कैदीको ‘शंकास्पद’ मृत्यु प्रकरणः जेलभित्रै चल्छ शोषण र भ्रष्टाचारको सञ्जाल

जेलभित्रै चल्छ– रक्सी, मासु र मोबाइलको व्यापार
मासिक कमाइ ७ लाखसम्म, नाइके र जेल प्रशासनबीच भागबन्डा हुन्छ
जनकराज सापकोटा

काठमाडौँ — नक्खु कारागारभित्र जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दाका दोषी भक्तबहादुर सुनुवारको शंकास्पद मृत्युबारे गृह मन्त्रालयले छानबिन थालेको छ । कारागार प्रशासनले उनको मृत्युको कारण बिरामी भएको जनाए पनि मृतकका परिवारले कर्मचारी र बन्दीको कुटपिटबाट मृत्यु भएको दाबी गरेका छन् ।

कैदीको ‘शंकास्पद’ मृत्यु प्रकरणः जेलभित्रै चल्छ शोषण र भ्रष्टाचारको सञ्जाल

उनीहरूले सुनुवारको शवसँगै फेला परेको भनिएको तीन पृष्ठको हस्तलिखित पत्रसमेत गृहमन्त्री रामबहादुर थापालाई बुझाएका छन् ।


बन्दीको मृत्यु र सुनुवारले लेखेको पत्रमा उठाइएको कारागारभित्रको बेथितिबारे बुझ्न भन्दै मंगलबार गृहमन्त्रीले कारगार प्रमुख टेकबहादुर केसीसँग सोधपुछ गरेका थिए । उक्त घटनाबारे महानगरीय प्रहरी परिसर ललितपुरले पनि बेग्लै अनुसन्धान गरिरहेको छ ।


कान्तिपुरलाई प्राप्त मृतकका साथबाट प्राप्त भनिएको उक्त पत्रमा चौकीदार बुद्ध गुरुङले कैद मिनाहाका लागि १५ लाख रुपैयाँ मागेको र भनेजति पैसा नदिए जेलमै सड्नुपर्ने बताएपछि विवाद सुरु भएको उल्लेख छ । दस वर्ष चार महिना कैद सजाय भोगिसकेका सुनुवारले कैद मिनाहाका निम्ति चौकीदारले रकम मागेको पत्रमा उल्लेख गरे पनि उनीविरुद्धको मुद्दामा कैद मिनाहा हुनै नसक्ने कानुनी व्यवस्था छ ।


वैशाख ४ गते जेल प्रशासनले ५४ बन्दीको नाम कैद मिनाहाका लागि जिल्ला प्रशासन कार्यालय पठाएको थियो । उक्त सूचीमा सुनुवारको नाम पार्न सकिने कानुनी अवस्था देखिँदैन । तर उनैले लेखेको भनिएको पत्रमा यस्तो तथ्य किन उल्लेख गरियो, रहस्यमै छ ।


कारागार प्रमुख केसीका अनुसार २० गते रक्तचाप न्यून भएको र बान्ता गरेको भन्दै कर्मचारीले खबर गरेपछि सुनुवारलाई वीर अस्पताल लगिएको थियो । चिकित्सकले आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताएको तर त्यहाँ खाली नभएकाले तत्काल पाटन अस्पताल पुर्‍याइएको थियो ।


सोही अस्पतालमा उपचारक्रममा २१ गते बिहान सुनुवारको मृत्यु भएको थियो । शरीरमा निलडाम देखिएको, खानामा विष मिसाइएका कारण बान्ता भएको दाबी गर्दै परिवारले शव बुझ्न अस्वीकार गरेपछि पोस्टमार्टमका लागि त्रिवि शिक्षण (टिचिङ) अस्पताल पठाइएको छ ।


कारागारका एक कर्मचारीले सुनुवारको मिर्गौला र मुटुमा समस्या देखिएको र ‘सेफटिक सक’ ले मृत्यु भएको बताए । अस्पतालले जारी गरेको मेडिकल रिपोर्ट भने आफूले हेर्न नपाएको ती कर्मचारीको भनाइ छ । पत्रमा भने जेलभित्रका चौकीदार, नाइके र भाइनाइकेहरूले कसरी आर्थिक शोषण र भ्रष्टाचारको सञ्जाल चलाइरहेका छन् भन्ने फेहरिस्त छ ।


