बझाङमा फेरि बाढी ३ जनाको मृत्यु , २ बेपत्ता 

४ घर पुरिए, ९ वाख्रा मरे 
जयपृथ्वी राजमार्ग अवरुद्ध
बसन्तप्रताप सिंह

बझाङ — शनिबार राति परेको असिना–पानीसँगै बझाङमा फेरि बाढी आएको छ । बाढी र असिनाले जिल्लाका विभिन्न ठाँउमा ठुलो धनजनको क्षति पुऱ्याएको छ । बाढीमा परेर ३ जनाले ज्यान गुमाएका छन् । २ जना बेपत्ता छन् । 

बझाङमा फेरि बाढी ३ जनाको मृत्यु , २ बेपत्ता 

शनिबार राति स्थानीय ढोड्या खेत बजारबाट घर फर्कने क्रममा गुहे खोलामा आएको बाढीले बगाउँदा थलारा गाउँपालिका–४ का एकै परिवारका २ सहित ३ जनाको मृत्यू भएको छ भने २ बालबालिका बेपत्ता छन् ।


मृत्यु हुनेमा थलारा गाउँपालिका–४ का २८ वर्षीय हर्क विक, उनकी श्रीमती २५ वर्षीया डल्लीदेवी विक र उनीहरुसँगै रहेकी सोही गाउँकी ३५ वर्षीया कलसा विकको बाढीले बगाएर मृत्यु भएको छ । हर्कका ३ वर्षीय छोरा सक्षम र ६ वर्षकी छोरी मनिसा बेपत्ता छन् ।


उक्त घटना राति ९/१० बजेतिर भएपनि आइतबार बिहान ९ बजेतिर शव फेला परेपछि मात्रै थाहा भएको हो । केही दिन अघि ससुराली गएका हर्क विकको परिवार घर फर्कने क्रममा बाढीमा परेको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए ।


अहिले इलाका प्रहरी चौकी थलाराको टोली र गाउँपालिका अध्यक्षसहितका जनप्रतनिधि घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


यस्तै, असिना पानी संगै आएको बाढीले केदारस्यूँ गाँउपालिकाको सुडीखोलामा २ घर बगाएको छ । घरभित्र भएको धनमाल र ९ वटा बाख्रा मरेका छन् ।


असिनाले छविसपाथिभेरा र दुर्गाथली गाउँपालिकामा ५ सय रोपनीमा लगाएको आलु खेती नष्ट गरेको छविसपाथिभेरा गाउँपालिकाका कृषि प्राविधिक धनसेर बुढाले जानकारी दिएका छन् । शनिबार रातिको बाढीका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति भए पनि एकिन विवरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन् ।


यसअघि बैशाख १९ गते आएको असिना र बाढीले ठुलो धनजनको क्षती भएको थियो भने बाढीले जिप बगाउँदा तीन जनाले ज्यान गुमाएका थिए ।

जयपृथ्वी राजमार्ग अवरुद्ध

असिना पानीसंगै आएको बाढीले जयपृथ्वी राजमार्ग अन्र्तगत पर्ने केदारस्यूँ गाँउपालिकाको सुडिखोला खण्डमा माटो थुप्रिए पछि शनिबार रातिदेखि नै यातायात बन्द भएको छ । सडक अवरुद्ध हुँदा बझाङबाट बाहिर जाने र भित्रिने सवारी साधनहरु रोकिएका छन् । दर्जनौं गाडी र सयौं यात्रु सुडिखोलामा अलपत्र रहेको एक यात्रु उत्तम थापाले जानकारी दिएका छन् ।

प्रकाशित : वैशाख २३, २०७५ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?