हचुवामा काष्ठमण्डपको नक्सा

ध्यान नपुगेको अमूर्त संस्कृति
दामोदर न्यौपाने

काठमाडौँ — काष्ठमण्डमा माघे संक्रान्तिको दिन एउटा विशेष जात्रा लाग्छ । सा: गुठीले आयोजना गर्ने उक्त जात्राको काठमाडौंको उत्तरतिर छानोमा ध्वजा फहराउनुपर्छ ।

हचुवामा काष्ठमण्डपको नक्सा

त्यो ध्वजा फहराउन काष्ठमण्डपको तेस्रो तलाबाट माथि छिर्ने प्वाल हुन्छ । भर्‍याङ लगाएर त्यहाँ जानुपर्छ । पुरातत्त्व विभागले बनाएको नक्सामा छानामा जाने यो प्वालै छैन । ‘यो नक्सा हेर्दा काष्ठमण्डपको अमूर्त संस्कृतिमा ध्यान दिइएको छैन भन्ने प्रस्ट हुन्छ,’ सम्पदा अभियन्ता तथा काष्ठमण्डप पुनर्निर्माण अभियानका सदस्य आलकसिद्धि तुलाधर भन्छन् ।


‘पुरातत्त्व विभागले महानगरलाई उपलब्ध गराएको नक्सा हचुवामा बनाएको पुष्टि हुन्छ,’ उनले भने । काष्ठमण्डपमा सा: गुठी र त:चट गरेर दुई गुठी छन् । सा: गुठीको उद्देश्य गाईलाई खाने कुरा दान दिनु हो । यो गुठीले हरेक वर्ष एउटा गाईलाई वर्षदिनभरि पुग्ने खानेकुरा दान दिन्छ । खानेकुरा दान दिन पहिला कीर्तिपुरबाट गाई ल्याउने चलन थियो । ‘गाई ल्याउँथे,’ तुलाधर भन्छन्, ‘अनि त्यसलाई पुग्ने खानेकुरा लिएर गाईसहित फिर्ता जान्थे । यो चलन अचेल हराएको छ ।’


गुठियारले यतै कतै भेटिएका गाईलाई खुवाउँछन् अचेल । ‘काष्ठमण्डपसँग जोडिएको यो अनुपम संस्कृति हो,’ उनी भन्छन्, ‘यो संस्कृतिलाई वास्तै नगरी हचुवामा नक्सा बनाइएको छ,’ उनले थपे । माघे संक्रान्तिको दिनमा यस्तो दान दिइन्छ । गाईलाई दान दिनुबाहेक यही दिन यहाँ होम पनि गरिन्छ । होम गर्ने व्यवस्था पनि सा: गुठीले नै गर्छ । काष्ठमण्डपसँगैको मरु दबुमा होम हालिन्छ । सरकारी पुरोहित ल्याएर होम हाल्ने कामको खर्चको व्यवस्थापन यही गुठीले गर्छ । यो गुठी व्यवस्थापन महर्जन समुदायले गर्छ ।


यहाँ २ किसिमका पुजारीले पूजा गर्छन् । एकथरी पूजा सरकारी पुजारीले गर्छन्, अर्काथरी पूजा राजोपाध्यायहरूले गर्छन् । यो पूजाको मुख्य उद्देश्य काष्ठमण्डपको गजुरमा ध्वजा चढाउनु हो । ध्वजा चढाउने कार्यक्रमको व्यवस्थापन पहिला मानन्धर समुदायले गर्थे । ध्वजा चढाउन मानन्धर समुदाय नगएपछि यो काम पनि महर्जन समुदायले नै गर्छन् । गुठीको आयस्रोत छैन । भोज खुवाउनुपर्छ । आफैं पैसा उठाएर गुठी धानिएको छ ।


त:चटँ गुठीको कामचाहिं पञ्चदानको बेलामा दान माग्दै आउने भिक्षुलाई खीर खुवाउनु हो । नेपाल भाषामा त: भनेको ठूलो र चटँ भनेको पन्यू हो । काष्ठमण्डपसँगै पश्चिमतिरको पिगँननी (नेपाल भाषामा पिगँ भनेको शक्तिपीठ र ननी भनेको चोक हुन्छ) को योगम्बर देवीको पीठ छेउको चोकमा पञ्चदानमा ठूलो भाँडोमा खीर बनाउने गरिन्छ । पञ्चदानको अघिल्लो दिनदेखि नै खुवाउने तयारी गरिन्छ । काष्ठमण्डपमा पूजाआजासहित खुवाउने चलन छ ।