पत्रमा उल्लिखित तथ्यहरूलाई पछ्याउँदै कान्तिपुरले गरेको अनुसन्धानले नक्खु कारागारभित्रको बेथितिको कथा मात्रै भेट्टाएन, त्यहाँ पहुँच र प्रभावका भरमा कसरी अवैध धन्दा चलिरहेको छ भन्नेसमेत खुलेको छ ।


स्रोतका अनुसार महानगरीय प्रहरी परिसर ललितपुरले आन्तरिक छानबिनका क्रममा उक्त जेलबाट छुटेका केही कैदीबन्दीसँग सोधपुछ गरेको छ । कारागार प्रमुख केसीले बन्दीको मृत्युबारे बुझ्ने काम भइरहेको बताए । ‘बिरामीको उपचारक्रममा मृत्यु भएको भन्ने कुरा आएको छ, थप खोजबिन चलिरहेको छ,’ उनले कान्तिपुरसँग भने ।


स्रोतका अनुसार सुनुवार सोही कारागारमै रहेका अभिषेकराज सिंहनिकट मानिन्थे, जो कुख्यात अभियुक्तका रूपमा परिचित छन् । २०७१ असोज अन्तिम साता जेलका आन्तरिक प्रशासनका चौकीदारसहित ३८ जनालाई बाहिर राखेर बन्दीले कारागार नियन्त्रणमा लिएपछि अभिषेकलाई सरुवा गरिएको थियो । जेलभित्र अभिषेकको दबदबा बढेको भन्दै कैदीबन्दी आन्दोलनमा उत्रिएका थिए ।


बलियो पहुँच बनाएका सिंह सरुवा भएको केही महिनामै त्यहीँ फर्किन सफल भए । पटक–पटक सरुवा हुने र फेरि नक्खु नै फर्केर आउने अभिषेक जेलभित्र पनि शक्तिशाली मानिन्छन् । कान्तिपुरलाई प्राप्त रेकर्डमा २०७३ असोजयता उनी केही महिना भैरहवा कारागार, केही महिना भीमफेदी कारागार हुँदै फेरि नक्खु फर्काइएका थिए ।


स्रोतका अनुसार अहिले पनि जेलभित्र अभिषेकको पकड बलियो छ । सुनुवार बिरामी भएलगत्तै अभिषेकले आफ्नो एक सहयोगीलाई वीर अस्पताल पठाएका थिए । जेल प्रशासनका एक कर्मचारीले भने, ‘अभिषेकको निकट रहेका सुनुवारमाथि जेलभित्र कसरी कुटपिट भयो होला र ?’


नक्खु जेलको संसार:

नक्खु कारागारका तीन ब्लकमध्ये नयाँ ब्लकमा थिए, भक्तबहादुर । जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा २०६४ माघ १४ देखि थुनामा रहेका उनले कारागारभित्रको बेथितिबारे गृहमन्त्री थापा भ्रमणमा आउँदा उनलाई बुझाउन पत्र लेखेको तर नपाएको उल्लेख गरेका छन् ।


उनले जेलभित्र पैसा मागिने, नदिए कुटपिट गरिनेजस्ता गतिविधि भइरहेको पत्रमा उल्लेख गरेका छन् । साथै, उनले जेलभित्र लुकाएर मोबाइल लैजाने गरेको, पैसा र पहुँचका भरमा केही कैदीहरू जेलबाहिर घुम्न जान सक्ने अवस्था रहेको, सेवासुविधा कटौती गरिएको, चौकीदारको दादागिरी बढेको जस्ता बेथिति पत्रमा चर्चा गरेका थिए ।


सोही ब्लकबाट कान्तिपुरको सम्पर्कमा आएका एक पूर्वबन्दीका अनुसार जेलभित्र अवैध बाटोबाट मोबाइलदेखि रक्सीसम्म भित्रिने गरेको छ । कारागार प्रशासनले नयाँ ब्लकमा चारवटा ल्यान्डलाइन फोन राखिदिएको छ । इनकमिङ कल निषेध गरिएको र आउटगोइङ कलको मात्रै सुविधा भएको उक्त फोन कैदीबन्दीले नै व्यवस्थापन गर्छन् र फोन नाइके भनेर चिनिएका एक कैदीले शुल्क उठाउने गर्छन् ।


