झन् बिग्रियो बीपी राजमार्ग

राजकुमार कार्की

सिन्धुली — अधिक भारका सवारीको चापले बीपी राजमार्ग झन् जीर्ण हुँदै गएको छ । बनेपा–बर्दिवास सडक खण्डअन्तर्गत सिन्धुलीका विभिन्न स्थानमा खाल्डैखाल्डा छन् । ६ महिनाअघि टालटुल पारिएको सडक अहिले भत्केर उस्तै भइसकेको छ ।

झन् बिग्रियो बीपी राजमार्ग

समयमै मर्मतसम्भार नहुँदा राजमार्गको भविष्य नै खतरामा पर्न लागेको भन्दै स्थानीय चिन्तित छन् । राजमार्गको दोस्रो खण्डअन्तर्गत कमलामाई नगरपालिकाको चियाबारी र पीपलभन्ज्याङबीचका घुम्ती खाल्डाकै कारण छिचोल्न मुस्किल पर्ने गरेको सवारी चालक बताउँछन् । त्यहाँ मात्र होइन, अन्यत्र पनि ठूल्ठूला खाल्डा देखिन्छन् ।


भूकम्पपछि भत्किएका र अन्य खण्डमा ठूला खाल्डाले दुर्घटना बढ्न थालेपछि सामान्य टालटुल गरिएको थियो । ‘सवारी व्यवस्थापन र समयमा उचित मर्मतसम्भार नभएकाले दुर्घटना अझ बढ्ने निश्चित छ,’ सञ्चारकर्मी कृष्णहरि घिमिरेले भने, ‘सवारी चाप बढदो छ, सडक साँघुरो र खाल्डा भएकाले जोखिम थपिएको छ ।’ उनी आफैं पनि तीन महिनाअघि कमलामाई नगरपालिकाको करकरेमा दुर्घटनामा परेका थिए ।


भूकम्पले भत्किएको चियाबारी र पीपलभन्ज्याङबीचको घुम्ती विशेष ध्यान दिएर मर्मतसम्भार गर्नुपर्नेमा आँखामा छारो हालेझैं काम गरिएको छ । उक्त घुम्तीको निर्माणकार्य तीन महिना पनि टिकेन । दुईपटक मर्मत गरिँदा पनि भत्किसकेकाले उक्त स्थानमा गुणस्तरहीन काम भएको प्रस्टिने घिमिरेले बताए । जापान सरकारले हस्तान्तरण गरेपछि उक्त सडक मर्मतसम्भारको जिम्मा सडक आयोजनाले लिएको छ ।


खाल्डाकै कारण यात्रुसमेत हैरान हुन्छन् । सिंगल लेनको सडकमा खाल्डैखाल्डा भएकाले मोटरसाइकलमा यात्रा गर्नसमेत कठिन हुने गरेको स्थानीय पुष्कर थापाले बताए । ‘पूर्वी तराईलाई राजधानीसँग जोड्ने छोटो दूरीको मार्ग भएकाले सवारी चाप निकै छ । मर्मतसम्भार पनि गुणस्तरहीन हुने भएकाले टिक्दै टिक्दैन,’ उनले भने ।


राजमार्गसँग जोडेर भवन निर्माण गर्ने क्रममा घडेरी खार्दा एक्साभेटर, जोसीभीलगायत ठूला उपकरण चलाइएकाले आसपासमा समेत खाल्डैखाल्डा छन् । समयमै सडक मर्मत नगरिए यहाँका पर्यटकीय संरचनाको अस्तित्वसमेत गुम्न सक्ने स्थानीय बासिन्दाको भनाइ छ । पीपलभन्ज्याङ, ढुङ्ग्रेभन्ज्याङ, खुर्कोट, बारा, झाँगाझोली रातमाटा, नेपालथोकमा बढी खाल्डा छन् ।


नेपालथोकदेखि धुलिखेलसम्म ठूला ट्रिपरले सडक भत्काएका छन् । ‘साँघुरो र घुमाउरो राजमार्गको यात्रा जति रोमाञ्चक छ, खाल्डाले उत्तिकै समस्या निम्त्याएको छ,’ यात्रु सन्तोष कार्कीले भने ।


सडक अझै भत्किए राज्यलाई ठूलो भार पर्ने गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीको भनाइ छ । ‘भार नियन्त्रण र समयमै मर्मत गरे मात्र राजमार्ग टिक्ने भएकाले स्थानीय तह र सडक आयोजनाले मिलेर काम गर्नुपर्छ,’ उनले भने ।


यही राजमार्गअन्तर्गत ऐतिहासिक सिन्धुलीगढी पनि पर्छ । गढी अवलोकन गर्न र राजमार्गको सुन्दरता हेर्नकै लागि विभिन्न स्थानबाट पर्यटक आउने गरेका छन् । उक्त सडक जापान सरकारको २२ अर्ब लगानीमा निर्माण सम्पन्न भएको हो । पछिल्लो समय सुनकोसीआसपास क्रसर उद्योग खुल्ने क्रमसँगै राजमार्गमा बाक्लै ट्रिपर गुड्ने गरेका छन् । सरकारले बीपी राजमार्गमा ठूला बस र ट्रकलाई अनुमति नदिए पनि ती ट्रिपर नियन्त्रण गर्न सकिएका छैनन् ।

प्रकाशित : वैशाख २६, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?