यो व्यवस्थापन गर्ने त:चटँ गुठी ताम्राकार परिवारले गर्दै आएका छन् । यो गुठी काष्ठमण्डपको स्थापना भएदेखि नै चालू रहेको तुलाधर बताउँछन् । आयस्रोत नहुँदा पनि आफ्नो काम छाडेका छैनन्,’ तुलाधर भन्छन्, ‘यति आत्मीय नाता भएको सम्पदा पुनर्निर्माणमा यो समुदायको ठूलो चासो छ ।’ काष्ठमण्डप बज्रयानी दर्शनमा बनेकाले यहाँका बज्राचार्यहरूको पनि विशेष चासो छ । केही छैन (मरु) दर्शनमा बनेको काष्ठमण्डपमा अहिले केही पनि छैन ।


वरपरका अरू मन्दिर, देवल, सत्तल, दरबार भुइँचालो क्षति गराए पनि कम्तीमा ढडिएका छन् । काष्ठमण्डपको भने केही अस्तित्व छैन । पूरै पातालमा परिणत भएको छ । सम्पदा संरक्षणको जिम्मेवारी पाएको पुरातत्त्व विभागले काष्ठमण्डपको नापनक्सासमेत राखेको रहेनछ । एकजना जर्मन यात्रीले सन् १९७६ मा जर्मनीको आर्किटेक्ट उल्फज्ञान कर्नले लिएको नामको आधारमा पुरातत्त्वले डिजाइन गरेको थियो । ‘धन्न जर्मन नागरिकले आएर नापिदिएछन्,’ तुलाधर भन्छन्, ‘नत्र काष्ठमण्डपको नापै नहुने रहेछ । कस्तो लाजमर्दाे ।’


उल्फज्ञानले भुइँचालो आएपछि यहीं आएर काष्ठमण्डपको नाप दिएका थिए । उनले हनुमानढोका दरबारमा ‘प्रेजन्टेसन’ नै दिएका थिए । यो सत्तल बज्रयानी दर्शनअनुसार बनेको हो । यो दर्शनअनुसार यसको लम्बाइ ३६ हात छ । चौडाइ पनि ३६ हात छ । उचाइ पनि ३६ हात नै छ । बज्रयानी दर्शनमा ३६ अंकको अर्थ छ । ३६ को अर्थ हरके देवनागरी लिपिको पहिलो अक्षरको आधारमा राखिएको हो । बज्रयानी दर्शनमा क देखि ज्ञ सम्मको बेग्लाबेग्लै अर्थ भएको तुलाधर बताउँछन् ।


यही बज्रयानी दर्शनअनुसारको नाप बेलायती नागरिक उल्फज्ञानको नापसँग मिलेको छ । १ हातको ३ गुना २८ एमएम हुन्छ । त्यसलाई ३६ ले गुणन गर्दा नाप मिलेको तुलाधर बताउँछन् । ‘काष्ठमण्डपमा गणित पनि मिल्यो । धार्मिक सिद्धान्त पनि मिलेको छ,’ उनी भन्छन्, ‘यो गणितको सिद्धान्त मिल्नुपर्छ । धार्मिक सिद्धान्त पनि मिल्नुपर्छ अब बन्ने काष्ठमण्डपमा ।’ उनको नापअनुसार पुरातत्त्व विभागले यसको नक्सा दुई पटक बनाइसकेको छ ।


‘यसको कुनै नापसमेत पुरातत्त्व विभागले लिएको रहेनछ,’ तुलाधर भन्छन्, । काष्ठमण्डप पुनर्निर्माणमा लामो समयदेखि विवादले गर्दा यसले गति लिएन । गत साता काष्ठमण्डप पुनर्निर्माण गर्न प्रदेश नं ३ का सांसद राजेश शाक्यको संयोजकत्वमा अर्काे समिती बनेको छ । यस अघि पनि काष्ठमण्डप पुननिर्माणका लागि अभियान नामम अर्काे संस्था बनेको थियो ।


