कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वप्रधानमन्त्रीहरूले भने- ‘वाम एकता चाँडै’

काठमाडौँ — एमाले र माओवादीबाट प्रधानमन्त्री भइसकेका तीन नेताले दुई पार्टीबीच चाँडै एकता हुने बताएका छन् । एकताको काम अन्तिम अवस्थामा पुगेकाले चाँडै त्यसले मूर्तरूप लिने उनीहरूको भनाइ छ । कार्ल मार्क्स जन्म द्वि–शतवार्षिकी समारोहलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै उनीहरूले एकता अनिवार्य भएकाले यसलाई छिटो टुंग्याइने दाबी गरे ।

पूर्वप्रधानमन्त्रीहरूले भने- ‘वाम एकता चाँडै’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टीबीचको एकता नभए मुलुक पुन: अस्थिरताको राजनीतिक भुमरीमा फस्ने भएकाले छिटो एकता प्रक्रिया टुंग्याउन लागेको बताएका छन् । कपितय बुद्धिजीवी र विदेशीका अनुमानलाई गलत साबित गर्दै दुई दल छिट्टै एक बन्ने उनले दाबी गरे । दाहालले केही दिनभित्रै पार्टी एकताको विषयमा स्पष्ट धारणा बाहिर आउने बताए । एकतासम्बन्धी विवाद अन्त्य गर्न केही दिनयता प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र दाहालबीच निरन्तर छलफल चलिरहेको छ । छलफल करिब सहमतिनिकट पुगेको छ ।


अध्यक्ष दाहालले एकतापछि कम्युनिस्ट पार्टी झन् शक्तिशाली हुने र समृद्धिको दिशामा सफलता हासिल गर्ने बताए । तर दुई पार्टी एक हुने भएकाले अब फरकफरक मनोविज्ञान बोकेर बस्न नहुने दाहालको भनाइ थियो । ‘अब पार्टी नै एकता हुने भएपछि पुरानो आग्रह पूर्वाग्रहमा बस्नु हँुदैन रूपान्तरण हुन आवश्यक छ,’ उनले भने । एमाले र माओवादीबीच एकता भएपछि अन्य स–साना कम्युनिस्ट घटक पनि मिल्न आउने दाहालको दाबी थियो ।


कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले पनि पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए । मुलुकमा समाजवादको आधारशिला खडा गर्न एकता अनिवार्य रहेको र त्यो कामले अब पूर्णता पाउन लागेको खनालको भनाइ थियो । एमालेका अर्का वरिष्ठ नेता माधव नेपालले पनि पार्टीहरूबीच एकतामा कुनै अन्तरविरोध नरहेकाले चाँडै त्यसले पूर्णता पाउने बताए । नेपाललाई शान्तिपूर्ण रूपमा रूपान्तरण र समृद्धिका लागि पनि एकता अनिवार्य रहेको उनले उल्लेख गरे ।


कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतम, उपमहासचिव घनश्याम भुसालले कम्युनिस्ट एकता अनिवार्य भएको धारणा राखे । नेता भुसालले माक्र्सवाद, समाजवाद, लोकतन्त्र र समृद्धि लगायतका विषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए । माक्र्स जन्मेको २ सयौं वर्ष पुगेको अवसरमा माक्र्सवादी दर्शनको प्रवद्र्धन गर्ने प्रयोजनका लागि नेता भुसालको संयोजकत्वमा गत वर्ष नै समिति बनेको थियो । उक्त समितिले शुक्रबार र शनिबार दुईदिने गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा एमाले, माओवादीलगायत माक्र्सवादी विचाराधारामा विश्वास गर्ने दलका नेता, कार्यकर्ता र शुभेच्छुक सहभागी छन् । मे ५ मा मार्क्स जन्मेको २ सय वर्ष पुग्दै छ । यस अवसरमा एमाले केन्द्रीय समितिकै तर्फबाट राजधानीको गौशालामा अर्को छुट्टै कार्यक्रम गरिंदै छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी ओलीलगायत एमालेका वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रकाशित : वैशाख २१, २०७५ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?