सशस्त्र द्वन्द्वको प्रभाव: अझै मेटिएन पीडा

दुर्गालाल केसी

दाङ — घोराही बर्गद्दीकी भौनी चौधरीले २०५८ मंसिर १३ को दर्दनाक घटना कहिल्यै भुल्न सक्दिनन् । श्रीमान्, ससुरा र देवरका साथै खेतमा धान दाइरहेका ११ जना थारू किसान मारिएको उक्त घटनाले सधैं झस्काइरहन्छ । ‘त्यो घटना केही गरे पनि भुल्न सकिँदैन । हरेकपटक खेतमा पुग्दा रुँदै काम गर्नुपर्छ,’ उनले भनिन्, ‘सरकारले त्यो घटना भुल्न सकिने गरी कुनै न्याय पनि दिएको छैन । अहिलेसम्म हाम्रा आफन्तको बिनागल्ती हत्या गर्नेलाई किन कारबाही भएको छैन ?’

सशस्त्र द्वन्द्वको प्रभाव: अझै मेटिएन पीडा

माओवादी आरोपमा सुरक्षाकर्मीद्वारा मारिएका ती थारू किसानका परिवारको अवस्था अहिले दयनीय छ । कतिका श्रीमती र बालबालिका डिप्रेसनको सिकार भएका छन् । कतिका श्रीमान् मारिए, श्रीमतीले दोस्रो विवाह गरे, बालबालिकाकाको बिचल्ली छ ।


अभिभावक नभएका कारण बालबालिकालाई पढ्न समस्या भएको छ । ‘हामीलाई पढाइलेखाइमा निरन्तरता दिन कठिन भएको छ । बुबा मारिएपछि संरक्षण गर्ने कोही छैन,’ बर्गद्दीकी मीना चौधरीले भनिन्, ‘पढ्न नै समस्या भएपछि उक्त घटनाले झनै रुवाउँछ । सधंै त्यही घटनाले तर्साइरहन्छ ।’ पीडित थारू किसानका परिवारले न्याय पाइने आशामा सबै सरकारी निकाय धाइसके तर कतैबाट पनि न्याय पाएनन् । धेरैलाई शान्ति प्रक्रिया टुंगिएको थाहा छ तर उनीहरूको मनमा शान्ति आउन सकेको छैन ।


धेरैका आँखा ओभाएका छैनन् । अर्काको जमिन जोतेर खाने निर्दोष किसानलाई हत्या गर्नेहरूलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ । न्यायका लागि अदालत धाउँदा पनि न्याय नपाएको उनीहरूको गुनासो छ । २ छोरा गुमाएकी जुगरी चौधरीले पुनरावेदन अदालत तुलसीपुरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले उक्त घटनाबारे तत्काल अनुसन्धान गर्न जिल्ला प्रहरी र सरकारी वकिल कार्यालयलाई आदेश गरेको थियो । अदालतको आदेशपछि पनि प्रहरी र सरकारी वकिलले त्यस घटनाबारे केही अनुसन्धान नथालेको पीडितहरूको गुनासो छ ।


‘अदालत पुग्दा पनि न्याय पाइएन । अदालतको आदेश पनि पालना भएको छैन,’ उक्त घटनामा मारिएका सोङरा चौधरीकी श्रीमती पुण्याले भनिन्, ‘दोषीलाई कारबाही हुनुपर्छ । दोषीलाई कारबाही नभएसम्म हाम्रो मनले शान्ति पाउँदैन ।’ जिल्लामा सेनाबाट माओवादीको नाममा सर्वसाधारण मारिएका यस्ता ठूला घटना ५ वटा छन् । घोराहीको बेलुवामा ९, तुलसीपुरको फूलबारीमा ६, दंगिशरणको गोल्टाकुरीमा १२ र तुलसीपुरको पहरूवामा ८ जना मारिएका छन् । विद्रोहीबाट पीडितहरूको पनि अवस्था उस्तै छ । बर्गद्दीकै द्रौपदा न्यौपानेका पति २०६१ मा मारिए । द्वन्द्वपीडितका नाममा हुने हरेक कार्यक्रममा उनलाई रुवाइन्छ तर मनमा शान्ति कहिल्यै मिल्दैन । घोराहीकी चुमा आचार्य पनि श्रीमान्को खोजीमा भौंतारिन थालेको १५ वर्ष भइसक्यो । द्वन्द्वकालमा बेपत्ता भएका श्रीमान्बारे अहिलेसम्म उनले केही खबर पाएकी छैनन् । ‘प्रशासनमा जाँदा श्रीमान् हराएको प्रमाण के छ भनेर उल्टै दु:खी बनाउँछन्,’ उनले भनिन्, ‘हाम्रो पीडामाथि पीडा दिने काम भइरहेको छ । श्रीमान्को खोजी गरिदिने र बालबालिकालाई केही राहत दिनेमा कोही जिम्मेवार छैनन् ।’

प्रकाशित : वैशाख १९, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?