कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भूकम्पको कहरः टहरोमा पढाई, गर्मीले मुर्छा पर्छन् विद्यार्थी

छहारी खोज्दै कक्षा
हरिराम उप्रेती

गोरखा — सिरानचोक गाउँपालिका-६ गाखुँ स्थीत संसारी महेन्द्र मावि नयासाघुँमा बुधबार दोस्रो पिरियडको कक्षा चल्दै थियो । कक्षा ७ का सौकात मियाँ एक्कासी विरामी परे । कक्षाकोठा मै वान्ता गरे । गर्मी बढेसँगै भूकम्प पछि बनेको अस्थायी कक्षाकोठाको जस्ता तातेर यहाँ दैनिकजसो विद्यार्थी विरामी पर्न थालेका छन् ।

भूकम्पको कहरः टहरोमा पढाई, गर्मीले मुर्छा पर्छन् विद्यार्थी

शिक्षकहरुका अनुसार पहिलो पिरियडदेखि नै गर्मीले कक्षाकोठामा बसिनसक्नु हुन्छ । ‘हाजिर गर्न सक्ने अवस्था पनि छैन,’ शिक्षक उपेन्द्र देवकोटाले भने ।


२०७२ वैशाख १२ को भूकम्पले पुरानो विद्यालय भवन भत्काएपछि गोरखा फाउण्डेसन नामक संस्थाले १४ कोठे अस्थायी प्रकृतिको भवन निर्माण गरिदिएको छ । चार वटा ब्लकमा रहेको उत्त कक्षा कोठा भित्र बवस्न निकै सकस रहेको देवकोटा बताउँछन् । ‘विद्यालय भवन प्लाष्टिकको फाइबरले राउण्डिङ गरेर बेरिएको छ, झ्याल पनि राम्रो सँग खोल्न र बन्द गर्न मिल्दैन,’ उनले भने,‘फाइबर तातेरै बस्न सकेनौँ ।’ भौगोलिक अवस्था सुहाउँदो कक्षा कोठा निर्माण हुँदा समस्या परेको छ ।


गर्मीकै कारण विद्यार्थी मुर्छा पर्ने र विरामी भइरहने शिक्षकहरु बताउँछन् । ‘अघिल्लो वर्ष त असामान्य तवरले विद्यार्थी विरामी परे, यस वर्ष एक दुइ जना विद्यार्थी विरामी नपरेको दिन हुँदैन,’ देवकोटा भन्छन्,‘कक्षा चल्दै गर्दा विद्यार्थी पानी भन्छन्, दिनभरी हम्किएर बस्नुको विकल्प हुँदैन ।’


गर्मीकै कारण विद्यार्थीमा काम्ने र साथीलाई चिथोर्ने समस्या पनि देखिँदै आएको विद्यालयले बताएको छ । दरौदी नदी नजिकै रहेको उत्त भेग भौगोलिक हिसावले पनि अत्याधिक गर्मी हुने क्षेत्र हो । ‘गर्मी बढेपछि यहाँको दुवो पनि मर्छ,’ देवकोटाले भने ।


गर्मी छल्न विद्यालय परिसरको रुखको छाहारीको सहारा लिने गरेको शिक्षक रामकाजी श्रेष्ठ बताउँछन् । ‘रुख मुनी त अलि अलि भएपनी सित्तल हुन्छ, हावा पनि आउने भयो, त्यहिँ लगेर पढाउने गरेका छौँ,’ उनले भने । यस वर्ष निरन्तर पानी परेकाले बाहिर पढाउने अवस्था पनि नरहेको शिक्षकहरु बताउँछन् । ‘अहिले त अझै धेरै गर्मी बढेको छैन, कहिले काहीँ मात्र बाहिर लान्छौँ, अब गर्मी बढ्दै गएपछि के गर्ने सोच्न सकेका छैनौँ,’ उनले भने । उत्त विद्यालयमा करिव ४ सय ५० विद्यार्थी अध्ययनरत छन् ।


