१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारी गर्ने सम्झौतामा हस्ताक्षर हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

जनकपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणका क्रममा जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारी गर्ने सम्झौतामा हस्ताक्षर हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।उनले बैशाख २८ गतेदेखि नेपालको राजकीय भ्रमण गर्दै छन् ।  

जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारी गर्ने सम्झौतामा हस्ताक्षर हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

‘प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा भएका केही घोषणाहरु छन्,’ मन्त्री ज्ञवालीले भने, ‘ती घोषणालाई समझदारी र सम्झौतामा रुपान्तरण गरिनेछ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको चैत अन्तिम साता गरेको भारत भ्रमणका क्रममा भारतीय समकक्षीसंगको संयुक्त पत्रकार सम्मेलनमा रेलमार्ग, जलमार्ग र कृषिमा साझेदारी घोषणा गरिएको थियो ।


भारतबाट सिधैं जनकपुर अवतरण गर्ने मोदी काठमाडौं फर्किएपछि दुबै देशका प्रधानमन्त्रीले नेतृत्व गरेको प्रतिनिधि मण्डलबीच औपचारिक वार्ता हुनेछ । ‘वार्तामा अस्ति भर्खर प्रधानमन्त्री ओलीले भारत भ्रमणको क्रममा भएका घोषणालाई सम्झौतामा रुपान्तरित गरिनेछ,’ परराष्ट्रमन्त्री ज्ञवालीले सञ्चारकर्मीहरुसित कुरा गर्दै भने, ‘वार्तामा विगतमा भएका सहमतिहरुको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिइनेछ ।’


चैत २३ गते भारतको तीन दिवसीय राजकीय भ्रमण गरेका प्रधानमन्त्री ओली र उनका समकक्षी भारतीय प्रधानमन्त्री मोदीबीच जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारी गर्ने महत्वपूर्ण समझदारी भएको थियो । रक्सौल–काठमाण्डौं जोड्ने रेलमार्ग विस्तारमा सहमति भएपनि दुबै देशबीच हस्ताक्षर हुन बाँकी छ । परराष्ट्रमन्त्री ज्ञवालीले मोदी नेपाल भ्रमणका आएकै दिन काठमाडौंमा तीनवटै सहमति भएका योजनामा हस्ताक्षर हुने बताए ।


‘भ्रमणलाई ऐतिहासिक र सफल बनाउन तथा दुई देशबीचको सम्बन्धलाई उचाईमा पुर्‍याउन केही ठोस सम्झदारीहरुमा हस्ताक्षर हुनेछ,’ मन्त्री ज्ञवालीले भने, ‘मोदीजीको भ्रमणको क्रममा जनकपुरको विकाससंग जोडिएको योजनामा पनि दुबै देशबीच सम्झदारी हुनेछ । हामीले त्यसको गृहकार्य गरिरहेका छौं ।’


जनकपुरलाई अयोध्यासंग जोड्ने रामायण सर्किटको भने जनकपुरमै दुबै देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने छन् । रामायण सर्किटको उद्घाटन गर्न प्रधानमन्त्री ओली पनि भारतीय प्रधानमन्त्री मोदी जनकपुर अवतरण गर्ने समयमै यहाँ आइपुग्ने कार्यक्रम छ । जानकी मन्दिर परिसरमा दुबै देशका प्रधानमन्त्रीले रामायण सर्किटको उद्घाटन गर्ने मन्त्री ज्ञवालीले जानकारी दिए । रामायण सर्किटसंगै जोडिएको जनकपुर–अयोध्या बस सेवाको पनि दुबै प्रधानमन्त्रीले हरियो झन्डा देखाएर शुभारम्भ गर्नेछन् ।

प्रकाशित : वैशाख २४, २०७५ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?