गोली हानी युवककाे हत्या

भरत जर्घामगर

सिरहा — मोटरसाइकलमा आएका हतियारधारी समूहको गोली प्रहारबाट आइतबार राति सिरहाको बुढिया चापमा एक युवकको मृत्यु भएको छ ।

गोली हानी युवककाे हत्या

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मोटरसाइकलमा आएका हतियारधारी समूहको गोली प्रहारबाट सिरहा अर्नामा–१ का २२ वर्षीय धर्मेन्द्रकुमार सिंहको मृत्यु भएको हो । दाहिने छातीमा गोली लागेका सिंहको लहानस्थित राउ स्मारक अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो ।

प्रहरीका अनुसार ना १३ प ६३२३ नम्बरको रातो मोटरसाइकलमा आएका हतियारधारी समूहले राति सवा ११ बजे धमेन्द्रलाई अर्नामा–१ स्थित बुढिया चापमा गोली प्रहार गरेका थिए । प्रहरी नायव उपरीक्षक राजन भेटवालका अनुसार गोली प्रहार गरी फरार भएका सिरहा औरही गाउँपालिका–१ का २५ वर्षीय सन्तोषकुमार सिंह र विजयकुमार कामतलाई राति नै घटनामा प्रयोग भएको मोटरसाइकल, २ थान कटुवा पेस्तोल, ४ थान इन्सासको गोली र १ थान मार्का थ्रीको गोलीसहित पक्राउ गरेको छ ।


प्रहरी टोलीले पेस्तोल र गोली खेतमा परालको थुप्रोमा लुकाई राखेको अवस्थामा बरामद गरेको थियो । ‘घटना हुनासाथ तत्काल प्रहरी परिचालन गरी घटनामा संलग्नलाई पक्राउ गर्न सफल भयौं,’ जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक राजन भेटवालले भने, ‘घटना र पक्राउ परेकाबारे थप अनुसन्धान भइरहेको छ ।’

प्रकाशित : वैशाख २४, २०७५ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?