सुन तस्करी र हत्या प्रकरण : सबै कसुरदार देखिएकाले थुनामै राख्न माग

आइतबारदेखि प्रतिवादीका वकिलको बहस

विराटनगर — सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा सरकारका तर्फबाट शुक्रबार सरकारी वकिलहरुको बहस सकिएको छ । 

सुन तस्करी र हत्या प्रकरण : सबै कसुरदार देखिएकाले थुनामै राख्न माग

बिहीबार ४ जनाले जिल्ला अदालत मोरङसमक्ष ‘थुनछेक’ बहस गरेका थिए । थप ३ जनाले शुक्रबार बहस गर्दै उपलब्ध प्रमाणका आधारमा प्रतिवादीहरु कसुरदार देखिएको भन्दै थुनामै राखेर थप अनुसन्धान र कारबाही अघि बढाउन माग गरेका छन् । उनीहरुले इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष बहस प्रस्तुत गरेका थिए । बहसमा सहभागी उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुली, मोरङका सहन्याधिवक्ताद्वय रोहित पोखरेल र पदम वस्तीले सरकारका तर्फबाट बहस गरेका थिए ।


अभियुक्तहरुको घरबाट बरामद गरिएका रजिष्टर र अन्य कागजातले सुनका कारोबारी हुन् भन्ने प्रस्ट भएको उल्लेख गर्दै प्रतिवादी स्वयंले बयानमा सुन आएको स्वीकारेकाले सुन बरामद हुनु/नहुनु नै अभियुक्तहरु कारोबारी होइनन् भन्न सकिने आधार हुन नसक्ने बताए । टेलिफोन ‘कल डिटेल्स’ र इजलासमा प्रस्तुत भिडियो रेकर्डबाट कसुरदार भएको प्रमाणित हुने उनीहरुले अदालतसमक्ष जिकिर गरेका थिए । इजलासमा अभियुक्तहरुले प्रहरीमा दिएको बयानको भिडियो रेकर्ड देखाइएको थियो । करिब ५ मिनेट देखाएपछि प्रतिवादीतर्फका कानुन व्यवसायीले बयान पढिसकेको भनेकोले रोकिएको थियो ।


सरकारद्वारा गठित उच्चस्तरीय समितिले लिएको बयानको भिडियो रेकर्ड पनि अदालतमा प्रस्तुत गरिएको मोरङ जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बताए । यसअघि बिहीबार बहस गर्दै महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता गोपाल रिजाल, मोरङका न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, धनकुटाका मनोज आचार्य, सप्तरीका पुण्यप्रसाद सापकोटाले पनि अभियुक्तहरुलाई थुनामै राखेर कारबाही अघि बढाउन माग गरेका थिए । ‘तत्काल प्राप्त प्रमाणका आधारमा सबै अभियुक्तहरु कसुरदार छन्, उनीहरुलाई थुनामै राखेर कारबाही अघि बढाइनुपर्छ’ उनीहरुले भने ।


प्रतिवादीतर्फका तर्फबाट आइतबारदेखि कानुन व्यवसायीले बहस गर्ने भएका छन् । यसका लागि ८० जनाभन्दा बढीले अदालतमा नाम दर्ता गराएका छन् ।


साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले १० दिनअघि १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दर्ता गरेको थियो ।


मुद्दा दर्तापछि अदालतले पाँच दिन लगाएर प्रहरी नियन्त्रणका सबै अभियुक्तहरुको बयान लिएको थियो । यो मुद्दाका कुल ६३ अभियुक्तमध्ये मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे)सहित ३३ जना फरार छन् ।

प्रकाशित : वैशाख २८, २०७५ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?