१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बक्स अफिस साउन १ देखि

फूलमान वल

काठमाडौँ — फिल्म उद्योगको कारोबार पारदर्शी बनाउने बक्स अफिस प्रणाली सरकारले साउन १ देखि लागू गर्ने भएको छ । बक्स अफिस लागू भएपछि निर्माताले आफ्नो आम्दानीको सही हिसाब पाउने छन् भने कारोबार करको दायरामा समेटिनेछ ।

बक्स अफिस साउन १ देखि

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले तयारी अन्तिम चरणमा पुगेको जनाउँदै प्रक्रियामा नआउने फिल्म हललाई कारबाही गरिने बताइन् । ‘असार मसान्तपछि काठमाडौं उपत्यकाका सबै हलमा बक्स अफिस लागू हुनेछ,’ उनले कान्तिपुरसँग भनिन्, ‘प्रक्रियामा नआउने हललाई कानुनअनुसार कारबाही हुन्छ ।’

चलचित्र निर्माण, प्रदर्शन र वितरण ऐन २०२८ को दफा १२ उपदफा १ अनुसार कानुनी प्रक्रियामा नआउनेको इजाजत पत्र प्रमुख जिल्ला अधिकारीले खारेज गर्न सक्ने प्रावधान छ । ‘केही थिएटर (हल) ले आनाकानी गरिरहेका छन्,’ पौडेलले भनिन्, ‘त्यस्तो भयो भने कानुनबमोजिम अघि बढ्नुको विकल्प हुँदैन ।’ नयाँ सरकार गठनपछि सूचना प्रविधि मन्त्रालयले सय दिनको कार्यक्रमअन्तर्गत नै फिल्म हलमा बक्स अफिस प्रणाली लागू गर्ने बुँदा राखेको थियो । त्यहीअनुरूप चलचित्र विकास बोर्ड, नेपाल टेलिकम, सञ्चार मन्त्रालय, राजस्व अनुसन्धान विभाग समेतको विज्ञ प्रतिनिधि राखेर प्राविधिक समिति बनाइएको थियो । पौडेलका अनुसार समितिले अन्तिम चरणको काम गरिरहेको छ । ‘सिंगल हलमा समस्या देखिएन,’ पौडेलले भनिन्, ‘मल्टिप्लेक्सहरूबाट केही आनाकानी भइरहेको थियो, अहिले उहाँहरू पनि आफ्नो प्राविधिक विज्ञ राखेर छलफलमा अघि बढ्ने हुनुभएको छ ।’

फिल्म हलमा बक्स अफिस प्रणाली लागू गर्नुपर्ने, सेयर बाँडफाँट न्यायोचित हुनुपर्ने र राष्ट्रिय फिल्म नीति कार्यान्वयनमा ल्याइनुपर्ने मागसहित फिल्म निर्माताहरू तीन सातादेखि आन्दोलनमा छन् ।

पौडेलका अनुसार साउन १ देखि उपत्यकाका सबै हलमा बक्स अफिस प्रणालीअन्तर्गत कारोबार हुने भए पनि मोफसलका हलका लागि माघसम्मको म्याद दिइएको छ । बक्स अफिस फिल्म हल, निर्माता, वितरक र सरकारी निकायबीचको आम्दानीको पारदर्शी बनाउने सफ्टवेयर प्रणाली हो । कुन हलमा कति दर्शकले फिल्म हेरे र कति आम्दानी भयो भन्ने सबै तथ्यांकलाई सिस्टमले नै अपडेट गर्छ । यसो हुँदा फिल्म हलले निर्मातालाई आम्दानीको गलत रिपोर्ट दिने या कर छल्ने काम हुन पाउँदैन । ‘अहिले त जसले जति करोड कमायो भने पनि भयो,’ उनले भनिन्, ‘करको दायरामा आएपछि सबै पारदर्शी हुन्छ । यसले समग्र नेपाली फिल्म उद्योगको हित गर्छ ।’

फिल्म निर्माताले बक्स अफिस प्रणाली नहुँदा आफूहरू ठगिँदै आएको आवाज उठाउँदै आएका छन् । कारोबार ‘राम्रै’ भए पनि निर्माताले त्यसअनुसार मुनाफा र लगानी उठाउन नपाउँदा फिल्म उद्योग नै धराशायी हुने गरेको छ । सरकारले पनि कर असुली गर्न सकिरहेको छैन । ‘हामी अत्यन्त खुसी छौं, बक्स अफिसले निर्मातालाई मात्र नभई समग्र फिल्म उद्योगकै हित गर्छ,’ चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भने, ‘सरकारलाई हामी हरतरहले सघाउन तयार छौं ।’

प्रकाशित : वैशाख २७, २०७५ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?