कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सीमा क्षेत्रमा तस्करी : बासै बसेर रूख ढाल्छन् भारतीय तस्कर

मोहन बुढाऐर

भजनी (कैलाली) — कैलालीको पूर्वोत्तर क्षेत्रका राष्ट्रिय र सामुदायिक वनबाट दिनहुँजसो काठ तस्करी र वन्यजन्तु चोरीसिकार भइरहेको छ । सीमावर्ती क्षेत्रका भारतीय तस्करहरू खुलेआम नेपाली भूभागमा प्रवेश गरिरहेका छन् ।  

सीमा क्षेत्रमा तस्करी : बासै बसेर रूख ढाल्छन् भारतीय तस्कर

वसन्ता र मोहना जैविकमार्गमा पर्ने राष्ट्रिय तथा सामुदायिक वनक्षेत्रमा पसेर सीमावर्ती क्षेत्रका तस्करहरूले वर्षौंदेखि काठ तस्करी र वन्यजन्तुको चोरीसिकार गर्दै आएको स्थानीय बताउँछन् । नेपालतर्फ सुरक्षाकर्मी र वन प्रशासनको नियमित गस्ती नहुँदा तस्करी बढेको उनीहरूको भनाइ छ । जिल्लाको ६२ किलोमिटर सीमा भारतसँग जोडिएको छ ।


सीमावर्ती भारतीयहरू आफ्नो भूभागमा रहेको दुधुवा नेसनल पार्कमा पर्ने वनक्षेत्रमा सामान्य घाँसदाउराका लागि समेत पस्न पाउँदैनन् । पारि कडाइ भएपछि उनीहरू घाँसदाउराका लागि समेत नेपालतिरकै जंगल पस्छन् । ‘घाँसदाउरा त उनीहरूलाई छुटजस्तै हो,’ लालीगुराँस सामुदायिक वन भजनीका अध्यक्ष रामअवतार चौधरीले भने, ‘तर, काठ तस्करी गरी जंगलै सखाप पारिसके ।’ उनका अनुसार नेपालको सीमावर्ती वनमा भारतीयले दिनहुँ काठ चोरी तथा वन्यजन्तुको सिकार गर्दै आएका छन् । उनीहरू २/३ दिन जंगलमै बास बस्ने गरी हतियारसहित १०/१५ जनाको समूहमा आउने गरेका छन् ।


‘बिनाहतियारका सामुदायिक वनका हेरालुले उनीहरूसँग प्रतिकार गर्न सक्दैनन्,’ अध्यक्ष चौधरीले भने, ‘सीमापारिको भारतीय बजारसँगको सम्बन्धका कारण उपभोक्ताहरू नेपाली वनक्षेत्रमा पस्ने भारतीयसँग बोल्नै डराउँछन् ।’ नुनतेलका लागि भारतीय बजार धाउनुपर्ने बाध्यताका कारण स्थानीय बासिन्दा चुप लाग्नुपर्ने अवस्था रहेको उनले बताए । २०६१ सालमा भारतीय सिकारीलाई स्थानीयले पक्राउ गर्दा कैयौं दिन भारततर्फ आउजाउ नै बन्द हुन पुगेको चौधरीले सुनाए ।


‘भारत जान मात्रै बन्द भएन, उनीहरूले नेपालीका घर लुटे, दिदीबहिनीमाथि ज्यादती गरे,’ अर्का स्थानीय रामदास चौधरीले भने, ‘त्यसैले हामी देखेको नदेख्यै गरेर बस्नुपरेको हो ।’ भजनी क्षेत्रमा पर्ने सुन्दरी र लालीगुराँस सामुदायिक वन भारतसँग जोडिएको छ । ‘मोहना नदीको सीमावारि नेपालतर्फको जंगलका खयर एउटै बाँकी राखेका छैनन्,’ रामदासले भने, ‘सीमापारि केही दूरीमा खयरको कत्था, सलाइको काँटी र प्लाइउड उद्योग छ । तस्करले खयर र सिमलका रूख काटेर त्यहीँ पुर्‍याउने गरेका छन् ।’ उनका अनुसार भारतीय सिकारीले वसन्ता जंगलमा चार वर्षअघि एउटा पाटेबाघ मारेका थिए । चित्तल र बँदेललगायत वन्यजन्तुको पनि नियमितजसो सिकार गर्दै आएका छन् ।


काठ तथा वन्यजन्तु तस्करसँग भारतीय सीमा सुरक्षाबल एसएसबीको समेत मिलेमतो रहेको हुन सक्ने उनी बताउँछन् । ‘भरुवा बन्दुक, बञ्चरो, आरा काँधमा बोकेर दिनदहाडै सीमानदी वारपार गरेको के एसएसबीले देख्दैन ?,’ उनले भने, ‘बरु एसएसबीले उनीहरूलाई सीमा नदी तर्दै गर्दा हात हल्लाएर बिदाइ गरेको आफ्नै आँखाले देखेको छु ।’


वसन्ता जैविकमार्ग संरक्षण क्षेत्रमा कार्यरत विजयराज श्रेष्ठले सीमाक्षेत्रसँग जोडिएको वनबाट हुने चोरीसिकार तथा काठ तस्करी नियन्त्रणका लागि सशस्त्र वन सुरक्षा टोलीको नियमित गस्ती बढाउनुपर्ने बताए । स्थानीय बासिन्दाबाट सीमाको जंगल संरक्षित हुन सम्भव नभएको उनको भनाइ छ ।

प्रकाशित : वैशाख २७, २०७५ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?