२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रधानमन्त्रीको निर्देशन ‘विकास निर्माणमा जुट्नुस्’

अर्जुन राजवंशी

दमक — प्रधानमन्त्री केपी ओलीले आफ्नो ठाउँको विकासमा जुट्न झापाका जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । उनले आफ्नो ठाउँको विकासको सम्भावनालाई अध्ययन गरी गुरुयोजना निर्माणमा जुट्न स्थानीय तहलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको निर्देशन ‘विकास निर्माणमा जुट्नुस्’

मंगलबार चन्द्रगढीस्थित जिल्ला समन्वय समितिमा आयोजित जिल्ला सभामा प्रधानमन्त्री ओलीले विकासको काममा विवाद नगर्न आग्रह गरे । उनले मुलुक निरर्थक बहस र विवादमा नअल्झी विकासको पथमा अघि बढेको दाबी गरे । यस कार्यमा झापालाई पनि विकासको द्रुत गतिमा अघि बढाउनुपर्नेमा जोड दिए । दोस्रोपटक प्रधानमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आएका ओलीले झापा उर्वर भूमि भएकाले विकास गर्न कुनै कठिनाइ नरहेको टिप्पणी गरे ।


उनले झापाली भूमि पर्याप्त धान फल्ने, सिँचाइ सुविधायुक्त र उर्वर भएकोतर्फ जनप्रतिनिधिहरू सचेत रहनुपर्ने बताए । उनले धानसँगै सुपारी, आँप, मकै, सनपाट, लिचीको खेतीसमेत राम्रो हुने भएकाले झापा कृषिको आधुनिकीकरणका लागि ठूलो सम्भावना भएको जिल्ला भएको बताए । उनले जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धानसँगै अन्य बालीको पनि सुपर जोन घोषणा गरिने बताए ।

उनले नेपालमा अहिलेसम्म एउटा पनि आधुनिक र व्यवस्थित सहर नरहेकाले त्यसतर्फको गुरुयोजना निर्माण जुट्न पनि जनप्रतिनिधिहरूलाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले सुकुम्बासीका नाममा अब जतासुकै छाप्रो हाल्न नपाइने चेतावनीसमेत दिए । ‘सुकुम्बासीको नाममा अब जतासुकै घर बनाउने, छाप्रो हाल्ने काम गर्न पाइँदैन,’ उनले भने, ‘अब सरकार, सुकुम्बासीका लागि व्यवस्थित बस्ती तथा सबै नागरिकका लागि आधुनिक सहर निर्माणमा जुट्दै छ ।’

उनले सरकार योजनाबद्ध रूपमा सुकुम्बासी समस्या समाधानका लागि गृहकार्यमा जुटेको बताए । उनले सकुम्बासीका नाममा जथाभावी जमिन कब्जा गर्ने काम रोक्नुपर्ने बताए । ओलीले जिल्लामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको काम अघि बढाउन नदिएकोप्रति आक्रोश व्यक्त गरे । प्रधानमन्त्री ओलीले कमल गाउँपालिकास्थित लखनपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन चाहे पनि विवाद झिकेर उक्त कार्य अघि बढाउन नदिएकोमा दु:ख लागेको बताए ।

‘तर, झापामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन अझै तयार छु । तपाईंहरू ठाउँ खोज्ने काममा लाग्नुहोस्,’ उनले भने, ‘रंगशाला बनाउने जिम्मा मेरो हो । रंगशाला बनाउन नामका विषयमा विवाद नझिक्नुहोस् । नीति बनाएर अघि बढ्नुहोस्, झापामा रंगशाला बन्छ ।’ प्रधानमन्त्री ओलीले घाम, पानी र हावा सबैबाट बिजुली निकाल्न आफूहरू लागिपरेको बताए ।

उनले पहिले हावाबाट बिजुली निकाल्ने भन्दा धेरैले हाँसोको विषय बनाएको बताए । ‘मैले हावाबाट बिजुली निकाल्छौं भन्दा धेरैले यसलाई हाँसोका रूपमा लिए । तर, अहिले बिस्तारै कुरा बुझ्न थालेका छन्,’ उनले भने, । उनले गरिबी हटाउने र सबैलाई शिक्षाको पहुँचमा पुग्ने गरी काम गर्न पनि जनप्रतिनिधिलाई भने । उनले अहिले जनप्रतिनिधिहरूलाई आ–आफ्नो गाउँ–ठाउँमा बालबालिका खोजीखोजी विद्यालय भर्ना गर्न सुझाव दिए । प्रधानमन्त्री ओली दुईदिने कार्यक्रमका लागि गृहजिल्ला आएका छन् ।


प्रधानमन्त्री ओली मंगलबार विभिन्न सात औपचारिक कार्यक्रममा सहभागी भए । उनले जिल्लासभा उद्घाटन तथा सम्बोधन, चारपाने–राजगढ सडक शिलान्यास, लक्ष्मीपुर–साधुटार सडक उद्घाटन, अर्जुनधारा नगरपालिका १ सिस्नेमा बिरिङ नदीको पुल शिलान्यास, पाडाजुँगी–खजुरगाछी सडक शिलान्यास तथा अमलडाँगी–समयगढ सडक शिलान्यास गरे ।

प्रकाशित : वैशाख १९, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?