कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

मोदीको जनकपुर भ्रमण: तयारी अन्तिम चरणमा

जनकपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार र उपमहानगरपालिका भ्रमण तयारीसँगै सुरक्षा बन्दोबस्तीमा खटिएका छन् ।

मोदीको जनकपुर भ्रमण: तयारी अन्तिम चरणमा

भारतबाट सीधै जनकपुर आउने प्रधानमन्त्री मोदीलाई विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले स्वागत गर्नेछन् । मोदी जनकपुरका तीन स्थानमा पुग्नेछन् । तीनै स्थानमा स्वागतको तयारी र सुरक्षा बन्दोबस्ती मिलाइएको छ । मुख्यमन्त्री राउतका अनुसार जनकपुर विमानस्थलमा अवतरणपछि मोदी केहीबेर त्यहीँ विश्राम गर्नेछन् ।

भारतीय वायुसेनाका तीनवटा हेलिकप्टरमा मोदी र उनको टिम वैशाख २८ गते शुक्रबार बिहान १० बजेतिर जनकपुर अवतरण गर्ने कार्यतालिका छ । मोदीको कारगेड आउने विमानस्थलदेखि जानकी मन्दिर र रंगभूमि मैदानसम्मको सडक कालोपत्रे गरिनुका साथै सिँगारिएको छ । सडक दुवैतिरका पर्खालमा केसरिया रङ लगाइएको छ । त्यसमा कोरिएको मिथिला पेन्टिङले सौन्दर्य अझै बढाएको छ । ‘मोदीजीको जनकपुर भ्रमणको सबै तयारी लगभग पूरा भएको छ,’ मुख्यमन्त्री राउतले कान्तिपुरसँग भने, ‘उहाँको स्वागतलाई भव्य बनाउने तयारी छ ।’ राउतले बुधबार भ्रमणको तयारी र सुरक्षा बन्दोबस्तीमा खटिएका सबै निकायसित प्रगति विवरण लिएका छन् । मोदीको कारगेड गुड्ने सडकछेउका घरहरूमा कलश राख्न प्रदेश सरकारले अपिल गरेको पनि उनले बताए ।

प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट सीधै जानकी मन्दिर पुग्नेछन् । त्यहाँ उनले विशेष पूजाअर्चना गर्नेछन् । करिब ४५ मिनेट जानकी मन्दिरमा बिताउने मोदीसित त्यहीँ प्रधानमन्त्री केपी ओलीले भेटवार्ता गर्नेछन् । मोदी जनकपुुर अवतरण गर्ने समयमै प्रधानमन्त्री ओली हेलिकप्टरबाट जनकपुर चुरोट कारखानाको फुटबल मैदानमा उत्रिनेछन् । जानकी मन्दिरमा पूजाअर्चनापछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा रामायण सर्किटको उद्घाटन हुनेछ । त्यससँगै दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर जनकपुर–अयोध्या बस सेवा आरम्भ गर्नेछन् ।

मोदीको स्वागतमा जानकी मन्दिर परिसर केसरिया रङले सजाइएको छ । मन्दिरका तीनवटै प्रवेशद्वारमा विशेष ढोका बनाइएको छ । मोदीले विशेष पूजा सुरु गर्नासाथ १ सय १ जना पण्डितले शंख फुक्नेछन् । त्यहाँबाट मोदी रंगभूमि मैदान पुग्नेछन् जहाँ उनलाई उपमहानगरपालिकाका मेयर लालकिशोर साहले नागरिक अभिनन्दन गर्नेछन् । अभिनन्दनपछि मोदीले सम्बोधन गर्ने कार्यक्रम छ । अभिनन्दन स्थलमा एक लाखभन्दा बढी मानिस सहभागी हुने प्रदेश सरकारको दाबी छ । यसका लागि ठूलो पन्डाल निर्माण गरिँदै छ । रंगभूमि मैदानमा शुक्रबार बिहान १० बजेसम्म सर्वसाधारणको प्रवेश सहज पारिने मुख्यमन्त्री राउतले बताए ।

मोदीको भ्रमणको ‘कभरेज’ गर्न ठूलो संख्यामा भारतीय मिडियाका प्रतिनिधि जनकपुर आइपुगेका छन् । भारतीय सरकारी टेलिभिजन दूरदर्शन (डीडी) ले मोदी भ्रमणका सबै गतिविधि प्रत्यक्ष प्रसारण गर्ने भारतीय अधिकारीहरूले बताए ।

६ हजार सुरक्षाकर्मी खटिए
भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणलाई सुरक्षित र व्यवस्थित बनाउन यहाँ ६ हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् । विमानस्थल, जानकी मन्दिर र रंगभूमि मैदान क्षेत्रमा विशेष सुरक्षायोजना लागू गरिएको छ । रंगभूमि मैदानमा आइतबारदेखि नै सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ । मैदानका सबै ढोकामा सुरक्षाकर्मीको बाक्लो तैनाथी छ । रात्रि गस्ती र सुरक्षा चेकिङ बढाइएको छ । सुरक्षा निकायका सबै अंगलाई ‘हाइ एलर्ट’ राखिएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवले भ्रमण सुरक्षित र व्यवस्थित बनाउन जनकपुरमा ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको बताए । ‘सुरक्षा व्यवस्था चुस्त बनाइएको छ,’ उनले भने, ‘सबै सुरक्षा योजना तयार र परिचालित छ ।’ सुरक्षा टोलीको कमान्ड नेपाल प्रहरीका डीआईजी ठूले राईले सम्हालेका छन् । भारतीय सेनाका कमान्डोहरू पनि जनकपुर आइपुगेका छन् । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी पनि जनकपुरमै बसेर मोदी भ्रमणको तयारी र सुरक्षा बन्दोबस्तीबारे जानकारी लिइरहेका छन् ।

हावाहुरीले प्रभावित
यसैबीच बुधबार बिहानको तीव्र हावाहुरीले रामानन्द चोक–जानकी मन्दिर खण्डमा बनाइएको स्वागतद्वार भत्किएको छ । त्यसलगत्तै परेको पानीले अभिनन्दनस्थल रंगभूमि मैदान जलमग्न भएको छ । बाँस गाडेर बनाइएको स्वागतद्वार भत्किएपछि जनकपुर उपमहानगरले त्यसलाई फेरि ठड्याउन थालेको छ ।

रंगभूमि मैदानमा जमेको पानी निकासको प्रबन्ध मिलाइएको छ । हावाहुरीले त्यहाँ बनाइएको ठूलो पन्डालमा पनि सामान्य क्षति पुर्‍याएको छ । सरकार र उपमहानगरपालिका दुवैले दुई दिनभित्र सबै तयारी पूरा हुने जनाए । मुख्यमन्त्री राउतले हावाहुरीले तयारीमा केही असर परे पनि त्यसलाई फेरि पुरानै अवस्थामा फर्काउन दिनरात काम भइरहेको बताए ।

प्रकाशित : वैशाख २७, २०७५ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?