१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पश्चिमी सीमामा सधैं तनाव

भवानी भट्ट

पुनर्वास (कञ्चनपुर) — पुनर्वास नगरपालिका–९ बिचफाँटाका गोपाल शाहीले ४ वर्षदेखि आफ्नै जमिनमा खनजोत गर्न पाएका छैनन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उक्त जमिन आफ्नो भूमिमा पर्ने दाबी गर्दै खेती गर्न रोक लगाएको हो । करिब ५ कट्ठा ऐलानी जमिन बाँझो छ ।

पश्चिमी सीमामा सधैं तनाव

दुई साताअघि त्यही जमिनमा स्थानीयले वन्यजन्तु रोक्न विद्युतीय तारबार गरे । भारतीय वन क्षेत्रबाट नेपाल पस्ने वन्यजन्तु रोक्न तारबार लगाउने काम भइरहेको थियो । एसएसबी आएर बार लगाउन रोक मात्र लगाएन, खम्बा नै उखेलेर फालिदियो । स्थानीयको सुझबुझले भने अप्रिय घटना हुन पाएन । सीमास्तम्भ १९४ बाट १ किमिवरै तारबार लगाउने कार्य भइरहेको थियो । पुनर्वास नगरपालिकाको ६ लाख आर्थिक सहयोगमा बिचफाँटाको करिब ८ सय मिटर लम्बाइमा तारबार गरिँदै थियो । ‘आनन्द बजारको घटना दोहोरिने जस्तो परिस्थिति बन्यो,’ शाहीले भने, ‘स्थानीय र एसएसबीका बीच केहीबेर भनाभन भयो, प्रहरी र जनप्रतिनिधि आएर घटना साम्य पारे ।’

तनावपछि काम रोकिएको छ । उखेलिएका पोल छरपस्ट छन् । दुवै देशका सुरक्षा अधिकारीका बीचमा संयुक्त सीमा सर्भे टोली नआउँदासम्म काम अगाडि नबढाउने सहमति भएको छ । नापी टोली आउने टुंगो भने अझै लागिसकेको छैन । उक्त क्षेत्रका स्थानीय बासिन्दा चाँडोभन्दा चाँडो टोली आएर विवाद मिलाउनुपर्ने बताउँछन् । ‘डर र त्रासमा कतिन्जेल बस्नु ? आफ्नो जमिन निर्धक्क उपयोग गर्न पाउनुपर्छ,’ सोही ठाउँका अर्का स्थानीय बुदे शाहीले भने ।

२०७३ फागुनमा पनि यस्तै विवादले उग्ररूप लिँदा एसएसबीको गोलीले एकजना नेपालीको ज्यान गएको थियो । गाउँ नजिकैको नालामा ह्युमपाइप राख्ने विषयमा विवाद हँुदा एसएसबीले चलाएको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएपछि बढेको तनाव अझै शान्त भइसकेको छैन । घटना हुनुभन्दा अघि स्थानीय र दुवैतर्फका सुरक्षा निकायबीच ह्युमपाइप राख्न दिने सहमति भएको थियो । एसएसबीले दशगजामा परेको दाबी गर्दै अवरोध पुर्‍याउँदै आएको थियो ।

‘बिचफाँटामा पनि त्यही घटना दोहोरिन सक्थ्यो,’ पुनर्वास नगरपालिकाकी उपप्रमुख शारदा विष्टले भनिन्, ‘विवाद समाधानका लागि पहल गरिरहेका छौं, सुरक्षा निकायले पनि यस विषयमा गम्भीर हुनुपर्छ ।’ एसएसबीको पटक–पटकको हस्तक्षेपले बिचफाँटावासी निकै आक्रोशित भएको उनले बताइन् ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले संयुक्त सीमा सर्भे टोली मगाउने विषयमा केन्द्रमा पहल भइरहेको जानकारी दिए । ‘बिचफाँटाको विषयमा राष्ट्रिय सभामा पनि सोमबार कुरा उठेकाले अब केन्द्रीयस्तरबाटै कूटनीतिक पहल हुन्छ भन्ने आशामा छौं,’ उनले भने । गत साता प्रदेशसभामा पनि सीमा विवादको विषयले पहिलोपटक प्रवेश पाएको थियो । आन्तरिक मामिलामन्त्री उक्त विषयमा प्रवेश गरेका थिए ।

सर्भे टोली अहिले कैलालीको नेपाल–भारत सीमा क्षेत्रमा काम गरिरहेको छ । त्यहाँ काम सकिने बित्तिकै कञ्चनपुर आउने जानकारी प्रजिअ खड्काले दिए । तर, यो वर्ष सर्भे टोलीले काम गर्ने समायावधि भने अब १ महिनामात्रै बाँकी छ । वर्षात सुरु भएपछि सर्भेको काम रोकिने भएकाले त्यसअघि नै विशेष टोली मगाउने विषयमा छलफल भइरहेको खड्काको भनाइ छ ।

