२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

जनकपुरलाई ‘विशेष अनुदान प्याकेज’

सुरेशराज न्यौपाने

नयाँदिल्ली — जनकपुरबाट आफ्नो दुईदिने नेपाल भ्रमण सुरु गर्न लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको विकास लक्षित अनुदानको ‘विशेष प्याकेज’ घोषणा गर्ने सम्भावना व्यक्त गरिएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार त्यस्तो घोषणा जनकपुरको सम्पदाको संरक्षण, जनकपुर बृहत्तर आयोजना र रामायण सर्किटमध्ये कुनै एकमा हुनेछ । कुन आयोजनाका लागि प्याकेज घोषणा गर्ने भन्ने अन्तिम गृहकार्य भइरहेको स्रोतको दाबी छ ।

जनकपुरलाई ‘विशेष अनुदान प्याकेज’

‘प्याकेजका सम्बन्धमा भारतले सहमति जनाइसकेको छ तर कुन र कहाँ भन्ने मात्र टुंगो लाग्न बाँकी छ,’ स्रोतले भन्यो । मोदी नयाँदिल्लीबाट विशेष विमानमा पटना ओर्लने र त्यहाँबाट हेलिकप्टरमा सीधै जनकपुर आउने कार्यक्रम छ । जनकपुरमा रहँदा मोदीले जानकी मन्दिरमा पूजाआजा गर्ने र बाह्र बिघा मैदानमा हुने नागरिक अभिनन्दन ग्रहण गर्ने कार्यक्रम छ । त्यही अवसरमा ‘विशेष प्याकेज’ घोषणा हुन सक्ने स्रोतले जनायो ।

प्याकेजबारे भारतीय पक्षले प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ । भारतीय र नेपाली पक्षबीच त्यसलाई अन्तिम रूप दिन गृहकार्य भइरहेको प्रधानमन्त्री निकट स्रोतको दाबी छ । यसबारे राजधानी जनकपुर रहेको २ नम्बर प्रदेश सरकारका केही सीमित सदस्यलाई मात्र जानकारी गराइएको छ ।

यसअघि भारत भ्रमणका बेलासमेत रामायण सर्किटको प्रवद्र्धन र विकासका लागि प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी मोदीसँग छलफल गरेका थिए । त्यसपछि जनकपुरका लागि सहयोग गर्ने सम्बन्धमा छलफल अगाडि बढेको बताइएको छ । बृहत्तर जनकपुर विकास परिषदका अध्यक्ष शालिग्राम सिंहले पनि विशेषगरी रामायण सर्किटको विकासका लागि भारत सरकारले चासो देखाएको र मोदीको भ्रमणका बेला सहयोग घोषण हुन सक्ने विश्वास व्यक्त गरे । रामायण सर्किटअन्तर्गतका १५ धार्मिक ‘पडाव’ मध्ये ११ वटा नेपालभित्र पर्छन् । ती ११ वटै स्थानमा खानेपानी, आवास, पार्किङ सुविधा निर्माण गर्न सकिए जनकपुर आउने धार्मिक पर्यटकको संख्या १० लाखबाट २५ लाखसम्म पुर्‍याउन सकिने सिंहको दाबी छ । ‘यसबाट नेपाल र भारतबीचको सम्बन्ध सुमधुर बनाउन र नेपालको पर्यटन क्षेत्रलाई ठूलो सघाउ पुर्‍याउने छ,’ सिंहले भने ।

हुुन त १८–१९ साउन, २०७१ मा भारतको प्रधानमन्त्री बनेपछिको पहिलो नेपाल भ्रमणका बेलामा पनि जनकपुरको विकासका लागि भारतले सहयोग गर्ने मोदीले प्रतिबद्धता जनाएका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँगको द्विपक्षीय भेटपछि जारी संयुक्त वक्तव्यमा ‘भारत सरकारले जनकपुर, बराह क्षेत्र तथा लुम्बिनीको विकासमा सहयोग गर्ने’ उल्लेख थियो । तर, नेपालको संविधानप्रति भारतको आपत्ति र नाकाबन्दीलगायतका घटनाक्रमका कारण सहयोगको प्रतिबद्धता कार्यान्वयन हुन सकेन ।

मोदीको नेपाल भ्रमणको कार्यतालिकामा जनकपुर समावेश गरिएको यो पहिलो पटक भने होइन । चार वर्षअघि काठमाडौंमा सम्पन्न १८ औं सार्क सम्मेलनका लागि आउँदा पनि मोदीले मुक्तिनाथ र जनकपुर भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए । तर, अन्तिम समयमा दुवै तीर्थस्थलको भ्रमण रद्द गरिएको थियो ।

प्रकाशित : वैशाख २०, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?