फोटो बन्यो उद्धारकाे कडी

२० दिनअघि भारत पुर्‍याइएकी किशोरीलाई फर्काइयो
फकाएर लैजाने प्रहरी नियन्त्रणमा
माधव घिमिरे

विराटनगर — २० दिनअघि बेपत्ता भएकी मोरङ, रंगेलीकी एक किशोरीलाई एउटा फोटोको आधारमा खोजी गर्दै जाँदा भारतको गाजियाबादमा भेटेर उद्धार गरिएको छ । घरबाट सम्पर्कविहीन बनेपछि अनेक खोजी गर्दा पनि फेला नपरेकी उनलाई उद्धारकर्ता संस्थाको टोलीले फेला पारेको थियो ।

फोटो बन्यो उद्धारकाे कडी

भारतीय प्रहरीको समेत सहयोगमा उनलाई बुधबार विराटनगर ल्याइएको छ । एकोहोरो टोलाइरहने अनि कसैले केही सोध्दा झस्कने गरेकी किशोरीलाई उपचार र परामर्शपछि अभिभावकको जिम्मा लगाइने भएको छ । केही दिन माइती नेपालमा राखेर उपचार र परामर्श दिइने लागिएको हो । किशोरीलाई माइती नेपालको जिम्मा लगाइएको छ ।


फकाएर लैजाने पुरुषलाई भारतबाटै ल्याएर बुधबार सुनसरी, इटहरीस्थित इलाका प्रहरीको जिम्मा लगाइएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई झिकाएर उजुरी दर्ता गरी अनुसन्धान र कारबाही प्रक्रिया सुरू गरेको छ ।


सुनसरीमा रहेको संस्था रिलिफ नेपाल फाउन्डेसनका प्रतिनिधिले विपन्न सरदार समुदायकी १४ वर्षीया ती किशोरीको उद्धार गरेर फर्काएका हुन् । संस्थाकी अध्यक्ष रबिना खातुनका अनुसार वैशाख ७ गते गाउँनजिक लागेको मेलामा गएका बेला भारतको बिहार घर भएका मुजफ्फर मियाँले भगाएका थिए ।


३५ वर्षीय उनी केही महिनायता रंगेलीस्थित ससुरालीमा बस्दै आएका थिए । दुई श्रीमती र चारवटा छोराका बाबु मियाँले आफूले बिहे गर्ने र भारतका ठूला सहर घुमाइदिने भन्दै फकाएर लगेका थिए । ८ कक्षा पढ्दै गरेकी छोरी एकाएक सम्पर्कविहीन बनेपछि आमा र आफन्तले खोजी गरेका थिए । किशोरीका बुबा रोजगारीका लागि मलेसियामा छन् ।


त्यसैबेला रंगेलीस्थित प्रहरी कार्यालयमा खोजीका लागि निवेदन पनि दिइएको थियो । पछि बुझ्दै जाँदा मियाँले भारत लिएर गएको थाहा पाएपछि किशोरीका आमा र आफन्त उद्धारकर्ता संस्थाको सम्पर्कमा पुगेका थिए ।


किशोरीलाई गाजियावादको महाराजपुरस्थित ‘कोठी’ मा राखिएको उनैले पठाएको फोटोका माध्यमले पत्ता लागेको थियो । सुरुका केही दिन मियाँले आफूसँगै राखेको किशोरीले बताएकी छन् ।


मियाँ बाहिर निस्केका बेला उनको फोनबाट किशोरीले आमा र आफ्ना ठूलोबुबालाई सम्पर्क गरी आफूलाई घर फर्काउन भन्दै रुने गरेका थिइन् । ‘बेला बेला फोन आउँथ्यो’ किशोरीकी आमाले भनिन्, ‘मलाई घर लैजाउ भन्थी तर कुन ठाउँमा हो भन्ने उसैलाई पनि थाहा थिएन ।’


यसबीच, किशोरीका आफन्तले आफू बसेको स्थानको फोटो मोबाइलमार्फत् पठाउन किशोरीलाई भनेका थिए । मियाँ बाहिर गएको मौका पारेर किशोरीले ‘इमो’ मार्फत् आफू बसेको स्थानबाट अगाडि देखिएको बजारको फोटो खिचेर पठाएकी थिइन् ।


‘रिहान स्टोर’ लगायत केही पसल र तिनको नामअंकित साइनबोर्ड देखिने उक्त फोटो आफन्तले उद्धारकर्ता संस्थाकी अध्यक्ष खातुनलाई दिए । त्यसपछि खातुनले भारतको नोइडामा रहेका आफ्ना साथी आइटी इन्जिनियर वसिम अक्रमलाई पठाएर ठाउँ पत्ता लगाइदिन अनुरोध गरिन् । वसिमले फोटोमा देखिएको एउटा पसलको टेलिफोन नम्बरका आधारमा ठाउँ पत्ता लगाए ।


र, चाँडै उक्त स्थानमा गएर उद्धार गरिहाल्न सुझाव दिए । ‘यो ठाउँ यौनजन्य गतिविधिका कारण बदनाम छ’ अक्रमको भनाई उद्धृत गर्दै खातुनले भनिन्, ‘तुरुन्तै आएर घर फर्काइहाल्नुस् ।’


उनकै सुझावका आधारमा संस्थाकी अध्यक्ष खातुन संस्थाका रितेन्द्र चौधरी, अर्जुन चौधरी, नसरुद्दिन हुसेन र किशोरीका ठूलो बुबासहित महाराजपुर पुगेकी थिइन् । बैशाख २४ गते किशोरीलाई भेटेर भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । मियाँलाई भारतीय प्रहरीले पक्राउ गरेर जिम्मा लगाएको थियो ।


उद्धारको काममा भारतीय प्रहरी र त्यहाँ रहेका आफ्ना साथीभाइले निकै सहयोग गरेको उनले बताइन् । ‘२ लाख ६५ हजार रुपैयाँ भारुमा किनबेचको कुरा छिनोफानो भइसकेको रहेछ’ खातुनले भनिन्, ‘एक दिनमात्र ढिलो पुगेको भए उनलाई फेला पार्न नसकिने रहेछ ।’

प्रकाशित : वैशाख २७, २०७५ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?