यसकारण तारबार ?
बिचफाँटा भारतको दुदुवा राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्र हो । निकुञ्जबाट आउने हात्तीको बथान तथा अन्य वन्यजन्तुले नेपाली बस्तीमा पसेर बर्सेनि बाली नोक्सानी गर्दै आएका छन् । त्यसैले उक्त क्षेत्रमा विद्युतीय तारबार लगाउन थालिएको हो ।

गत वर्ष पनि राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा कार्यक्रमले तारबारका लागि सहयोग गरेको थियो । वन्यजन्तु रोक्न तारबार प्रभावकारी देखिएपछि यस वर्ष नगरपालिकाले पनि बजेट विनियोजन गरेको थियो ।

हात्तीको बथान बस्तीमा पसेर धान, गहुँ र उखु बाली नष्ट गर्न थालेपछि किसान मारमा छन् । कतिपयले वर्षाैंदेखि आफ्नो जमिन बाँझै छाडेका छन् । मजदुरी गरेर जीविका धान्नुपर्ने बाध्यता छ । खेती नष्ट हँुदा लगानीसमेत नआउने भएकाले स्थानीय कृषकले तारबारको माग गर्दै आएको बुदे शाहीले बताए । जंगली हात्तीकै आक्रमणमा परी पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकामा ३ वर्षमा ३ जनाको मृत्यु भइसकेको छ । केही वर्षयता मानव र वन्यजन्तुबीच द्वन्द्वको अवस्था सिर्जना भएको छ ।

बल्झिँदै प्याराताल विवाद
सीमास्तम्भ १९४ र १९५ भन्दा झन्डै ५ सय मिटर वरै पर्छ, प्याराताल । भारतीय पक्षले उक्त ताल आफ्नो भूभागमा पर्ने दाबीसहित विवाद झिक्दै आएको छ । पछिल्लो समय यो विवाद बल्झिँदै गएको छ । तालमा माछा मार्ने ठेक्का लाग्दै आएको थियो । अहिले एसएसबीले माछा मार्न रोक लगाएपछि विवाद बढेको हो ।

विगतमा एसएसबीले आधा तालमा माछा मार्न दिए पनि गत वर्षदेखि पूरै ताल भारतमा पर्ने दाबी गर्दै माछा मार्न जाने नेपालीलाई पक्राउ गरी कुटपिट गर्न थालेको छ । ‘अहिले तालमा माछा मार्न जाँदा एसएसबीको टोली आएर समातेर लैजान्छ,’ वर्षांैदेखि तालमा माछा मार्दै आएका स्थानीय धर्म विकले भने, ‘क्याम्पमा लगेर कुटपिट गरेर छाड्छ ।’
अर्का स्थानीय बृखबहादुर सुनारले सीमास्तम्भ तालभन्दा धेरै पर रहेको बताए । ‘अनि पिल्लरभन्दा यताको भाग कसरी भारतमा पर्छ,’ उनले प्रश्न गरे । ८/१० वर्षअघि ताल वरिपरिको क्षेत्रमा स्थानीयले गाईबस्तु चराउँथे । अहिले एसएसबीले त्यसमा पनि रोक लगाएको छ ।

पुनर्वास नगरपालिका ९ बिचफाँटादेखि धनसिंहासम्म करिब ६/७ किलोमिटर क्षेत्रमा लाम्चो आकारमा प्याराताल फैलिएको छ । बिचफाँटामा मूल फुटेर बनेको ताल बगेर भारततिरै जान्छ । तर भारतीय पक्षले केही वर्षदेखि उक्त तालमा आँखा गाडेको स्थानीय केशवप्रसाद तिमिल्सिनाले बताए ।

२०४६ अघिसम्म उक्त तालमा माछा मार्न तत्कालीन जिल्ला पञ्चायतले ठेक्का दिने गरेको तिमिल्सिनाले बताए । उनका अनुसार ०४६ देखि भारतीय पक्षले विवाद गरेपछि दुवैतर्फबाट आधा–आधा तालको ठेक्का लाग्न थालेको थियो । ‘गत वर्षदेखि भारतले ठेक्का लगाउन छाड्यो, एसएसबीले नेपालीलाई पनि माछा मार्न रोक लगायो,’ उनले भने, ‘यसरी प्याराताललाई विस्तारै आफ्नो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’

प्रकाशित : वैशाख २७, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?