ती बन्दीका अनुसार उक्त फोनबाट एनसेलमा फोन गर्दा ७ रुपैयाँ प्रतिमिनेट र एनटीसीमा प्रतिमिनेट ५ रुपैयाँ तिर्नुपर्छ । ३ सयमध्ये आधा मात्रै बन्दीले कल गर्दा पनि टेलिफोन नाइकेले महिनामा हजारौं रुपैयाँ असुलउपर गरिरहेको देखिन्छ ।


कारागार व्यवस्थापन विभागका मुरारी कार्कीले कारागारमा टेलिफोन राखिए पनि त्यसको शुल्क बन्दीहरूले आफैं व्यवस्थापन गरिरहेको बताए । उनले भने, ‘फोन शुल्क सरकारले बेहोर्ने व्यवस्था छैन ।’ सरकारले राखिदिएको फोन जेलका चौकीदारले तोकिदिएका मान्छेले व्यवस्थापन गर्छन् ।


कान्तिपुरसँग कुरा गर्दै एक बन्दीले भने, ‘चौकीदारलाई केही कमिसन दिन र आफू पनि कमाउन टेलिफोन नाइकेले धेरै शुल्क असुल्छन् ।’


नयाँ ब्लकका केही बन्दीले मिलेमतोमा जेलभित्रै मोबाइल पुर्‍याएका छन् । लुकिछिपी त्यस्तो मोबाइलबाट फोन गर्दा बन्दीले चर्को शुल्क तिर्नुपर्छ । केही महिनाअघि मात्रै कैदी पासाङ शेर्पाले जेलभित्र मोबाइल पुर्‍याएको घटना सार्वजनिक भएको थियो । कैदी भेट्ने निहुँमा नाबालकले गोजीमा लुकाएर मोबाइल फोन भित्र पुर्‍याउने गरेको स्रोतले बतायो ।


स्रोतका अनुसार नयाँ ब्लकमा मात्रै कम्तीमा चारवटा मोबाइल प्रयोगमा छन् । स्रोतका अनुसार अवैध रूपमा प्रयोग हुने त्यस्तो मोबाइलमा एक सय ब्यालेन्स हाल्यो भने सात सय रुपैयाँसम्म कमाइ हुन्छ । कतिसम्म भने सुरक्षाका निम्ति खटिएका एक प्रहरीले नै केही रुपैयाँको लोभमा ती मोबाइलका लागि रिचार्ज कार्ड किनिदिने गरेका छन् ।


कैदीबन्दीले जेलभित्र मदिरा सेवन गर्न पाउँछन् ? कानुनअनुसार पाउँदैनन् तर नक्खु कारागारका कैदीबन्दीलाई रक्सी खान समस्या छैन । स्रोतका अनुसार त्यहाँ स्प्राइट र अन्य पेय पदार्थको बोतलमा भरेर भोडका पुर्‍याइन्छ । एक बन्दीका अनुसार ‘भीआईपी’ बन्दीका निम्ति गोप्य तबरले पठाइने त्यस्तो रक्सीको मूल्य बजार मूल्यभन्दा ४ गुणा बढीसम्म लिइन्छ ।


सानो एक बोतल भोडका जेलभित्र एक हजार रुपैयाँमा बिक्री हुने गरेको एक बन्दीले बताए । कतिसम्म भने जेलभित्र रहेको एलसीडी टीभीमा फिल्म र अन्य सामग्री हेर्न खानामा लुकाएर चिप्स पठाइन्छ ।


जेलभित्रको गेट नाइके, मूल नाइके, चेक नाइके, पानी नाइके, ड्युटी नाइके, टेलिफोन नाइकेजस्ता विभिन्न पदका बन्दीले जेलभित्रको व्यवस्थापन सम्हाल्छन् ।


एक कैदीका अनुसार जेलभित्र रहेका पसल, क्याफे, मासु पसल, लन्ड्री सपबाट मासिक ५ देखि ७ लाख रुपैयाँसम्म कमाइ हुन्छ । कमाइ भागबन्डा गर्न नाइके बन्दी र जेल प्रशासनबीच अघोषित सम्झौता हुन्छ । ती कैदीले भने, ‘जेल बाहिरजस्तै यहाँ पनि कमाउ संसार छ ।’

प्रकाशित : वैशाख २७, २०७५ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?