सुन तस्करी र हत्या मुद्दा : अदालतमा थुनछेकको बहस हुँदै

विराटनगर — संगठित सुन तस्करी र हराएको भनिएको अवैध ३३ केजी सुनको खोजीका क्रममा सनम शाक्यको मृत्युसम्बन्धी मुद्दामा थुनछेकको बहस सुरु हुँदैछ ।

सुन तस्करी र हत्या मुद्दा : अदालतमा थुनछेकको बहस हुँदै

प्रतिवादीहरुको बयान बुधबार सकिएपछि बिहीबारबाट थुनछेकको बहस सुरु भएको हो । बहसका लागि सरकारतर्फबाट सरकारी वकिल अनि प्रतिवादीका तर्फबाट विभिन्न जिल्लाका कानुन व्यवसायीहरुले तयारी गरेका छन् ।


बुधबार साँझसम्म प्रतिवादीतर्फबाट बहस गर्ने भनेर अदालतमा नाम दर्ता (वकालतनामा) गर्नेको संख्या ४४ पुगेको छ । बिहीबार थप कानुन व्यवसायीले वकालतनामा दर्ता गराउने भएका छन् । सरकार पक्षबाट बहस गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयका वकिललाई सघाउन सरकारी वकिलहरुको समूह बनाइएको छ । समूहमा उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुली, उपन्यायाधिवक्ता हिमालय त्रिताल, जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, सहायक न्यायाधिवक्ताद्वय पदमप्रसाद वस्ती र रोहितकुमार पोखरेल छन् ।


यो मुद्दाका ६३ प्रतिवादीमध्ये प्रहरी नियन्त्रणमा रहेका ३० जना अभियुक्तको बयान अदालतले लिइसकेको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा उनीहरुको बयान लिइएको हो । अदालतमा बयानका क्रममा कतिपय अभियुक्तहरुले प्रहरीले अभियोगपत्रमा उल्लेख गरेको बयानभन्दा फरक विवरण भनेका छन् ।


पूर्व उच्च प्रहरी अधिकारीलगातले भने पहिलेकै बयान दोहोर्‍याउँदै आफूहरुमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन् । प्रहरी नियन्त्रणमा रहेका ३० जनाबाहेक मुख्य अभियुक्त भनिएका चूढामणि उप्रेती गोरेसहित ३३ जना फरार छन् । जिल्ला न्यायाधिवक्ताको कार्यालयले गत साता १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो ।


कानुन व्यवसायी एवं अदालतका अधिकारीहरुले यो मुद्दामा तस्करी गरिएको भनिएको ३३ किलो सुन हालसम्म कहाँ छ भन्ने पत्ता नलागेकाले अदालतसमक्ष बलियो प्रमाणको अभाव हुने बताएका छन् । ‘राज्य र मातहत निकायले सुन कहाँ छ भन्ने पत्ता लगाएर अदालतसमक्ष प्रस्तुत गर्नुपर्छ’ एक कानुन व्यवसायीले भने, ‘यसले मुद्दा स्थापित गरी अभियोग प्रमाणित गर्न धेरै सहज हुनेछ ।’

प्रकाशित : वैशाख २७, २०७५ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?