अभियानलाई काष्ठमण्डप पुननिर्माणको जिम्मा समेत दिइएको थियो ।


काठमाडौं महानगरपालिका, पुरात्त्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबीच चार पक्षीय सम्झौता गरेर पुनर्निर्माणको जिम्मा समुदायलाई दिइएको थियो । महानगरमा विद्यासुन्दर शाक्य मेयर निर्वाचित भएपछि समुदायलाई काम गर्न दिइएको थियो । फेरि यसको निर्माण गर्न राजेश शाक्यको संयोजकत्वमा समिति बनेको हो । समितिले पदको बाँडफाँडसमेत विभाजन गरेको छ । ‘हामी समुदायको स्वामित्व महसुस गर्नेगरी सबैलाई समेटेर काम अघि बढाउँछौं,’ शाक्य भन्छन् ।


भुइँचालो गएयता दैनिक पूजा रोकिएको छ । नारायण, गोरखनाथ, गणेशको पूजा हुन्थ्यो यहाँ । काष्ठमण्डपको चार कुनामा गणेश मूर्ति थिए । भुइँचालो आएपछि काष्ठमण्डप पाताल बन्यो । त्यहाँ रहेका मूर्ति पुरिए । ‘ती सब कहाँ छन् थाहा छैन,’ स्थानीयवासी अमृतमान बज्राचार्य भन्छन््, ‘मूर्ति नै नभएपछि कहाँ पूजा गर्नुु ?’ बेलाबेला सत्यनारायणको कथा वाचन हुन्थ्यो । त्यो पनि रोकियो । स्वस्थानी ब्रतकथा सुनाइन्थ्यो । तिहारमा भाइटीका लगाउनेको त घुइँचो नै लाग्थ्यो ।


‘बेलाबेला सामाजिक कार्यक्रम भइरहन्थ्यो,’ बज्राचार्य भन्छन्, ‘काष्ठमण्डप ढलेपछि रौनकै हरायो ।’ एउटै रूखको काठबाट बनेको यो सत्तलको नामबाट उपत्यकाको नामै काठमाडौं रहन गएको हो । नेपाल भाषा एकेडेमीका प्राज्ञ यज्ञमानपति बज्राचार्यका अनुसार राम्रो जति काठको काष्ठमण्डप बनाइयो । नराम्रो काठ, मुढा, जरा एक ठाउँमा पन्छाइयो । पन्छाएकोलाई नेपाल भाषामा ‘सिखों’ भन्छन् । त्यही पन्छाएको काठबाट विहार बनाइएको रहेछ ।


त्यो विहारको नाम ‘सिंखोमू’ महाविहार राखियो । ‘त्यही भएर काष्ठमण्डप र यो विहारबीच नङ र मासुको जस्तो सम्बन्ध छ,’ बज्राचार्य भन्छन् । वसन्तपुर क्षेत्रको मात्रै नभई उपत्यकाकै पुरानो सम्पदा हो काष्ठमण्डप । । तीनतले यो सत्तल १२ औं शताब्दीमा बनाएको मानिएको थियो । तर भुइँचालोपछि यसको उत्खनन् गर्दा ७ औ शताब्दीमा बनेको पुष्टि भएको थियो । नेपाल संवत् सुरु हुनुभन्दा १३९ वर्ष पहिला बनेको हो । अहिले नेपाल संवत् ११३६ हो ।


नेपाल संवत विक्रम संवत्भन्दा ९३७ वर्षपछि सुरु भएको हो । बज्राचार्यका अनुसार यति बेला यो ठाउँमा बस्ती बसेकै थिएन । पुरानो बस्ती साँखु हो । साँखुबाट कोही पनौती गए । कोही बनेपा गए । कोही भक्तपुर आए । कोही काठमाडौंको विशालनगर आए । विशालनगरमा आगलागी भएपछि अहिलेको वसन्तपुर क्षेत्रतिर बस्ती बढेको बज्राचार्य बताउँछन् । ‘त्यति बेलाको अग्लो घर यही थियो’, बज्राचार्य भन्छन्, ‘उपत्यकाको चारैवटा भञ्ज्याङबाट देखिन्थ्यो काष्ठमण्डप ।’


बज्राचार्यका अनुसार त्यतिबेला नेपाली कागजको विकास भइसकेको थियो । त्यस्तो कागजमा डायरी लेख्ने चलन रहेछ ।


‘त्यति बेला डायरी लेख्ने चलन रहेछ,’ बज्राचार्य भन्छन्, ‘डायरीमा म फलानो ठाउँमा बस्ने, फलानो काम गरें भनेर लेख्दा रहेछन् । त्यही डायरीको आधारमा काष्ठमण्डपको इतिहास पत्ता लागेको हो ।’

प्रकाशित : वैशाख २६, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?