स्याङजामा चितुवाको बिगबिगी

चितुवाकाे आक्रमणबाट वर्षदिनमै २ सय ६० चौपाया मरे
प्रतिक्षा काफ्ले

स्याङजा — संख्या बढ्दै गएपछि स्याङजामा चितुवाले गाँउ प्रवेश गरी पशुचौपाया आक्रमण गर्ने क्रम बढ्न थालेको छ । पछिल्लो समय घर, सार्वजनिक स्थल र सरकारी कार्यालय वरपर पनि चितुवा देखिन थालेको छ ।

फाइल तस्बिर

यसै वर्ष मात्रै चितुवाको आक्रमणबाट स्याङजामा २ सय ६० वटा चौपाया मरेका छन्, जसमध्ये १ सय ४४ बाख्रा छन् ।

Yamaha

२०६९ सालयता स्याङजामा चितुवाको आक्रमणबाट ४ सय ७८ वटा चौपाया मरेका छन् । जसमा ३ सय २७ वटा बाख्रा, १९ वटा गोरु, १० वटा गाई, ५ वटा भैसी, १५ वटा बंगुर र एक सय २ वटा कुखुरा रहेका छन् । चितुवाको आक्रमणले चौपाया मेरेको भन्दै जिल्लाभर २ सय ७७ जनाले निवदेन दिएका छन् । जिल्ला वन कार्यालयमा परेका कुल निवेदनमध्ये २ सय ४० जनाले राहात लगिसकेको कार्यालयले जनाएको छ ।

कार्यालयका शाखा अधिकृत राजेन्द्र ढकालले जिल्लामा चितुवाको आक्रमण बढ्दो क्रममा रहेको बताए । 'हाम्रो जिल्लामा चितुवाको बिगबिगी छ,' उनले भने, 'चितुवाको आक्रमणबाट चौपायामा क्षति पुगेको भन्दै दिनहुँ निवेदन आउने गरेको छ ।'

चितुवाको बिगबिगी जिल्लाको उत्तरी भेगतिर बढी छ । आँधीखोला, फेदीखोला गाउँपालिका र पुतलीबजार नगरपालिकामा चितुवाको बिगबिगी रहेको ढकालले बताए । बागे–बाङसिङ, विचारीचौतारा, चिलाउनेबास, फापरथुम, सेतीदोभान, भाटखोला, फेदीखोला, करेनडाँडालगायतका क्षेत्रमा चितुवाले बढी चौपाया आक्रमण गरेको छ ।

वन क्षेत्रको फडानी र जंगलमा आहारा नभेटेपछि चितुवा घर/गाउँतर्फ पल्किएको जिल्ला वन कार्यालयका अधिकृत कोमल काफ्लेले बताए । काफ्लेले चितुवा कुन जिल्ला वा वनबाट आउँछन र पुन: कहाँ जान्छन् भन्नेबारे जानकार नभएको बताए ।

जिल्लामा चितुवाको आक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका कार्यालयले अभिलेखमा उल्लेख छ ।

मानिस र चितुवाबीचको भिडन्तमा हालसम्म दुईवटा चितुवा मरेको कार्यालयले जनाएको छ ।

Esewa Pasal

प्रकाशित : वैशाख १९, २०७५ १४:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बेलायती नागरिकता माग्दै हङकङका नेपाली

किसन राई

हङकङ — हङकङमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरुले बेलायती नागरिकता र पासपोर्टको माग गर्दै स्थानीय बेलायती कन्सुलेट जनरलमा धर्ना दिएका छन् । 

उनीहरु मध्ये अधिकांशले बेलायती नागरिकता लिइसके पनि पासपोर्ट पाउन सकेका छैनन् भने कतिपयका बाबुआमा बेलायती भएपनि छोराछोरीलाई नागरिकता दिइएको छैन । प्रदर्शनकारीले १५ दिने अल्टिमेटमसहित चार बुादे ज्ञापनपत्र पनि बुझाएका छन् ।

‘फाइट अगेन्स्ट ब्रिटिस गभर्मेन्ट्स डिस्क्रिमिनेसन एण्ड रेसिज्म अन सिटिजनसिप एण्ड पास्पोर्ट फर गोर्खाज फेमिलिज लिभिङ इन हङकङ’को आयोजनामा सम्पन्न कार्यक्रममा लगभग दुईसयजनाको सहभागिता रहेको थियो । प्लेकार्ड र व्यानरसहित उपस्थित उनीहरुले बेलायती सरकारको भेदभावपूर्ण व्यवहार र नीति विरुद्ध नाराबाजीसमेत गरेका थिए ।

