मोदी भ्रमण: मुक्तिनाथमा तयारी पूरा

दीपक परियार

मुस्ताङ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा मुक्तिनाथ क्षेत्र तम्तयार अवस्थामा छ । जिल्ला प्रशासन कार्यालय, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र स्थानीयवासीले स्वागतका लागि तयारी गरेका छन् ।

मोदी भ्रमण: मुक्तिनाथमा तयारी पूरा

मुक्तिनाथ क्षेत्र, पुथाङ र रानीपौवामा सरसफाइ गरिएको छ । मन्दिरका १०८ धारा सुनौलो रंगले रंगाइएका छन् भने बिग्रिएका धारा मर्मत गरिएका छन् । मुख्य मन्दिर, सहायक मन्दिर, गुम्बा र शौचालयमा रङरोगन गरिएको छ । मोदीको आगमनपछि विश्रामस्थलका रूपमा मन्दिरको आडैमा विशिष्ट अतिथि कक्ष तयार गरिएको छ । मन्दिर मर्मतसम्भारका सबै काम सकिएको मर्मत सुधार समिति संयोजक फेङचुक छेप्तेन गुरुङले बताए । पुरानो एकसहित ६ हेलिप्याड बनाइएका छन् । मोदीको स्वागतमा हेलिप्याडदेखि मन्दिरको मूल गेटसम्म ६ वटा स्वागत द्वार बनाइँदै छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, स्थानीय पुराङ र रानीपौवा गाउँ, जिल्ला समन्वय समिति, मुक्तिनाथ विकास समिति, मुक्तिनाथ स्थानीय संरक्षण समिति र जनप्रिय युवा क्लबले एक/एक गेट बनाउँदै छन् । युवा क्लबका सचिव छिरिङ नोर्बुले स्थानीयस्तरबाट मोदीलाई स्वागत गर्न गेट बनाएको बताए । हेलिप्याडबाट मन्दिरसम्म पुग्न गाउँपालिका कार्यालयले ६ सय मिटरको रातो कार्पेट विछयाउने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए ।

सर्वदलीय बैठकले जिल्ला समन्वय समिति संयोजक छिरिङल्हामु गुरुङको संयोजकत्वमा जनप्रतिनिधि र स्थानीय समाजसेवी सम्मिलित स्वागत समिति बनाएको छ । प्रजिअ शिशिर पौडेलले स्वागतको तयारी पूरा भइसकेको बताए । ‘अब मोदीजीको आगमन कुरेर बसेका छौं,’ उनले भने ।

सुरक्षामा कडाइ
मोदीको सुरक्षार्थ तीन तहको सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ पौडेलले बताए । पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा सेनाले सुरक्षा प्रदान गर्नेछन् । त्यसबाहेक भारतको विशेष सुरक्षा दस्ता मुक्तिनाथ आएको छ । जिल्लाबाहेक प्रदेश प्रहरी कार्यालय पोखरा र बागलुङबाट प्रहरी खटिएका छन् । सेनाका दुई गुल्म र सशस्त्रको एक गुल्मबाट सुरक्षाकर्मी खटिने छन् । बेनीबाट मुक्तिनाथ आउने बाटोमा ठाउँठाउँमा चेकजाँचमा कडाइ गरिएको छ । बुधबारबाटै मुक्तिनाथ क्षेत्र र बजारमा प्रहरी तैनाथ भइसकेका छन् । थोरङ्ला पास हुँदै मनाङ निस्कने पदयात्रीलाई वैकल्पिक पदयात्रा मार्ग अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मुक्तिनाथबाट दुई घण्टामाथिको चेम्बरफुबाट डाइभर्ट भएर छेङगुर, झोङ, कागबेनी हुँदै जोमसोम जान एक्याप र टानलाई सूचना पठाएको छ ।

बेनी–कोरला सडक खण्ड मर्मत कार्य पनि स्थगित गरिएको छ । म्याग्दीको गलेश्वरबाट मुस्ताङको लेतेसम्मको सडक बिहान ११:३० देखि दिउँसो २:३० सम्म बन्द हुने भए पनि मोदीको भ्रमणलाई लक्षित गर्दै बुधबारबाट खुलाइएको छ । प्रजिअ पौडेलले भने, ‘बन्दोबस्तीका सामान ओसारपसार, सुरक्षाकर्मी, अतिथि आवागमनलाई अवरोध नपुगोस् भनेर बाटो खुलाइएको हो ।’ प्रशासनले शुक्रबार बेलुका ४ बजेबाट शनिबार मध्याहन १२ बजेसम्म मन्दिरमा सर्वसाधारण प्रवेशमा रोक लगाउने भएको छ । उक्त अवधिमा पर्यटकले पनि पुराङ र रानीपौवा बजार प्रवेश पाउने छैनन् ।

आकस्मिक उपचारको व्यवस्था
मुक्तिनाथ मन्दिर परिसरमा बिहीबार मिनी सघन उपचार कक्ष स्थापना भएको छ । काठमाडौंको नेपाल मेडिसिटी अस्पतालका चिकित्सक एवं प्राविधिक उपचार कक्षमा खटिएका छन् । अस्पतालका इमर्जेन्सी कन्सल्टयान्ट सञ्जय कार्कीको नेतृत्वमा तीन सदस्यीय टोलीले बिहीबारबाट सेवा प्रदान गरेको छ । कार्कीका अनुसार जस्तोसुकै इमर्जेन्सी केसको उपचार मुक्तिनाथमै सम्भव हुनेछ । ट्रमा, हृदयाघात, लेक लाग्ने, मस्तिष्कघातलगायतको उपचार गर्न सकिने उनले जनाए । कार्कीका अनुसार सघन उपचार कक्षमा पोर्टेबल भेन्टिलेटर, कार्डियाक मनिटर, गामा ब्याग, सिरिन्ज पम्प, इन्फयुजन पम्पजस्ता अत्याधुनिक मेडिकल उपकरणको व्यवस्था गरिएको छ । जटिल अवस्थामा प्रयोग गर्न २ पिन्ट रगत पनि टोलीसँग छ । मोदीको मुक्तिनाथ भ्रमणसँग सम्बन्धित सबैलाई सेवा प्रदान गर्ने टोलीले जनाएको छ । शल्यक्रिया गर्नुपर्ने अवस्थामा नेपाली सेनाको हेलिकप्टर तम्तयार रहने बताइएको छ ।

हिउँले छपक्कै
मुक्तिनाथ क्षेत्रमा बुधबार र बिहीबार भारी हिमपात भएको छ । बुधबार केही कम परे पनि बिहीबार करिब एक फुट हिउँ परेको एक्याप मुक्तिनाथ चेकपोस्टका पर्यटन सहायक प्रेम बस्नेतले बताए । बाक्लो हिमपातले वृद्धवृद्धा तीर्थयात्रीले सास्ती खेप्नुपर्‍यो । बिहीबार बिहान केहीबेर सवारी आवागमन अवरुद्ध भयो । स्थानीय होटल व्यवसायी छिरिङ नोर्बुले बेमौसममा हिउँ परेको बताए । वैशाखको सुरुवातमा पर्ने गरे पनि जेठ सुरु हुने बेलामा हिउँ परेको पहिलोपल्ट थाहा पाएको उनले सुनाए ।

प्रकाशित : वैशाख २८, २०७५ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?