१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

परिपक्व एकताको पक्षमा छौं : दाहाल

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता बलियो तरिकाबाट टुंग्याउने प्रयास भइरहेको बताएका छन् । 

परिपक्व एकताको पक्षमा छौं : दाहाल

महोत्तरीको बर्दिवासमा आयोजित कम्युनिष्ट नेता निर्मल लामाको १८औं स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उनले हतारमा एकता गरेर पछि पश्चताप् मान्ने पक्षमा आफूहरु नभएको प्रस्ट पारे । ‘दुई/चार दिन छिटो एकता गरेर पछि पछुताउनुभन्दा वैचारिक, राजनीति, सांगठनिक, भावनात्मकलगायत सबै विषय टुंगो लगाएर मात्र परिपक्व एकता गर्ने पक्षमा हामी छौं’ उनले भने । राजनीतिक, सांगठनिक र विधान मस्यौदा समितिले दिएका प्रतिवेदनहरु टुंग्याउने र कसरी पार्टीलाई सामूहिक निर्णयमा अघि बढाउने भन्ने विधिका विषयमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र आफूबीच छलफल चलिरहेको उनले जानकारी दिए । वाम एकता संयोजन समिति बैठकले प्रतिवेदनमा नमिलेका विषय टुंग्याउने जिम्मा दुई अध्यक्षलाई दिएको थियो ।


अध्यक्ष दाहालले एकताबाट दायाँबायाँ हुने अवस्था नरहेको दोहोर्‍याउँदै छिट्टै एकताको मिति घोषणा गर्ने बताए । दाहालले एकतापछिको महाधिवेशनबाट आफू अध्यक्ष हुनुपर्ने कुनै माग नराखेको दाबी गरे । उनले भने, ‘महाधिवेशनपछि अध्यक्ष मलाई दिनुपर्ने ग्यारेन्टी मागेको विषय मिडियामा आएको छ, त्यो विल्कुल गलत हो, त्यो भ्रममा नपर्न आग्रह गर्छु ।’


कसैको नियतका कारण एकता लम्बिएको नठान्न पनि उनले पार्टी पंक्तिलाई आग्रह गरे । ‘हामी उमेरले पनि उत्तरार्द्धतिर छौं । अब ठूलो आकांक्षा छैन । कसैको नियतले एकता प्रक्रिया लम्बिएको हो कि भन्ने सोच्नु गलत हो', उनले भने, 'कसरी देश र जनताको हितमा काम गर्न सक्छौं भन्नेमा लागिरहेका छौं ।’


वाम एकता हुन नदिन दक्षिणपन्थी र कांग्रेस लागिरहेको उनको आरोप छ । 'माओवादी वा एमाले नेतृत्वलाई उपभोग गरेर एकता प्रक्रिया भड्काउने प्रयास जारी नै छ' उनले भने, 'कम्युनिस्ट बलियो नहोस् भनेर विपक्षी लागे पनि निर्णायक हामी नै हौं, सचेत छौं, सचेत रहन आग्रह गर्छु ।' उनले कसैको जालझेल, षड्यन्त्रमा नपरी आफ्ना कमजोरी समीक्षा गरेर दृढताका साथ अघि बढ्ने पनि बताए ।

प्रकाशित : वैशाख २७, २०७५ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?