संयोजक भूषण सुब्बाले बेलायती सरकारको अत्याचारले पराकाष्ठ नाघेको कारण विरोध कार्यक्रमको आयोजना गर्नु परेको बताएका थिए । उनका अनुसार नागरिकता र पासपोर्टमा भएको ढिलाइले गर्दा सयौं नेपाली मूलका बेलायतीहरु स्टेटलेस (राज्यविहीन) हुनुपरेको छ ।

उक्त अवसरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै संयोजक सुब्बाले बेलायती नागरिकताको लागि नेपाली नागरिकता परित्याग गरिसकेकाहरु अहिले स्टेटलेसको अवस्थामा रहेका छन् । उनका अनुसार त्यस किसिमका नेपाली मूलका बेलायतीहरुले नागरिकताको लागि आवेदन गरेको वर्षौं भइसकेको छ ।

कार्यक्रममा उपस्थित नन्दमाया गुरुङले बेलायती नागरिकताका लागि दुई वर्षअघि नेपाली नागरिकता त्यागेको कारण आफू स्टेटलेस भएको बताएकी थिइन् ।

उनका अनुसार बेलायती नागरिकता आवेदनका लागि नेपाली नागरिकता त्याग्नै पर्ने प्रावधान रहेको छ । दुई वर्षमा पनि उनले बेलायती नागरिकता प्राप्त गर्न सकेकी छैनन् ।

आयोजक मध्येका डा. अनिल राईले बेलायती नागरिकता प्राप्त गरेर पासपोर्टको लागि आवेदन गरेको तीन वर्ष भन्दा बढी भइसकेको छ । हाल उनीसंग पासपोर्ट नभएको कारण हङकङ बाहिर जान सक्ने अवस्था रहेको छैन । सहभागी शिवकुमार क्षेत्रीले आफू बेलायती नागरिक भएको कारण दुई बच्चाले नागरिकता प्राप्त गरे पनि पासपोर्टको आवेदन गरेको दुई वर्षभन्दा बढी भइसकेको दुखेसो पोखेका थिए ।

तीन महिना बेलायत बसेर फर्केका गोपालसिं थापाले पासपोर्ट नवीकरणको लागि आवेदन गरेको आठ महिना बितिसकेको बताएका थिए, सामान्यतय नवीकरणको लागि दुई महिना लाग्ने गरेको छ । उनका बच्चाहरुको बेलायती नागरिकताको लागि आवेदन गरेको दुई वर्षभन्दा बढी भइसकेको छ ।

यसभन्दा अघि नै हुलाक र इमेलमार्फत समेत ज्ञापनपत्र प्राप्त गरिसकेको बेलायती कन्सुलेट जनरलले प्रदर्शनको क्रममा एक पत्र संयोजक सुब्बालाई हस्तान्तरण गरेका थिए । उक्त पत्रमा पीडितहरुको गुनासो सम्बन्धित निकायमा पठाइसकिएको र पन्ध्र दिनभित्र समाधान गर्न अनुरोध गरिएको उल्लेख गरिएको छ ।

सोही पत्रसहित नत्थि गरिएको पासपोर्ट विभागका महानिर्देशक मार्क थम्सनद्वारा हस्ताक्षरित पत्रमा योग्यताको लागि सन्तुष्टि प्राप्त नभएसम्म पासपोर्ट जारी गर्न नसकिने र वैध आवेदनहरुमा ढिलाइ भएकोमा माफी मागिएको छ । सोही पत्रमा आवेदनहरुमा समीक्षा भइरहेको र १५ दिनभित्र जवाफ पठाइने उल्लेख गरिएको छ ।

विभागको पत्रमा दुई सय वर्षको गोर्खाको सेवाप्रति धन्यवाद ज्ञापन गर्दै केही आवेदकहरुले बेलायती नागरिकता र पासपोर्टको लागि झुठा विवरण पेश गरेको दाबी गरिएको छ । प्रक्रिया मिच्ने दुष्प्रयासको कारण भएको ढिलाईबाट पीडितहरु प्रति सहानुभूति प्रकट गरिएको छ ।

कार्यक्रमको समापन गर्दै संयोजक भूषण सुब्बाले तोकिएको समयभित्र माग पूरा नभए कडा कार्यक्रम तय गर्न बाध्य हुने बताएका थिए । उनका अनुसार उक्त विषयलाई अन्तर्राष्ट्रियकरण गर्न र कानुनी प्रक्रिया अघि बढाउन तयारी शुरु गरिएको छ ।

यसै बीच गैरआवासीय नेपाली संघ हङकङले विज्ञप्तिमार्फत मागप्रति ऐक्यवद्धता जनाउादै बेलायत सरकारको भेदभावपूर्ण नीति र व्यवहार खारेज गर्न माग गरेको छ ।

प्रकाशित : वैशाख १९, २०७५ १३:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT