कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रेमलाई छुटाउन ७० लाख संकलन 

होम कार्की

काठमाडौँ — साउदी अरबको मालिस जेलमा थुनिएका ३१ वर्षीय प्रेमबहादुर राईलाई छुटाउन ७० लाख रुपैयाँ संकलन भएको छ । यसअघि ४० लाख रुपैयाँ जम्मा भएको र बिहीबार इन्द्रेणी समूहले उठाएको ३० लाख जम्मा भएको प्रेम बचाउ अभियानले जनाएको छ ।

प्रेमलाई छुटाउन ७० लाख संकलन 

अभियानका अनुसार उनको जरिवाना भुक्तान गर्नका लागि अझै २४ लाख रुपैयाँ जुटाउन बाँकी छ ।


साउदी अदालतले उनलाई ३ लाख १० हजार रियाल जरिवाना तोकेको छ । देश–विदेशबाट संकलित ३० लाख रुपैयाँ इन्द्रेणी समूहले प्रधानमन्त्री केपी ओलीमार्फत पीडितको परिवारलाई हस्तान्तरण गरेको हो । प्रेमले दुई महिना जेल र ५० कोर्रा भुक्तान गरिसकेका छन् ।


सन् २०१२ देखि साउदीस्थित अल सल्वावी इन्टरनेसनल होल्डिङ कन्स्ट्रक्टिङ कम्पनीमा चालकको काम गर्दै आएका प्रेमले चलाएको गाडी २०१६ मार्च ३१ मा हराएको थियो । गाडीमा तामाको तार लोड गरिएको थियो । राजधानी रियादको जनद्रियामा सडकमा गाडी रोकी प्रेम साथीको कोठामा खाना खान गएका थिए । फर्केर आउँदा गाडी सडकबाटै चोरी भएको थियो । ‘सडक छेउमा राखेर साथीको कोठामा खाना खाएर फर्किंदा गाडी देखिनँ । नदेख्नेबित्तिकै कम्पनीका म्यानेजर र प्रहरीलाई खबर गरें,’ प्रेमले अदालतसमक्ष बयानमा भनेका छन्, ‘म पूर्ण रूपमा निर्दोष छु ।’ हराएको दुई दिनपछि अगाडिको सिसा फोरेको अवस्थामा रित्तो ट्रक जनद्रियाबाट १० किमि टाढा भेटिएको थियो । कम्पनीले निर्देशन दिइएको बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै चालक दोषी रहेको दाबीसहित अदालतमा क्षतिपूर्ति मुद्दा दिएको थियो । सार्वजनिक अदालतले चालकले सामानको मूल्य तिर्नुपर्ने फैसला गरेको थियो ।


घटना शंकास्पद रहेको भन्दै बिमा कम्पनीले सामानको क्षतिपूर्ति दिन इन्कार गरेको छ । कम्पनीले ८ लाख रियाल बराबरको बिमा गरेको थियो । नेपाली दूतावासले प्रेमको मुद्दालाई पुनरावेदन अदालतमा पुनरावेदन गरेको जानकारी दिएको छ । ‘दूतावासले कम्पनी मालिक मोहम्मद सल्वाईसँग कुरा गरेको थियो । मालिक तीन लाख रियाल दिनुपर्छ भन्ने अडानमा छन्,’ नेपाली दूतावासका प्रथम सचिव विजयकुमार राउतले भने, ‘हामी प्रहरी स्टेसन पनि गयौं । प्रेमलाई पनि भेटेर विस्तृत जानकारी लिने काम भयो । पुनरावेदन अदालतबाट फैसला आइसकेको छैन ।’


प्रेमकी पत्नी सरिताले माथिल्लो अदालतमा वकिल राखेर बहस गर्न नसकिएको बताइन् । ‘श्रीमान्ले वकिल राख्दा एउटा बहसको ८ हजार रियाल तिर्नुपर्छ भन्नुभएको छ,’ उनले भनिन्, ‘सरकारले नै वकिल राखिदिए हुन्थ्यो । मेरो अरू केही आधार छैन ।’

प्रकाशित : वैशाख २१, २०७५ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?