समाचार टिप्पणी : ३३ किलो सुन चाहिँ कहाँ छ ?

एकैदिन एकैपटक यति धेरैजनाविरुद्ध पहिलोपटक जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता
जितेन्द्र साह

विराटनगर — ‘यति धेरथोक सार्वजनिक भइरहेको छ तर ३३ किलो सुनचाहिँ कहाँ छ ?’ जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले बुधबार बिहान कार्यकक्षमा मिठो शैलीमा यो जिज्ञासा राखिरहँदा सञ्चारकर्मीहरूले पनि मुस्कान रोक्न सकेनन् ।

समाचार टिप्पणी : ३३ किलो सुन चाहिँ कहाँ छ ?

गत ९ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको दाबी गरिएको तस्करीको उक्त सुन ओसारपसारमा संलग्न भनिएका एक सुन व्यवसायीको हत्या भइसकेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको थुनुवा कक्षमा रहेका यो सुन काण्डका अभियुक्त एसएसपी दिवेश लोहनीसहित २९ जनामाथिको मुद्दा अघि बढिसकेको छ । उनीहरूलाई कसुर हेरी सुनको अवैध कारोबार, अपहरण, हत्या र संगठित अपराधसम्बन्धी अभियोग लगाइएको छ ।


दुलालका अनुसार पक्राउ परेकामध्ये यति जनालाई यो अभियोग र उति जनालाई त्यो अभियोग भनेर नि:सन्देह भोलि खबर त आउँला तर सबैको जिज्ञासा भने त्यो सुन कहाँ गयो भन्ने नै हो । हराएको झन्डै अढाई महिनापछि पनि यो घटनाको केन्द्रविन्दु वा अपराधको जड भनेको त्यही पहेंलो पदार्थ नै हो । ‘यो काण्डसँग शरीर बन्धक र हत्यासम्मका अन्य विविध अपराध जोडिए पनि समग्र कारण त सुन नै हो,’ स्रेस्तेदार दुलालले भने, ‘त्यो सुन फेला नपरेसम्म तत्कालै वास्तविकता बाहिर आउँला जस्तो लागेन ।’


एकथरी जानकारहरूले त्यो सुनलाई गलाएर बेचिएको, अन्यत्र पठाइसकिएको, गाडिएको वा विमानस्थलबाटै सुन नबाहिरिएको हुनसक्ने तर्क अघि सार्छन् भने अर्कोथरीले मुख्य तस्कर तथा प्रहरीकै मिलेमतोमा सुन गायब पारिएको हुनसक्ने धारणा राख्छन् । भरिया भनिएका व्यवसायी मोरङ उर्लाबारीका सनम शाक्यको हत्यारा पता लगाउन सक्ने प्रहरीले अहिलेसम्म सुन बरामद नगर्नुले यो प्रकरणलाई थप रहस्यमय बनाएको स्थानीय सञ्चारकर्मी ध्रुव भट्टराई बताउँछन् । उनले भने, ‘यो पूरा काण्डमा जेजे कथा बाहिर आएको छ वा सार्वजनिक भएको छ, ती सबै पनि झुटो हुनसक्छ ।’


त्यही भएर यो काण्ड छानबिन समिति, प्रहरी, सञ्चारकर्मी र न्यायिक निकायमा संलग्न सबैका लागि चुनौतीपूर्ण बनेको छ । बुझदै र खोज्दै जाँदा कहिल्यै नटुंगिने प्रश्नमाथि प्रश्न उठदै जान्छ । सुन तस्करीको कसिलो जालोको प्रसंग आउँदा प्रहरी अधिकृतहरू पन्छिन खोज्छन् । ‘आरोपीको अदालतमा बयान नसकुन्जेलसम्म बोल्ने फुर्सदसमेत छैन,’ मोरङ प्रहरी प्रमुख उपरीक्षक अरुण बीसीले कान्तिपुरसँग भने, ‘प्रहरीले बयान गराएको कागजातको पहाड खडा भएको छ ।’ कार्यालयमा भेटिएका उनको मुहारबाटै कामको दबाब प्रस्टै झल्किन्थ्यो । यो प्रकरणमा पक्राउ र बयानको क्रम सुरु भएदेखि खाने र सुत्ने समयसमेत नपाइरहेको उनले बताए ।


