माओवादी बैठकमा दाहालको ब्रिफिङ : ‘एकता प्रक्रिया निष्कर्ष उन्मुख’

बिहीबारको बैठक निष्कर्षतर्फ उन्मुख भए आउँदो शनिबार एकताको समयसीमा घोषणा हुने
कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको एकता प्रक्रिया सकारात्मक दिशामा अघि बढेको बताएका छन् । माओवादी सचिवालय बैठकमा बुधबार दाहालले दुई दलबीचको छलफल सकारात्मक निष्कर्ष निक्लने विन्दुतर्फ अग्रसर भएको ब्रिफिङ गरेका हुन् ।

एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने प्रयोजनका लागि बिहीबार दुई दलका शीर्ष नेताबीच छलफल हुँदै छ। माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार दुई नेताको बैठकले निकाल्ने निष्कर्षका आधारमा एकताबारे टुंगो लाग्नेछ। एमाले र माओवादीबीच वैशाख ९ मा एकता गर्ने भनिए पनि हिस्सेदारी विवादले रोकिएको थियो। बिहीबारको बैठक निष्कर्षतर्फ उन्मुख भए आउँदो शनिबार माक्र्स जयन्तीका अवसरमा एकताको समयसीमा घोषणा हुने सम्भावना छ। एकता घोषणा भव्य रूपमा गर्नुपर्ने भएकाले तयारी गर्ने समयसीमा राखेर मितिसम्म सार्वजनिक हुन सक्ने माओवादीका एक नेताले जानकारी दिए। बैठकले तथ्यांक अद्यावधिक राख्न सबै संगठनलाई निर्देशन दिएको छ।

Yamaha


अध्यक्ष दाहालले अहिलेसम्म नमिलेका विषयमा सकारात्मक अवस्था बनेकाले एकताका लागि तयारी अवस्थामा रहन पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। दुवै पक्षबीच सम्मानजनक रूपमै एकता हुने उनले जानकारी गराएका थिए। एमालेसँग माओवादीले समान हिस्सेदारी मागेको छ। त्यसका लागि संगठनमा ५० प्रतिशत पाउनुपर्ने दाबी गरेको थियो तर विगतको सहमतिअनुसार र संगठनको आकारका आधारमा पनि ५० प्रतिशत दिन नमिल्ने अडान एमालेले लिँदै आएको छ। त्यस्तै एकतापछिको नेतृत्वलगायत विषय पनि मिलेको छैन। एमालेले ५० प्रतिशत नै दिने र एकतापछि नेतृत्वको विषयमा अहिले नै स्पष्ट केही उल्लेख गर्ने कि नगर्ने भन्नेबारे अध्यक्ष दाहालले बैठकमा स्पष्ट खुलाएनन्। एकता सकारात्मक दिशामा रहेको भन्दै त्यसका लागि तयारीमा रहन मात्रै उनले निर्देशन दिए।

‘अध्यक्षज्यूको कुराअनुसार अब एकता प्रक्रियामा धेरै मिल्न बाँकी विषय छैनन् भन्ने छ,’ एक नेताले भने, ‘त्यसैले एकता घोषणाका लागि विगतको भन्दा अलिक मजबुत आधार बन्दै गएको देखिन्छ।’ दुई दलबीच एकता हुने भनेकाले दुवै संगठनात्मक गतिविधिमा सुस्तता आएको छ। सरकारका कामकारबाहीमा एकता हुने/नहुने भन्ने अन्योलले असर गरिरहेको निष्कर्ष बैठकले निकालेको थियो। त्यसैले एकतालाई छिटो टुंग्याइहाल्नुपर्ने धारणा नेताहरूको छ। बिहीबार हुने बैठकबाट सकेसम्म निष्कर्षमा पुर्‍याउनेतर्फ लाग्नुपर्ने सुझाव नेताहरूले दिएका छन्।

Esewa Pasal

प्रकाशित : वैशाख १९, २०७५ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्

फेरि बढ्यो इन्धनको मूल्य, ग्यास र हवाई इन्धनको यथावत् 

पेट्रोलमा दुई, डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि
कान्तिपुर संवाददाता

काठमाडौँ — आयल निगमले इन्धनको मूल्य पुन: बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमले यहाँ पनि मूल्य बढाइएको जनाएको छ । ‘भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको भाउ बढेको छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ मूल्यसूची बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।’

गोइतका अनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मटितेलमा ३/३ रुपैयाँ बढेको छ । नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ८ रुपैयाँ, डिजेल र मटितेल प्रतिलिटर ९०/९० रुपैयाँ पुगेको छ । यसअघि प्रतिलिटर पेट्रोल १ सय ६ रुपैयाँ, डिजेल ८७ रुपैयाँ र मटितेल ८७ रुपैयाँ थियो । नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ९० पैसा नाफा रहेको प्रवक्ता गोइतले बताए ।

निमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पर्छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ अमेरिकी डलर तोकेको छ । नयाँ मूल्य समायोजनपश्चात् निगमको अर्ध मासिक नाफा १० करोड ५५ लाख रुपैयाँ छ । यसअघि निगमको नाफा २१ करोड २३ लाख रुपैयाँ थियो ।

आयल निगम अत्यधिक घाटामा गएपछि सरकारले २०७१ असोजमा स्वचालित मूल्य लागू गरेको थियो । स्वचालित मूल्यअनुसार आईओसीले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ । सोहीअनुसार मूल्य समायोजन गर्दै आएको निगमको दाबी छ ।

प्रकाशित : वैशाख १९, २०७५ २०:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT