प्रतिनिधिसभामा पूर्व बजेट छलफल सुरु

रासस

काठमाडौँ — प्रतिनिधिसभामा अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि बिहीबारदेखि छलफल सुरु भएको छ ।

छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै सत्तापक्ष नेकपा (एमाले)का भीमबहादुर रावलले नेपालको संविधान र राजनीतिक दलको घोषणापत्रलाई आत्मसात् गरेर बजेटका सिद्धान्त र प्राथमिकता अघि सारिएको बताए ।

Yamaha


उनले भने – “प्रगतिशील कर प्रणालीतर्फ लक्ष्यित हुने कुरा स्वागतयोग्य रहेको छ । वैदेशिक सहयोग परिचालन, यातायात र ऊर्जाको विकास र विस्तारका विषयवस्तु ठीक ढंगले समेटिएको छ । पिछडिएका क्षेत्रलाई स्पष्टरुपले अघि बढाउने विषयलाई सम्बोधन गर्न आवश्यक छ ।” कृषिको आधुनिकीकरण, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रियताको प्रवद्र्धन गर्ने कुरा पनि बजेटमा समावेश हुनपर्छ भन्दै सांसद रावलले विकास र समृद्धिको लक्ष्यको समयसीमा तोकेर जान आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका डा मीनेन्द्रप्रसाद रिजाल सदनमा आएका विचारलाई विनियोजन विधेयकमा सुझावका रुपमा समेटिने र निरर्थक साबित नहुने विश्वास व्यक्त गरे । उनले भने – “साना आयोजनालाई बजेट विनियोजन नगर्नु भनेको संघीयताको अवधारणा तथा स्थानीय तह र प्रदेशको अधिकार क्षेत्रलाई बुझ्न नसक्नु हो । आर्थिक पूर्वाधार निर्माणमा बजेट केन्द्रित हुनुपर्छ । सामाजिक पूर्वाधार निर्माणलाई पनि उत्तिकै हेक्का राख्न जरुरी छ ।”

राजश्वबाट नौ खर्ब, वैदेशिक सहयोग एक खर्बको हाराहारीमा मात्र रकम प्राप्त हुने सम्भावना रहेको हुँदा बढी महत्वाकांक्षी नबन्न पनि सरकारलाई उनले सुझाव दिए ।

नेकपा (माओवादी केन्द्र)का सांसद अग्निप्रसाद सापकोटाले सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यून गर्ने ढंगबाट सर्सर्ती हेर्दा आधारभूत रुपमा बजेटका प्राथमिकता र सिद्धान्त सही र सकारात्मक रहेको टिप्पणी गरे ।

पूर्वाधार निर्माण, गरिबी अन्त्य, सुशासन प्रवद्र्धनका साथै तल्लो वर्ग र समुदायलाई आत्मनिर्भर बनाउन बजेटले ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले सहकारीको माध्यमबाट कृषि विकासका लागि चक्लाबन्दी, औद्योगिकीकरणलगायतका कार्यक्रम प्राथमिकता र सिद्धान्तमा नसमेटिएका बताए ।

संघीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्र श्रेष्ठले मुलुकको अर्थतन्त्र कुन ढाँचामा लैजाने भन्ने कुरा अझै स्पष्ट नभएको बताउँदै पुरानै ढर्राबाट सिद्धान्त र प्राथमिकतामा आएको टिप्पणी गरे ।

Esewa Pasal

प्रकाशित : वैशाख २७, २०७५ १५:३३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

टिफरको ठक्करबाट बालकको मृत्यु 

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको रौतामाई गाउँपालिका–५ कालिमाटीमा बिहीबार दिउँसो टिफरको ठक्करबाट एक जना स्कुले बालकको घटनास्थलमै मृत्यु भएको छ ।

सगरमाथा लोकमार्ग अन्तर्गतको गाईघाट–दित्तेल सडकखण्डको कालिमाटीमा ना ३ ख ८५७४ नम्बरको टिफरको ठक्करबाट स्थानीय तिलक राईका ११ वर्षीय छोरा निगम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

बाल कालिका माध्यमिक विद्यालयमा कक्षा ४ अध्ययनरत थिए। टिफिनको समयमा खेल्दै गरेका निगमलाई टिप्परले ठक्कर दिएको थियो।

उदयपुर र खोटाङको सिमास्थल फोक्सिनाटरबाट डाडाँगाउँतर्फ गिटी लिएर आउँदै गरेको रौता कन्स्ट्रक्सनको टिफरले बालकलाई ठक्कर दिएको हो।

प्रकाशित : वैशाख २७, २०७५ १५:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT