कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोकनामा सर्वेक्षण रोकियो

नापी नहुँदा खोकनासँगै बुङमतीमा पनि पुनर्निर्माण प्रभावित बनेको छ ।
प्रशान्त माली

ललितपुर– — महानगरपालिका र जिल्ला नापी कार्यालयले सर्वेक्षणका लागि खोकनामा थालेको नापीको काम रोकिएको छ । नापी रोकिएसँगै खोकनाका बासिन्दाले समयमै लालपुर्जा नपाउने भएका छन् ।

खोकनामा सर्वेक्षण रोकियो

‘अस्ति २ दिन नक्सांकन भयो । त्यसपछि रोएिको छ,’ खोकनाका ३४ वर्षीय धर्मसागर महर्जनले भने । यसबारे जनप्रतिधि गम्भीर हुनेपर्ने उनी बताउँछन् । ‘५ वर्षअघि पनि सर्वेक्षण भएको थियो, बीचैमा हरायो,’ उनले थपे, ‘यसपटक पहिले जस्तो नहोस् ।’

सरकारले भूकम्प प्रभावित क्षेत्रमा जग्गा दर्ता गरी लालपुर्जा वितरण गर्न जिल्ला–जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ५ सदस्य समिति गठन गरेको थियो । सोहीअनुसार भूकम्पपीडितले लालपुर्जाकै लागि नगरपालिकामा निवेदन दर्ता गराएका थिए । अहिले उनको निवेदन मालपोत कार्यालयमा थन्किएको छ । ‘वडा कार्यालयमा यसबारे पटकपटक ध्यानाकर्षण गराएँ, तर कसैले चासो देखाएन,’ स्थानीय सिद्धिबहादुर महर्जनले भने ।

नापी नहुँदा खोकनासँगै बुङमतीमा पनि पुनर्निर्माण प्रभावित बनेको छ । समयमा नापी नभए पछि समस्या बल्झँदै जाने स्थानीय बताउँछन् । लालपुर्जा नहुँदा खोकनामा ९ सय ४४ र बुङमतीमा ८ सय ७५ घरधुरीको पुनर्निर्माण रोकिएको छ । प्रमुख जिल्ला अधिकारी महादेव पन्थीले लालपुर्जा वितरण भइरहेको दाबी गरे । ‘अहिले टीकाथली, इमाडोल, सानोगाउँ र दक्षिण ललितपुरको केही गाउँमा वितरण भइरहेको छ,’ उनले भने, ‘क्रमश: खोकना र बुङमतीमा पनि वितरण गर्छौं ।’

मालपोत कार्यालय प्रमुख भीमप्रसाद गौतमले लालपुर्जा वितरण गर्न बैठक बोलाउने तयारीमा रहेको बताए । ‘सीडीओ साब व्यस्त हुँदा बैठक बस्न सकेको थिएन,’ उनले भने । अन्य बस्तीमा सर्वेक्षण भइरहेकाले खोकनाको फिल्डको काम रोकिएको नापी अधिकृत नवलकिशोर राय बताउँछन् । ‘आन्तरिक काम पूरा भइसकेको छ,’ उनले भने ।

ललितपुर महानगरपालिका २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले नापी कसरी पुन: सुचारु गर्ने भन्नेमा सरोकारवाला निकायबीच छलफल भइरहेको बताए । ‘खोकनामा नापी टोलीको छुट्टै कार्यालय व्यवस्थापन गर्ने तयारीमा छौं,’ उनले भने । खोकनामा १ हजार ६ सय ६२ घरधुरी छन् । जसमध्ये ८ सय ३७ घरमा पूर्ण क्षति पुगेको थियो ।

जिल्ला मालपोत कार्यालयमा भूकम्पपछि लालपुर्जाका लागि इमाडोल, सानागाउँ, झरुवारासी, लेले, विष्टछाप, प्युटार, इकुडोल र घुसेलबाट एक ३१ जनाले निवेदन दिएका थिए । माल्टा, धापाखेल र भट्टेडाँडाबाट ५, लामाटार, टीकाथली, गोदामचौर, बडिखेलबाट ५ सय र डुकुछाप, चौघरे, सैंबु, लुभु, भारदेउ र आश्राङबाट ३३ जनाले निवेदन दर्ता गराएका थिए । लालपुर्जा वितरण गर्न गठित समितिको सदस्य सचिवमा मालपोत कार्यालयका प्रमुख, सदस्यहरूमा जिल्ला समन्वय अधिकारी, जिल्ला वन कार्यालय र नापी कार्यालय प्रमुख रहने व्यवस्था छ ।

प्रकाशित : वैशाख २०, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?