कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोदीसँगै जितबहादुरलाई पनि ल्याइदिन आग्रह

नारायण शर्मा

नवलपरासी — विगत २४ वर्षदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको परिवारका सदस्य रहेका नेपाली युवक जितबहादुर सारुमगरका परिवारजनले मोदीको नेपाल भ्रमणका सन्दर्भमा जितबहादुरलाई पनि सँगै ल्याइदिन आग्रह गरेका छन् ।

मोदीसँगै जितबहादुरलाई पनि ल्याइदिन आग्रह

यसअघिको नेपाल भ्रमणका बेला मोदीले आफैसँगै जितबहादुरलाई ल्याएर पारिवारिक मिलन गराइएदिएका थियो । त्यसयता जन्मघरका सदस्यहरुले उनलाई फेरि भेटन पाएका छैनन् । मोदीको नेपाल भ्रमणका लागि जनकपुरमा भब्य स्वागतको तयारी भइरहँदा जितबहादुरका परिवारजन भने निरास छन् । अघिल्लोपटक मोदी आउदा सँगै ल्याएर हायात होटलमा पारिवारीक मिलन गराइदिएपछि १५ दिनसम्म जितबहादुर कावासोती नगरपालिका १ स्थित सुकुम्वासी बस्तीमा बसेर मोदी निवास गुजरात फर्केका थिए । त्यसयता परिवारजनले उनलाई भेटन पाएका छैनन् ।


‘छोराले फोन पनि गर्दैन भेटन पनि पाइदैन । यस्तो अवस्था त कसैको हुदैन होला,’ जितबहादुरकी ६६ वर्षीया आमा खगिसरा सारुले निरास हुँदै भनिन्, ‘त्यत्रो भारतीय प्रधानमन्त्रीको निवासमा हुर्के बढेर सँगै रहेको छोराले फोन त गर्दैन गर्दैन, यता बाट गर्दा पनि उठाउन्न ।’ त्यसो त जितबहादुरकी आमा, भाउजु र एक्ला दाजुले हप्तैपिच्छे फोन गर्छन् तर, जित बहादुरले फोन उठाउदैनन् । कहिलेकाही भुक्किएर उठाइहाले पनि हिन्दीमा बोल्छन्, लामो कुरा गर्न चाहान्नन् । फोन नउठाउने र उताबाट पनि सम्पर्क नगर्नाको कारण भने परिवारका सदस्यलाई केही थाहा छैन । सानैदेखि मोदी निवासमा हुर्किएका जितबहादुर हिन्दीमा बोल्छन् । सामान्य नेपाली बुझेपनि प्रतिउत्तर हिन्दीमै दिन्छन् ।


‘उसलाई भेटन आउँछौं भन्दा पनि जवाफ पाइदैन टेलिफोन सम्पर्क समेत हुन नसक्दा मन रुन्छ,’ जितबहादुरका दाजु दशरथ सारु भन्छन् ‘भारतीय प्रधानमन्त्रीको निजि निवास गुजरातमा जस्तोसुकै सुरक्षा ब्यबस्था भएपनि टेलिफोनमा कुरा गर्न त किन नपाइदो होला र ।’ सुकुम्वासी बस्तीमा बसेर काठको काम गरेर जिवन निर्वाह गर्दै आएका आमा, दाजु र भाउजु जितबहादुरको ब्यबहार देखेर हैरान र निरास छन् ।


७ वर्षको उमेरदेखि नरेन्द्र मोदीले आफनो निवास गुजरातमा राखेर हुर्काउने पढाउने गर्दै आएका जितबहादुरलाई यसअघिको आफ्नो नेपाल भ्रमणका बेलासँगै ल्याएर काठमाडौको हायात होटलमा परिवारसँग मिलन गराएका थिए । मोदीको भ्रमण सकिएपछि आफनो जन्मथलो कावासोतीको स्याउलीस्थित सुकुम्बासी टोलमा १५ दिन परिवारका सदस्यसँग बसेर जितबहादुर मोदी निवास गुजरात फर्केका थिए । उनी गुजरातस्थित राय विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययन गर्दै आएका छन् । अघिल्लो भ्रमणमा मोदीले जितबहादुरकी आमासँग ‘तपाईले जन्म दिनुभयो मैले कर्म दिएँ, अब २७ वर्षको पनि भयो । मैले तपाइलाई जिम्मा दिन आएको’ भन्दा प्रतिउत्तरमा खगिसराले ‘सबै तपाईले गर्नुभयो, अबको जिम्मेवारी पनि तपाइँकै,’ भनेपछि मोदीले फेरि उनलाई लगेका हुन् ।


मोदीसँग राम्रो सम्बन्ध रहेका नेपाली उद्योगी विनोद चौधरीसँगको पटकपटकको सम्पर्कमा तत्कालिन गुजरातका मुख्यमन्त्री रहेका मोदीले ७ वर्षको उमेरदेखि एकजना नेपाली (जित बहादुर) लाई आफूले पालनपोषण गर्दै आएको र उसको जन्म दिने परिवारसँग मिलन गराउने धोको पुरा गर्ने चाहना ब्यक्त गरेका थिए । त्यसपछि चौधरीले नवलपरासीको चोरमारामा रहेका जितबहादुरका परिवारजनको खोजी गराएका थिए । मोदी निवासमा ७ वर्षको कलिलो उमेरमा बेवारीसे अबस्थामा हिडदै पुगेका जितबहादुरले त्यतिबेला मेरो घर नवलपरासीको चोरमारा झयाल्बासमा हो भन्ने कुरा टिपेर राखेका थिए । त्यसैका अधारमा जितबहादुरका परिवारजनको खोजी गरिदिन आग्रह गरेपछि चौधरीको टिमले चार महिना लगाएर जितबहादुरको परिवारजनलाई भेटाएको हो । मोदीले आफैंले जितबहादुरका परिवारसँग पुनर्मिलन गराइदिने धोको उनको अघिल्लो भ्रमण पुरा भएको हो ।


मोदीको नेपाल भ्रमणका खबर सुनिरहँदा जितबहादुरको परिवारजनमा भने निराशा छ । दिनहुजसो सकुम्बासीमा ओहोरदोहोर गर्नेहरुले ‘छोरो आउला नी ?’ भन्दा उनीहरुलाई नरमाइलो लाग्छ । कतिले त छोराका भारतका कति शहरमा घर होलान् भनेर सोध्ने गर्दा मन रुने गरेको आमाको भनाइ छ । जितबहादुरको परिवारमा आमा, दाजु दशरथ, भाउजु र तीन दिदी बैनी छन् । २९ वर्षअघि दशरथले भारतको दिल्लीमा एक होटलमा काम गर्ने क्रममा भाइलाई पनि सँगै लगेका थिए । भाइ होटलबाट एकाएक हराएका थिए ।

प्रकाशित : वैशाख २७, २०७५ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?