कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भेरी–बबई आयोजनाको ताला खुल्यो

प्रकाश अधिकारी

सुर्खेत — राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा लागेको ताला खुलाइएको छ । आयोजना र प्रभावित क्षेत्रका बासिन्दाबीच बुधबार माग पुरा गर्ने लिखित सहमति भएपछि ताला खुलाइएको हो ।

भेरी–बबई आयोजनाको ताला खुल्यो

स्थानीयवासी र मजदुरले मंगलबार प्रभावित क्षेत्रको विकासका लागि विगतमा गरिएका प्रतिबद्धता पूरा नभएका र कामदारलाई पनि विभेद गरिएको भन्दै तालाबन्दी गरेका थिए । आयोजनाले अधिकांश माग पुरा भइसकेका र केही बर्षा अगावै पुरा गर्ने प्रतिवद्धता जनाएपछि स्थानीयवासी ताला खोल्न सहमत भएका हुन् । विभिन्न बहानामा नेपाली कामदारलाई निकालेको भन्दै स्थानीयले आयोजनाको ध्यानाकर्षण गराएका थिए ।


भेरीको पानी सुरुङमार्गबाट बबईमा मिसाई एकैपटक सिँचाई र विद्युत सेवा दिइने यो आयोजना सुर्खेतमा निर्माणाधीन छ । आयोजना प्रमुख शिवकुमार बस्नेतले कूल १२ किलोमिटरमध्ये चार किमी सुरुङ खनिसकिएको बताए । ‘सुरुङको एक तिहाई काम सकिएको छ' उनले भने, ‘अहिले बाँध र पावरहाउस डिजाइन अध्ययनको काम गरिरहेका छौं ।’


छिञ्चु–जाजरकोट सडक खण्डको चिप्लेमा १४ मिटर अग्लो बाँध निर्माण गरी प्रतिसेकेण्ड ४० घनमिटर भेरीको पानीलाई बबईमा मिसाइनेछ । आयोजना प्रमुख बस्नेतले प्रभावित क्षेत्रमा सामाजिक विकासका कार्यक्रमसमेत सञ्चालन भइरहेको जनाए । उनले रफ्तारमा बढिरहेको आयोजनामा स–साना माग राखी गरिने आन्दोलनले निर्माणमा असर पर्ने बताए ।


नेपालमा पहिलोपटक यस आयोजनामा सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको हो । यसअघि ड्रिलिङ र ब्लाष्टिङबाट मात्रै सुरुङ खनिन्थ्यो । टिबिएम चालकरहितको अत्याधुनिक प्रविधिको मेसिन हो । मेसिन सञ्चालनका लागि ८४ जना चिनियाँ प्राविधिक र झण्डै ६ सय नेपाली कामदार सुरुङ निर्माणमा खटिएका छन् । सुरुङको लम्बाई १२ किमी र चौडाई ५.६ मिटर छ । आयोजनाको निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) ले गरिरहेको छ ।


सिंचाई विभाग र कोभेकबीच २०७१ माघमा निर्माण सुरु गरी २०७५ फागुनमा सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता छ । बबईमा मिसाइएको पानीबाट ४८ मेगावाट विद्युत तथा बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिंचाई सुविधा उपलब्ध हुनेछ । स्वदेशी लगानीमा निर्माण हुन लागेको यस आयोजनाको कूल लागत साढे १६ अर्ब रहेको छ । बाह्रै महिना सिंचाई उपलब्ध भएपछि कृषि उत्पादन बढ्न गई आयोजनाबाट वार्षिक ३ अर्ब र विद्युतबाट ४ अर्ब प्रत्यक्ष आम्दानी अनुमान गरिएको छ ।

प्रकाशित : वैशाख १९, २०७५ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?