बिहानी कक्षा चलाउन गाह्रो नभएपनि दिनमा पढाउन गाह्रो भएको उनीहरु बताउँछन् । प्रयाप्त जग्गा हुँदा पनि कुनै संघ संस्थाले स्थायी प्रकृतिको भवन निर्माणमा नसघाएको विद्यालयका प्रध्यानाध्यापक भोजराज कोइरालाले बताए । ‘१७–१८ रोपनी जग्गा छन्, यहाँ विद्यालय भवन बनाउँछु भन्दै कोही आउँदैनन्,’ उनले भने । गोरखा फाउण्डेसन नामक संस्थाले बनाएको उक्त भवन हस्तान्तरण भएको छैन । हेर्दा राम्रो देखिएपनि भौगोलिक हिसावले उत्त अस्थायी भवन उपयुत्त नभएको शिक्षकहरु बताउँछन् ।


विरामी विद्यार्थी नजिकैको गाखुँ स्वास्थ्य चौकीमा उपचारका लागी जाने गरेका छन् । ‘गर्मी त हुने नै भयो, पानीको पनि समस्या छ,’ स्वास्थ्य चौकीका अहेव धन बहादुर गुरुङ भन्छन्,‘विरामी विद्यार्थी दैनिक आइरहन्छन् ।'


संसारी महेन्द्र माविको विद्यालय भवन निर्माणको जिम्मा जाइकलाई दिन प्रस्ताव गर्ने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दीपेन्द्र सुवेदीले बताए । ‘दोस्रो फेजमा जाइकालाई दिने भनेका थियौँ, गोरखा फाउण्डेसनले अर्ध स्थायी भवन बनाएपछि जाइका पछि हट्यो,’ सुवेदीले भने । फाउण्डेसनले तत्कालीन जिल्ला शिक्षा कार्यालयसँग समन्वय नगरी विद्यालय भवन बनाएको उनले बताए । ‘गर्मी ठाउँमा उक्त संरचनाले काम गरेन, जाइकालाई फेरी प्रस्ताव गर्छौँ उसले नबनाए, शिक्षा मन्त्रालय अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइले बनाउँछ ।’


२०७२ वैशाख १२ को भूकम्पले भवन भत्काएपछि यहाँका केहि विद्यालयहरु अस्थायी सिकाइ केन्द्र मार्फत संचालित छन् । भूकम्प गएको चार वर्ष लाग्दा चार सय ४३ मध्ये दुइ सय ५५ विद्यालय भवनको मात्र निर्माण कार्य सम्पन्न भएको छ । अस्थायी सिकाइ केन्द्रमा संचालित अधिकांश विद्यालयमा गर्मीले पढाइ प्रभावित हुन थालेको छ ।


‘गर्मी बढ्दै छ, विद्यार्थी टाउको दुख्यो भन्छन्, फाट्ट/फुट्ट विरामी पनि परिरहन्छन्,’ पालुङटार नगरपालिका– ९ धुँवाकोटस्थित मदने डाँडा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक रुद्र उप्रेतीले भने,‘ जाडोमा जस्ताबाट शीत चुहिएर कक्षा चलाउन गाह्रो हुन्थ्यो, गर्मी लाग्यो जस्ता तातेर पढाउन समस्या भयो ।’


उक्त विद्यालय भवन निर्माणको जिम्मा जापनिज सहयोग नियोग (जाइका)ले लिएको छ । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लाका स्रोत सुनिश्चित नभएका ७० विद्यालय अझै अस्थायी सिकाइ केन्द्रमै छन् । निर्माणाधीन एक सय ५० मध्ये केही विद्यालय अर्ध स्थायी प्रकृतिको कक्षा कोठा त केही अस्थायी सिकाइ केन्द्रमा छन् । टहरोमा पढाउँदा हावाहुरी चलेपछिपछि पढाइ प्रभावित हुँदै आएका शिक्षक विद्यार्थी बताउँछन् ।


स्रोत सुनिश्चित हुन बाँकी विद्यालय निर्माण छिट्टै गर्ने शिक्षा विकास तथा समन्वय इकाइले बताएको छ ।

प्रकाशित : वैशाख २७, २०७५ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?