कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सशस्त्र द्वन्द्वको प्रभाव: मानसिक रोगी बढे

मकवानपुर — जिल्लामा सशस्त्र द्वन्द्वको समयमा प्रभावित क्षेत्रका स्वास्थ्यचौकीमा मानसिक रोगी बढेको पाइएको छ । वाग्मती गाउँपालिकाका स्वास्थ्यचौकीमा सयभन्दा बढी मानसिक रोगीले उपचार गराइरहेका छन् ।

सशस्त्र द्वन्द्वको प्रभाव: मानसिक रोगी बढे

साबिकको फापरबारी गाविस सशस्त्र द्वन्द्वमा बढी प्रभावित मानिन्छ । यस क्षेत्रमा सुरक्षा फौज र माओवादी लडाकुबीच पटक/पटक झडप भएका थिए । ‘फापरबारी स्वास्थ्यचौकीमा बर्सेनि २५ देखि ३० मानसिक रोगी आउने गरेका छन्,’ चौकी प्रमुख लक्ष्मण साहले भने, ‘नियमित उपचारका निम्ति सय मानसिक रोगी चौकीमा आउने गरेका छन् ।’ नियमित आउने रोगीलाई चौकीले प्रत्येक बिहीबार उपचार गर्ने व्यवस्था मिलाएको उनले बताए । अन्य नयाँ रोगी पनि दैनिकजसो आउने गरेका छन् ।


स्वास्थ्यकर्मीका अनुसार यहाँ उपचार गर्न आउने मानसिक रोगीमा युवायुवतीको संख्या धेरै छ । मानसिक रोगीहरूमा तर्सिने, चिच्याउने, झोक्राएर बस्ने, हीनताबोधले ग्रसित, पागलपन र छारेरोगी छन् । द्वन्द्वमा कसैका आफन्त मारिएर, दुई पक्षको झडप आफ्नै आँखाले देखेर तथा तत्कालीन विद्रोही तथा राज्य पक्षबाट दिएको यातनाकै कारण पनि मानसिक रोगीको संख्या धेरै देखिएको हो । फापरबारी स्वास्थ्यचौकीमा ललितपुर, काभ्रे, सिन्धुलीका दक्षिणी तथा मकवानपुरको पूर्वी भेगका मानसिक रोगीहरू उपचारका लागि आउने गरेका छन् । मकवानपुरको सुदूरपूर्वी क्षेत्र र ललितपुर, काभ्रे र सिन्धुलीका दक्षिणी भेग द्वन्द्वबाट प्रभावित क्षेत्र मानिन्छन् ।


द्वन्द्वबाट प्रभावित क्षेत्रका बासिन्दाले मानसिक तनाव, पीडा भोग्ने र द्वन्द्वको प्रत्यक्षदर्शी पनि भएकाले अन्यको तुलनामा यहाँका बासिन्दा बढी प्रभावित देखिएको समाजशास्त्रका प्राध्यापक वीरेन्द्र साह बताउँछन् । ‘शान्ति प्रक्रिया सुरु भएपछि द्वन्द्वग्रस्त क्षेत्रका बासिन्दामा क्रमश: मानसिक रोग देखापर्ने गर्छ,’ उनले भने, ‘यो संसारभरि नै देखिएको प्रवृत्ति हो ।’ जिल्लामा ३ गाउँपालिकाका ७ स्वास्थ्यचौकीमा मानसिक रोगीको उपचार गरिन्छ ।

तर फापरबारी स्वास्थ्यचौकीबाहेक अन्यमा मानसिक रोगीको चाप नभएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख रामचन्द्र पाठक बताउँछन् । ‘द्वन्द्वग्रस्त क्षेत्र भएर होला फापरबारी स्वास्थ्यचौकीमा मानसिक रोगीको चाप धेरै छ,’ उनले भने, ‘द्वन्द्वबाट प्रभावित क्षेत्रमा यस्तो समस्या लामो समयसम्म देखापर्छ ।’

प्रकाशित : वैशाख १९, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?