१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सर्वोच्चको आदेशको अवज्ञा

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिकाले केन्द्र सार्ने निर्णयमाथि सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश अवज्ञा गरेको छ । गाउँ कार्यपालिका बैठकले गत चैत २८ गते केन्द्र ३ नम्बर वडाको खारानेटामा सार्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध ७ नम्बर वडावासी मीनबहादुर ओलीले सर्वोच्चमा रिट हालेका थिए ।

सर्वोच्चको आदेशको अवज्ञा

रिटमाथि सुनुवाइ गर्दै वैशाख ७ गते सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपकप्रसाद जोशीले अर्को आदेश नभएसम्मका लागि २ नम्बर वडाको सिम्रतुबाट कामकाज चलाउन निर्देशन दिएका थिए । तर गाउँपालिकाले आइतबार हालसम्म काम चलाइँदै आएको ७ नम्बर वडाको मुरुडाँडाबाट खारानेटामा कार्यालयका सरसामग्री सारेको छ । गाउँपालिकाले भने वैशाख ६ बाटै खारानेटाबाट काम सञ्चालन हुँदै आएको सूचनासमेत निकालेको छ ।


सर्वोच्चको आदेश मुरुडाँडाकै कार्यालयमा वैशाख ९ गते दर्ता गरिए पनि ६ गतेदेखि नै खारानेटाबाट कार्यालय सञ्चालन भइरहेको सूचना १० गते जारी गरेको थियो । १ नम्वर वडाध्यक्ष मोहनकिशोर ओलीले सर्वोच्चमा विचाराधीन मुद्दाको टुंगो नलाग्दै बहुमतको बहानामा कार्यालय सारिएको आरोप लगाए । ‘गाउँ कार्यपालिकाको निर्णय कार्यान्वयन नगर्न/नगराउन आदेश भएको छ,’ उनले भने, ‘तर गाउँ कार्यपालिकामा बहुमत कायम गरिएको घमण्डमै कार्यालय खारानेटा सारियो, यो गलत भएको छ ।’


गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले स्थानीय तहको स्वायत्त सरकारले गरेको निर्णय कार्यान्वयन गरिएको बताए । ‘यो निर्णय स्वायत्त सरकारले गरेको हो, बहुमतले गाउँपालिकाको केन्द्र खारानेटा बनाउने निर्णय गरेपछि सामग्री कहिले सारियो भन्ने महत्त्वपूर्ण होइन,’ उनले भने ।


गत चैत २८ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गत असोज ६ र ७ गते बसेको गाउँसभाको निर्णय उल्ट्याउँदै खारानेटालाई केन्द्र तोकेको थियो । असोज ६ र ७ गतेको गाउँसभाबाट बहुमतसाथ गाउँपालिकाका केन्द्र सिम्रुतु–खारानेटा तोकिएको थियो ।


सिम्रुतु २ नम्बर वडामा पर्छ भने खारानेटा ३ नम्बरमा । सिम्रुतुदेखि खारानेटाको दूरी ७ किलोमिटर छ । उक्त गाउँसभाको निर्णय राजपत्रमा समेत प्रकाशन भएको थियो । गाउँसभाबाट २ ठाउँमा केन्द्र राख्ने निर्णय भएको र त्यो कार्यान्वनमा समस्या भएको भन्दै चैत २८ गतेको गाउँ कार्यपालिकाको बैठकले खारानेटामै गाउँपालिका केन्द्र बनाउने निर्णय गरेको थियो ।

प्रकाशित : वैशाख १९, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?