कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोसोभोलाई मान्यता नदिन सर्बियाको लबिइङ

चन्द्रशेखर अधिकारी

काठमाडौँ — युरोपेली मुलुक सर्बियाका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इभिका डेसिसले आफ्नो मुलुकबाट सन् २००८ मा स्वघोषित रूपमा छुट्टिएको कोसोभोलाई मान्यता नदिन कूटनीतिक लबिइङ गरेका छन् ।

कोसोभोलाई मान्यता नदिन सर्बियाको लबिइङ

नेपालको तीनदिने औपचारिक भ्रमणक्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतसँग भेटी कोसोभोका सम्बन्धमा नेपालको अडान निरन्तर राख्न आग्रह गरेको स्रोतले जनाएको छ । डेसिस आइतबार स्वदेश फर्किसकेका छन् ।

नेपालले पुरानो मित्रका रूपमा सर्बियालाई समर्थन गर्दै आएको छ तर कोसोभोलाई मान्यता दिएको छैन । विभिन्न कूटनीतिक दबाबका बाबजुद नेपालले कोसोभोलगायत विभाजनबाट बनेका मुलुकको विरोध जनाएको छ । त्यही अडान कायम राख्न आग्रह गर्ने उद्देश्यले सर्बियाका उपप्रधानमन्त्रीस्तरको भ्रमण भएको हो । सर्बियाले नेपालमा कूटनीतिक लबिइङका लागि यस्तो भ्रमण गरेको यस क्षेत्रमा आबद्धहरूले जनाएका छन् ।

उपप्रधानमन्त्री डेसिसले काठमाडौंमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेटेका थिए । भ्रमणक्रममा उनले एक सार्वजनिक कार्यक्रममा अन्तरक्रिया पनि गरे । नेपाल–सर्बिया सम्बन्ध तथा आपसी हित र चासोका विषयमा विचार विमर्श भएको सरकारी विज्ञप्तिमा जनाइएको छ । ‘यो भ्रमणको उद्देश्य सर्बियाले कोसोभोलाई नेपालको साथ र समर्थन नहोस् भन्ने नै थियो,’ परराष्ट्रमन्त्रीसँगको भेटघाटमा सहभागी एक कर्मचारीले भने, ‘सञ्चारमाध्यममा यो विषय बाहिर आएन ।’

सर्बियाको दिल्लीस्थित दूतावासले नेपाल हेर्ने गर्छ । त्यहाँबाट गैरआवासीय राजदूत भ्लादिमिर मारिक पनि उनको भ्रमणमा सहभागी थिए । उपप्रधानमन्त्री डेसिसले नेपाल र सर्बियाबीच लगानी, पर्यटन, शिक्षा, संस्कृति र प्रविधिमा सहकार्य गर्न सक्ने बताएका थिए । उनले सर्बियाले नेपालसँगको सम्बन्धलाई निकै महत्त्व दिएको पनि बताएका थिए । सन् २०११ को अक्टोबरमा पनि सर्बियाका विदेशमन्त्रीले नेपाल भ्रमण गरेका थिए । त्यतिबेला पनि उनीहरूले कोसोभोको विषयमा ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : वैशाख २७, २०७५ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?