प्रदेश १ को नाम सगरमाथा वा कोशी राख्न प्रधानमन्त्रीको सुझाव

अर्जुन राजवंशी

दमक — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम राख्न र राजधानी तोक्न ढिलाई भइरहेको बताएका छन् । उनले ढिलाई भएकोतर्फ प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन् । बुधबार झापाको दमकमा खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेश १ ले प्रदेश ६ बाट केही सिक्नुपर्ने बताए । 

प्रदेश १ को नाम सगरमाथा वा कोशी राख्न प्रधानमन्त्रीको सुझाव

प्रधानमन्त्री ओलीले प्रदेश १ को नाम सगरमाथा वा कोशी राख्दा उपयुक्त हुने संकेत गरे । उनले भने,‘यस प्रदेशमा सप्तकोशी बग्छ तर, कोशी प्रदेश भन्न हामी सक्दैनौं । विश्वमा चिनिएको सगरमाथा छ तर, सगरमाथा प्रदेश भन्न हामी गाह्रो मान्छौं । त्यसैले यस प्रदेशको नामाकरण गर्न ढिलाई भएको हो ।’


ओलीले प्रदेश ६ ले आफ्नो प्रदेशको नामाकरण र राजधानी तोकेर अघि बढेकोतर्फ प्रदेश १ को ध्यान जानुपर्नेमा जोड दिए । उनले भने,‘प्रदेश ६ लाई अब ६ नम्बर प्रदेश भन्नु पर्दैन । उसले आफ्नो प्रदेशको नाम कर्णाली प्रदेश राखिसक्यो । उससँग अस्थायी होइन, स्थायी राजधानी पनि भईसक्यो । प्रदेश ६ ले आफ्नो राजधानी सुर्खेत तोकिसक्यो ।’


प्रधानमन्त्री ओलीले कार्यक्रममा उपस्थित प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको ध्यानाकर्षण गराउँदै प्रदेश १ को नामाकरण र राजधानी तोक्न ढिलाई भएको जानकारी गराएका थिए ।

प्रकाशित : वैशाख १९, २०७५ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?