प्रहरीले आरोपीलाई बुधबार बेलुकीसम्म अदालतमा नल्याउन्जेल र साँझ नलगुन्जेलसम्म जिज्ञासु सञ्चारकर्मी, नागरिक समाज एवं सुरक्षाकर्मीको बाक्लो उपस्थिति रह्यो । एकै दिन एकैपटक यति धेरै जनाविरुद्ध यो अदालतमा पहिलोपटक अभियोगपत्र दर्ता भएको स्रेस्तेदार दुलालले बताए । अभियोगअनुरूपको दसीप्रमाण हेरेर मुद्दा दर्ता गर्न झन्डै तीन घण्टा लागेको र एउटै इजलासमा पालैपालो बयान सकिन तीन दिनसम्म लाग्ने बताए । स्रेस्तेदार दुलालले यसपछि सुनुवाइ सुरु हुने जनाए ।


‘बोल्यो कि पोल्यो’ भनेजस्तो यो प्रकरणमा आरोपीको बयानको कागजात तयार पार्ने मोरङ प्रहरीका अधिकृतहरू पनि मुख खोल्न मानेका छैनन् । थुनामा रहेकाको व्यक्तिगत विवरण र पृष्ठभूमिबारे समेत उनीहरू जानकारी दिन मान्दैनन् । विभिन्न बहाना बनाउँदै सञ्चारकर्मीसँग टाढै बस्छन् । ‘गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समितिले यसबारे राजधानीमै पत्रकार सम्मेलन गर्छ,’ एक अधिकृतले भने, ‘विस्तृत जानकारी गृह वा अदालतबाटै लिंदा बेस हुन्छ, उसै पनि कामको चाप छँदैछ, केही बोल्दा विवादमा परियो भने झनै खल्लो हुन्छ ।’


उनीहरूलाई एकातिर सरकारी वकिलको कार्यालयमा मुद्दाको मिसिल बुझाउने व्यस्तता त छँदैछ । अर्कोतिर एकपछि अर्को गर्दै पूर्व र बहालवाला प्रहरीहरूसमेत यो काण्डमा आरोपी बनेकाले उनीहरू तनावमा देखिएका हुन् । हिजोअस्तिसम्मै साथै काम गरिरहेका सहकर्मीहरूको बयान लिँदा चुनौती र कठिनाइ आउनु स्वाभाविककै भएको एक प्रहरी अधिकृतले अनुभव सुनाए ।

अपराध रोक्ने जिम्मेवारी पाएकाबाटै सुन तस्करी भइरहेको तथ्य बाहिरिंदा प्रहरीकै मनोबल गिराएको र नैतिक आचरणमाथि प्रश्न उठिरहेको उनीहरू बताउँछन् । उनीहरूका अनुसार अनुसन्धानको क्रममा अपराधीसम्म पुग्न प्रहरीले भेष, परिचय र स्वर बदल्नेदेखि अनेक सूत्र अपनाउनुपर्छ । ‘यो क्रममा कहिलेकाहीं जरोमा पुग्न अपराधीसँग उसकै भाषामा गफ गर्नुपर्ने हुन्छ,’ अर्का अधिकृतले भने, ‘यो योजनाबद्ध हुनुपर्छ, नियतमा खोट हुनुभएन, यहाँ भने दुई/चार जनाले गर्दा अब सबैमाथि शंका भयो, प्रहरीमाथि जनविश्वास घट्यो ।’



प्रकाशित : वैशाख १९, २०७५ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?