कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कुलतमा फस्दै विदेसिएका युवा

नेपालमा झन्डै दुई लाख लागूऔषध प्रयोगकर्ता रहेको भनिए पनि विदेशमा यस्ता नेपाली कति छन्, तथ्यांक छैन ।
शिल्पा कर्ण

काठमाडौँ — राजधानीमा बसिरहेका उज्ज्वल प्लस टु पास गरेपछि परिवारसँगै अस्ट्रेलिया गए । उनी मेलबर्नमा बस्न थाले, परिवार अर्कै राज्यमा । ८ कक्षा पढदै मदिरा पिउन सिकेका थिए ।

कुलतमा फस्दै विदेसिएका युवा

अस्ट्रेलिया गएपछि झन् स्वतन्त्र भए, मदिरा सेवन बढाउँदै गए । ‘पढाइमा मन गएन, बरु कुनै काम गर्छु भनें,’ बूढानीलकण्ठस्थित एक पुन:स्थापना केन्द्रमा बसिरहेका उनले भने, ‘सार्वजनिक स्थलबाहेक अन्य ठाउँमा मादकपदार्थ खान स्वतन्त्र थिएँ, भेटेजति ड्रग पनि सेवन गर्न थालें ।’


एकदिन घरैमा पार्टी चलिरहेको थियो, उनी चुरोट किन्न बाहिर निस्के । त्यसपछि के भयो, उनलाई याद छैन । अचानक आँखा खुल्दा अस्पतालमा थिए । अत्यधिक ड्रग सेवन गरेर हिँडदा ओभरब्रिजबाट व्यस्त सडकमा खसेर गम्भीर घाइते भएका उनलाई चिकित्सकले बाँच्ने सम्भावना १० प्रतिशत मात्र रहेको भनिदिए । उनको टाउको र करङको हड्डी भाँचिएको थियो ।


सन् २०१२ मा त्यहाँको सरकारले बाँच्ने सम्भावना नरहेको भन्दै नेपाल फर्काइदिएको उनले बताए । नेपाल फर्किएर महिनौं उपचार गराएपछि जसोतसो तंग्रिए तर कुलत छुटेन । काकाले पुन:स्थापना केन्द्र जान सुझाएपछि आफूमा परिवर्तन आएको उनी बताउँछन् । ‘१२ वर्षदेखि लागूपदार्थ सेवन गर्थें, यहाँ आएको ६ महिनामा छाडें,’ उनले भने ।


सी. लावती सन् २००६ देखि बेलायती नागरिक हुन् । बुवा ब्रिटिस आर्मीमा थिए, उनी आमासँग काठमाडौंस्थित मावलमा बस्थे । प्लस टु पढदैदेखि साथीहरूको संगतले रक्सी पिउन थाले । परिवारमा अरू पनि खाने भएकाले रक्सी पिउन उनलाई बन्देज थिएन । तर उनी त्यसैको कुलतमा फस्न थाले ।


सँगसँगै खर्च पनि बढदै गयो । ‘१८ वर्ष पुगेपछि परिवारसँगै बेलायत गएँ । काम गर्न थालें । कमाएको पैसा मादकपदार्थमै सकिइरहेको थियो,’ पुन:स्थापना क्रममा रहेका उनले अनुभव सुनाए, ‘आफैँलाई पनि धेरै भयो भन्ने लाग्थ्यो तर छोड्न सकिरहेको थिइनँ । अन्त्यमा ममीबुवाले नै यहाँ भर्ना गरिदिनुभयो ।’ अहिले उनी रक्सी पिउँदैनन्, पुन:स्थापनाको क्रममा छन् ।


यस्ता थुप्रै युवा कुलतको मारमा छन् । विशेषगरी पश्चिमा मुलुकमा बसाइँ सरेर जाने युवा कुलतमा फस्ने गरेको नार्कोनन नेपालका संस्थापक वसन्तराज कुँवर बताउँछन् । ‘पुन:स्थापना केन्द्रमा आएकाको अनुभव हेर्दा नेपालमा झन्डै ८० प्रतिशतजतिले कक्षा ८ पढदादेखि नै रक्सी वा लागूपदार्थ चाख्ने गरेका छन्, यसले पछि लत नै बस्छ ।’


बूढानीलकण्ठको रिह्याब सेन्टरमा धेरैजसो भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया र हङकङ पुगेका नेपाली छन् । कुलतमा फसेपछि कमाउन गएका वा पढ्ने युवालाई झनै प्रभाव पर्छ । आर्थिक समस्या आइपर्छ, कुलतको उपचार महँगो हुन्छ ।


मनोविद् करुणा कुँवर विदेश गएर कुलतमा फसेका युवामध्ये अधिकांशले नेपालबाटै लागूपदार्थ सेवन गर्ने गरेको बताउँछिन् । ‘मनोपरामर्श दिने क्रममा धेरैजसोले नेपालबाटै लागूपदार्थ खाने गरेको सुनाउँछन्,’ उनले थपिन्, ‘पछि हार्ड ड्रग्सचाहिँ उता गएर लिन थालेको बताउँछन् । धेरैजसोले गाँजाको लतमा फसेका छन् ।’ धेरैले युवावस्थामा विदेश जाँदा गर्नुपर्ने संघर्ष र कठिनाइको तनाव भुल्न लागूपदार्थ लिने गरेको उनले बताइन् ।


नेपालमा झन्डै दुई लाख लागूऔषध प्रयोगकर्ता रहेको भनिए पनि विदेशमा यस्ता नेपाली के–कति छन्, तथ्यांक छैन । गृह मन्त्रालयको तथ्यांकअनुसार देशभरमा लागूऔषध प्रयोगकर्ताका लागि लगभग दुई सय पुन:स्थापना केन्द्र छन्, जसमा उपत्यकामा मात्र सयवटा छन् । तर सबै व्यवस्थित र मापदण्डअनुसार नचलेको गृह मन्त्रालयकै अधिकारीहरू बताउँछन् ।

प्रकाशित : वैशाख २६, २०७५ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?