कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मोदी भ्रमण: जनकपुरमा कडा सुरक्षा

जनकपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि जनकपुरमा सबै तयारी पूरा गरिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मोदी भ्रमणलाई ऐतिहासिक र यादगार बनाइने बताएका छन् ।

मोदी भ्रमण: जनकपुरमा कडा सुरक्षा

प्रधानमन्त्री मोदी भारतीय वायुसेनाको हेलिकप्टरबाट शुक्रबार बिहान १० बजेर १५ मिनेटमा जनकपुर विमानस्थलमा अवतरण गर्नेछन् । मुख्यमन्त्री राउतका अनुसार मोदी विमानस्थलमा अवतरण गरेपछि त्यहाँ सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ । विमानस्थलमा केहीबेर विश्रामपछि मोदी गाडीबाट जानकी मन्दिर पुग्नेछन् । जानकी मन्दिरबाट ११ बजेर २५ मिनेटमा रंगभूमि मैदान पुग्ने मोदीलाई त्यहाँ नागरिक अभिनन्दन गरिनेछ । नागरिक अभिनन्दनपछि उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

मोदीको नागरिक अभिनन्दनका लागि रंगभूमि मैदानमा विशाल मञ्च र पण्डाल निर्माण गरिएको छ । उनी दक्षिणी ढोकाबाट मैदान प्रवेश गर्नेछन् । मैदानको उत्तरी ढोका सर्वसाधारणका लागि शुक्रबार १० बजेसम्म खुला रहने मुख्यमन्त्री राउतले बताए । मोदी आउनुअघि रंगभूमि मैदानमा मैथिली र भोजपुरी संस्कृति झल्किने झाँकी र गीतसंगीत प्रस्तुत गरिने भारतीय दूतावासले जनाएको छ ।

रंगभूमि मैदानमा करिब १ घण्टा बिताएपछि मोदी हेलिकप्टरबाटै काठमाडौं पुग्नेछन् । काठमाडौंमा दुवै देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ । जनकपुरमा मोदी पुग्ने तीनै स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ । जनकपुरमा मात्रै ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । मोदीको कारगेड गुड्ने सडक मार्गमा बिहीबार अपराह्न कडा सुरक्षाबीच ‘डेमो’ गरिएको छ । जनकपुरको सडकमा नेपाली सेनाको बख्तरबन्द गाडी तैनाथ गरिएको छ । भ्रमणको समाचार कभरेज गर्न ठूलो संख्यामा भारतीय मिडियाका प्रतिनिधि जनकपुर आइपुगेका छन् ।

भारतीय दूतावासले बिहीबार जनकपुरमा आयोजना गरेको प्रेस ब्रिफिङमा काउन्सिलर बीसी प्रधानले मोदीको नेपाल भ्रमण तालिका सार्वजनिक गरे । ‘प्रधानमन्त्री मोदीको भ्रमणले नेपाल–भारतबीचको सबै सम्बन्धलाई मजबुत बनाउनेछ,’ प्रधानले भने, ‘उहाँको भ्रमणपछि नेपालका लागि धेरै महत्त्वपूर्ण प्रोजेक्टहरू भारतले ल्याउनेछ ।’

प्रकाशित : वैशाख २८, २०७५ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?