नेपाल बिना धाम अधुरो, राम पनि अधुरो : प्रम मोदी

जनकपुरको विकासको लागि एक अर्ब रुपैयाँ सहयोगको घोषणा

काठमाडौँ — जनकपुरको बाह्रबिगाहमा नगरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको विकासको लागि एक अर्ब रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

नेपाल बिना धाम अधुरो, राम पनि अधुरो : प्रम मोदी

जनकपुर र त्यस वरपरका क्षेत्रको विकासका लागि नेपाल सरकारले गरिरहेको काममा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले जनकपुरको विकासका लागि भारत सरकारले नेपाल सरकार र प्रान्तीय सरकारसँग मिलेर काम गर्ने पनि बताएका छन् । 'यो सहयोग भारतको सवा सय करोड जनताको तर्फबाट माता जानकीको चरणमा चढाउँछु,' उनले भने ।


प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनको सुरुवात मैथली गरेका थिए । त्यसपछि भोजपुरी र नेपालीमा पनि केही बोलेर हिन्दीमा सम्बोधन गरेका थिए ।


मोदीले आफू पहिलो पटक नेपाल आउँदा नै जनकपुर आउन चाहे पनि नसकेको बताएका थिए । उनले नेपाल बिना भारतको धार्मिक र सांस्कृतिक आस्था अधुरो हुने पनि बताएका थिए । 'नेपाल बिना धाम अधुरो, राम पनि अधुरो,' उनले भने ।


उनले मिथिलाको संस्कृति अद्भूत रहेको बताउँदै पुरै दुनियामा मिथिला संस्कृतिको स्थान उच्च रहेको बताए । 'जनकपुर धाम आउँदा मलाई दोस्रो स्थानमा पुगे जस्तो लागेन,' उनले भने, 'यहाँ सबै आफ्नो मान्छे, आफ्नो पन ।' उनले आफ्नो सम्बोधनमा पटकपटक नेपाल अध्यात्म र दर्शनको केन्द्र भएको दोहोर्‍याएका थिए ।


'नेपालको विकासमै क्षेत्रीय विकासको सुत्र जोडिएको कुरा हामीलाई थाहा छ,' उनले भने, 'इतिहास साक्षी छ, भारत र नेपाल एक भएर धेरै अप्ठ्याराहरुको सामना गरेको छ । भारत विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्न अघि बढिरहेको छ । नेपाल पनिसँगै अघि बढिरहेको छ ।'


मोदीले विकासको पहिलो सर्त लोकतन्त्र भएको र त्यसलाई सशक्त बनाउने दिशामा नेपाल रहेको बताएका थिए ।

'एक वर्षमा तीन तहको चुनाव सम्पन्न गरेकोमा म बधाई दिन्छु,' उनले भने, 'पहिलो पटक एकै चोटी सात प्रान्तमा चुनाव हुनु उदाहरणीय हो । लोकतन्त्रले नै नेपाल र भारतको सम्बन्धलाई थप मजबुत बनाउँछ ।'

उनले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल र सुखी नेपालको भिजन पुरा गर्नका लागि सवा सय करोड भारतीय जनताका तर्फबाट शुभकामना समेत दिएका थिए । उनले भारत र नेपाल सबै प्रकारबाट जोडिनुपर्ने बताएका थिए । 'नेपाल र भारत हाइवेले जोडेनु पर्छ, इन्फरमेशन हाईवले, बिजुली, रेल्वे, हवाई सेवाको विस्तार, इन्लेण्ड वाटर मार्गले सबैले जोड्नु पर्छ । जल, थल वा अन्तरीक्षमा पनि जोडिनु पर्छ,' उनले भने, 'त्यसैले हामी कनेक्टिभिटमा जोड दिइरहेको छु । रक्सौलबाट काठमाडौं जोड्नका लागि जोडतोडले अघि बढिरहेका छौं । नेपालको जलमार्ग भारतको जलमार्गसंग जोडियो भने विशाल समुद्रसँग जोडिने छ । यसले नेपालको उत्पादन बाहिर पुग्ने छ । उद्योग खुल्ने छ ।'


उनले नेपालमा बुद्ध र जैनहरुको पनि धेरै आस्थाका केन्द्रहरु रहेकाले त्यसलाई पनि भारतका धार्मिकस्थलहरुसँग जोडेर सर्किट बनाउनुपर्ने बताए ।



प्रकाशित : वैशाख २८, २०७५ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?