाउँमा खानेपानी छैन । वर्षामा आकासको पानी भाँडोमा सँगालेर प्रयोग हुन्छ ।

खर, ढुंगा र टिनका छाना छन् । पानी संकलन गर्ने घैंटा छैनन् । हिउँद लागेपछि पानीको दु:ख सुरु हुन्छ । दुई कुवा छन् । माथिल्लो कुवाको पानीले सबै गाउँलेलाई एक ग्रागी पनि पुग्दैन । अलि तलको कुवामा जानुपर्छ । पानी ल्याउन बिहानभरको समय लाग्ने टुलकुमारी न्यौपाने बताउँछिन् । ‘पानीको साह्रै दु:ख छ,’ उनले भनिन्, ‘नबोकी खानु छैन । कुवामा पानी सधैं धमिलो हुन्छ ।’ स्वास्थ्य चौकी पनि छैन । सामान्य बिरामी परे साह्रै समस्या हुन्छ । हिउँदमा त सजिलो हुन्छ । वर्षा लागेपछि जंगलको बाटो डोकोमा बोकेर लैजान सकस नै पर्छ ।


स्थानीय तहको चुनावपछि भने गाउँलेले जनप्रतिनिधि पाएका छन् । कँरेंचुलीका लालबहादुर पाण्डे शीतगंगा १४ को वडा सदस्य चुनिए । कँरेंचुलीमा ६ सय ५२ मत खसेका थिए । जनसंख्या १ हजार ५ सय छ । वडा र नगरबाट विकास योजना भित्र्याउन गाउँलेले दबाब दिएका छन् । धनीले त सोलार राखेका छन् । तर, धेरैजसो घरमा सोलारबत्ती पनि छैन ।

‘मेरै कार्यकालमा सबै विकासका काम गर्छु,’ पाण्डेले भने, ‘वडा र नगरको बजेट भित्र्याउन योजना पेस गरेको छु ।’ २०६४ मा कांग्रेस नेत्री पुष्पा भुसालले आफ्नो सांसद विकास कोषबाट बजेट पारिदिएपछि तलको पानी लिफ्टमार्फत माथि तानेपछि सुविधा भएको थियो । २ वर्ष नबित्दै सोलारको पातो चोरी भयो । त्यसपछि फेरि दु:खका दिन आए । अब बिजुली त्याएर जिमुरपानी मुहानबाट लिफ्टबाट तानेर पानी ल्याउने योजना रहेको उनले सुनाए । ‘४२ पोल ल्याइसक्यौं, अब ७० पोल माग गरेका छौं,’ उनले भने । बिरामी पर्दा उपचार नपाएर धेरैको अकालमा ज्यान गएको छ । स्वास्थ्य चौकी पनि माग गरेको उनले बताए ।

Esewa Pasal

प्रकाशित : वैशाख १९, २०७५ ०७:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

जेसीबी जोगाउनै हम्मे

अर्जुन राजवंशी

दमक — गाउँको विकासका लागि खरिद गरेको जेसीबी जोगाउन इलाम चुलाचुली गाउँपालिकालाई हम्मे परेको छ । सुरक्षा खतरा बढेपछि गाउँपालिकाले जेसीबी प्रहरी चौकीमा लगेर राख्नुपरेको छ ।

जेसीबी खरिद गरेलगत्तै चुलाचुली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट भएको थियो । विस्फोटपछि सुरक्षा खतरा बढेकाले जेसीबी प्रहरी चौकीमा राख्नुपरेको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले बताए । उनले जेसीबी सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने बताए । उनले आवश्यक नियम बनाएर मात्रै जेसीबी सञ्चालनमा ल्याउने जानकारी दिए । त्यसका लागि प्रक्रिया अघि बढाएको समेत उनले बताए ।


गाउँपालिकाले ३८ लाख ९९ हजार ९ सय रुपैयाँमा जेसीबी खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत छविलाल खतिवडाले जानकारी दिए । जेसीबी खरिद गरेर चैत २८ गते गाउँपालिका कार्यालयको भवन परिसरमा राखिएको थियो । तर, गाउँपालिका परिसरमा जेसीबी राख्दा सुरक्षित नहुने देखेपछि वैशाख १ गते बेलुका ६ बजेतिर प्रहरी चौकी पेल्टिमारीमा लगेर राखेको अधिकृत खतिवडाले बताए ।


कार्यालय परिसरबाट जेसीबी लगेकै बेलुका साढे ८ बजेतिर गाउँपालिका भवनमा कुकर बम विस्फोट भएको थियो । अज्ञात समूहले गराएको बम विस्फोटबाट गाउँपालिका भवनमा तीन लाख ८६ हजार ९ सय ५० रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ । विस्फोटबाट कार्यालयस्थित सभाहलको छत प्वाल पर्नुका साथै माथिल्लो तलाको सभाहल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।


विस्फोटपछि चुलाचुली क्षेत्रमा त्रास बढेको स्थानीयले बताए । नेपाली कांग्रेस चुलाचुलीका सभापति राजेन्द्र केरुङले जेसीबी खरिद गरेलगत्तै बम विस्फोट हुनु गम्भीर विषय भएको बताए । ‘जेसीबी खरिद गरेर ल्याएलगत्तै विस्फोट हुनु गम्भीर विषय हो । विस्फोटको घटना कसरी हुन पुग्यो ?’ केरुङले प्रश्न गर्दै भने, ‘कतै जेसीबी खरिद प्रक्रियाको असहमति हो कि ? गाउँपालिकाले सबैको सहमतिबिनै जेसीबी खरिद गरेको हो कि ? यो विषयमा सबैले गम्भीरता देखाउन जरुरी छ ।’


अधिकृत खतिवडाले सार्वजनिक खरिद ऐन अनुसारै जेसीबी खरिद गरेको बताए । उनका अनुसार चालु वर्ष गाउँपालिकाले एउटा जेसीबी र दुइटा ट्रिपर खरिदका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये ट्रिपर खरिद प्रक्रियामा रहेको खतिवडाले बताए । जेसीबी र ट्रिपर गाउँपालिकाभित्र सञ्चालित विकास निर्माणका कार्य गर्न अति जरुरी रहेको उनले बताए ।


प्रहरी चौकी पेल्टिमारीका प्रहरी नायब निरीक्षक देवराज केसीले गाउँपालिका प्रमुखको आग्रहअनुसार जेसीबीलाई सुरक्षा प्रदान गरेको बताए । उनले गाउँपालिका कार्यालय परिसरमा घेराबार नभएको, प्रहरी चौकीदेखि करिब डेढ किलोमिटर टाढा रहेको तथा पछिल्लो समय सुरक्षा चुनौती बढेकाले जेसीबीलाई सुरक्षा दिनुपरेको बताए ।


गाउँपालिका क्षेत्रमा सुरक्षा चुनौती बढेको तथा विस्फोटको घटनाबारे आइतबार गाउँपालिकाले सर्वपक्षीय छलफल गरेको थियो । उक्त छलफलमा घटना भएको १५ दिनसम्म विस्फोट गराउने समूहको पहिचान हुन नसक्नु गम्भीर कुरा भएको केसीले बताए ।

प्रकाशित : वैशाख १९, २०७५ ०७:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT