मोदी भ्रमण: ट्विटरमा नाकाबन्दी ट्रेन्डिङ

काठमाडौँ — ग्यासका सिलिन्डरको सडकमा लामो लाइन । सकी नसकी काठको मुडा बोकेर हिँडेकी महिला । र, पेट्रोल पम्पअघिल्तिर रातभरी जाग्राम बसेका युवाहरुको जुलुश । 

मोदी भ्रमण: ट्विटरमा नाकाबन्दी ट्रेन्डिङ

अहिलेको काठमाडौंको चित्र यस्तो छैन । निलो शिरिष (ज्याकारान्डा) फुलिरहेको सितल सहरमा सामाजिक सञ्जाल भने माथि उल्लिखित तस्बिरलाई लिएर तातेको छ । यी तस्विर हुन् २०७२ को असोजमा शुरु भएको नाकाबन्दीको । नेपालको संविधानसभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि यसको विरोधमा मधेसकेन्द्रीत दलहरुले आन्दोलन सुरु गरेका थिए । यही आन्दोलनको समर्थन गर्दै भारतले करीब ५ महिना नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो ।

भूकम्पका कारण चीनसँग नेपाल जोड्ने प्रमुख नाका तातोपानी बन्द भएका बेला भारतले लगाएको नाकाबन्दीले नेपाली जनजीवनलाई निकै गहिरोसँग प्रभावित पारेको थियो ।

शुक्रबार नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले नै त्यो नाकाबन्दी लगाएको भन्दै सामाजिक सञ्जालमा उनलाई नाकाबन्दी सम्झिन आग्रह गर्दै निकै ट्विट र स्टासटसहरु लेखिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा मोदीको भ्रमणको अघिल्लो दिन ‘#BlockadeWasCrimeMrModi’ नामक ह्यासट्याग नेपाल ट्रेन्डिङमा १ नम्बरमा रह्यो । साँझ ८ बजेर २० मिनेटसम्म यो ह्यासट्यागमा २४ हजार ३ सय वटा ट्विट भएका थिए । नाकाबन्दी र मोदीलाई नै जोडेर अरु पनि ह्यासट्यागमा ट्विट भएका छन् । फेसबुकमा पनि थुप्रैले स्टासस र फोटो पोस्ट गरेका छन् ।

नाकाबन्दी बेला जनताले भोगेका दुखको स्मरण गर्दै मोदीले माफी माग्नुपर्ने यो ह्यासट्यागमा ट्विट गर्नेहरुले उल्लेख गरेका छन् । धेरैले नाकाबन्दीको बेलाका तस्बिरहरु पनि पोस्ट गरेका छन् ।

भ्रमणको पूर्वसन्ध्यामा मोदीले ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा भारत सहयोगी हुने भनेर ट्विट गरे पनि नेपाली ट्विटर प्रयोगकर्ताको ठूलो संख्या भने नाकाबन्दीबाहेक भारतीय सुरक्षाकर्मीले नेपालमा गरेको रेकीको समेत विरोधमा देखिए ।

प्रकाशित : वैशाख २७, २०७५ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?