कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हेलिकप्टरमा किन आएनन् मोदी ?

सुरज कुँवर

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पटनाबाट हेलिकप्टर चढेर जनकपुर आउने तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको थियो । त्यसैअनुसार निर्धारित समय बिहान सवा १० बजे जनकपुर विमानस्थलमा हेलिकप्टरको प्रतीक्षा भइरहेको थियो । तर, उक्त समयभन्दा १० मिनेटपछि जनकपुरको आकाशमा एटीआर विमान देखियो । जसमा थिए, मोदी ।

हेलिकप्टरमा किन आएनन् मोदी ?

उनी पटनाबाट नभई दिल्लीबाट एयर इन्डियाको विमानमा जनकपुर ओर्लिए । उनी चढेको एटीआर विशेष विमान नभई एयर इन्डियाको भारतका विभिन्न क्षेत्रीय सहरमा उडान भर्ने कमर्सियल विमान थियो ।

मोदी सवार विमान जनकपुरमा अवतरण गर्दासम्म टेलिभिजन संवाददाताहरू ‘मोदी पटनाबाट हेलिकप्टर चढेर केहीबेरमा अवतरण गर्दैछन्’ भन्दै थिए । स्रोतका अनुसार सुरक्षाका कारण मोदीको विशेष उडान विमानमार्फत गराइएको थियो । ‘हेलिकप्टर उपकरणमार्फत नभई जहाजको तुलनामा धेरै तलबाट उडान गर्ने भएकाले विमानबाट गरिएको हुन सक्छ,’ उक्त स्रोतले भन्यो । एयर इन्डियाले अढाई वर्षअघि मात्रै किनेको उक्त विमानले अवतरण गर्नुअघि एक फन्को लगाएको थियो । जनकपुर विमानस्थल प्रमुख मुरारी पौडेलका अनुसार जहाजका कमान्डरले नयाँ ठाउँ भएकाले जनकपुरमाथिको आकाशमा एक फन्को लगाएपछि पश्चिमतर्फको धावनमार्गको विन्दुबाट अवतरण गराएका थिए । यसअघि बुधबार एयर इन्डियाकै यही मोडलको विमानले जनकपुरमा ‘टेस्टफ्लाइट’ गरेर दिल्ली फर्केको थियो ।

काठमाडौंस्थित टावरका एक एटीसीका अनुसार शुक्रबार मोदी बोकेर आइपुगेको विमान काठमाडौंदेखि नयाँदिल्लीका लागि नियमित उडान हुने कमर्सियल रुट हुँदै पर्साबाट नेपालभित्र छिरेको थियो । १९ हजार फिटमा उडेको उक्त विमानलाई बनारस विमानस्थलले नेपाली आकाशमा छिर्नुअघि ‘हयान्डओभर’ गरेको थियो । पर्साबाट छिरेको विमान सिमराको आकाशबाट लालबन्दीतर्फ मोडिएको थियो । त्यहाँबाट उक्त विमानलाई काठमाडौंको एयर हेर्ने टावरले जनकपुर टावरको जिम्मा लगाएको थियो । सिमरासम्म उपकरणको सहायतामा हुने (आईएफआर) उडान भरेको विमान सिमरापछि हेरेर उडान भर्ने नियम (भीएफआर) बाट जनकपुर पुगेको थियो ।

दिल्लीबाट सुरु भएको मोदीको उडान अघि–अघि भारतीय सेनाको बोइङ विमान पनि आएको थियो । त्यो विमान जनकपुरतर्फ नलागी सिमराको आकाश हुँदै काठमाडौंतर्फ मोडिएको थियो । मोदी सोझै जनकपुर जाने भएपछि नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षाका लागि काठमाडौंबाट एउटा दमकल पठाएको थियो । दमकलसहित विमानस्थलका सञ्चार उपकरण, विद्युत्, धावनमार्गमा हुन सक्ने सम्भावित समस्या हल गर्न काठमाडौंबाट प्राविधिकहरू पनि पठाइएका थिए । ‘पहिलो पटक जनकपुर विमानस्थलको भीभीआईपी उडानबाट टेस्ट भयो, क्षेत्रीय सहरबाट हुन सक्ने उडान यो विमानस्थलले गर्न सक्ने रहेछ,’ विमानस्थल प्रमुख पौडेलले भने ।

जनकपुरबाट मोदी १२ बजेर ४० मिनेटमा काठमाडौं आउने परराष्ट्रको तालिका भए पनि करिब डेढ घण्टा ढिलोमात्रै उनको विमान उडेको थियो । उक्त ढिलाइका कारण काठमाडौं विमानस्थलले तीन पटक ‘नोटाम’ जारी गर्नुपरेको थियो । विमानस्थल प्रमुख राजकुमार क्षत्रीले मोदीको उडानका कारण अन्य ट्राफिकमा असर नपरेको बताए । विशेष उडानका बेला विमानस्थलले अरू कमर्सियल उडानको तालिका सार्ने गरी निकाल्ने सूचनालाई नोटाम (नोटिस टु एयरम्यान) भनिन्छ । यस्ता उडानलाई प्राथमिकता दिनुपर्छ । नेपालभित्र उडान हुने रुटमा जाने र फर्किने हवाई बाटोहरू जोडा र बिजोडा नम्बरको उचाइमा तय गरिएका छन् । यस्ता भीभीआईपी उडानले भने यो नियम पालना नगर्दा पनि हुन्छ । अर्थात् जोडा वा बिजोडा जुनसुकै उचाइमा उड्न छुट हुन्छ । सुरक्षाका कारण अन्य विमानलाई भीभीआईपी उडानभन्दा २ हजार फिटको दूरीमा राखिएको हुन्छ । अनि एटीसीले यो विमान होल्डमा नराखेर अवतरणका लागि प्राथमिकता दिन्छन् ।

उच्च स्रोतका अनुसार मोदीको दिल्लीबाट जनकपुरका लागि हुने उडान तालिका दुई दिनअघि नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको थियो । नेपालमा हुने जुनसुकै भीभीआईपी उडानको अनुमति अनिवार्य लिनैपर्छ । काठमाडौंस्थित भारतीय दूतावास अनि परराष्ट्र मन्त्रालय हुँदै प्राधिकरणमा स्वीकृतिका लागि पठाइएको फ्लाइट प्लानमा उडान भर्ने कमान्डर पाइलटसहितको जानकारी लेखिएको हुन्छ । यस्तो उडानमा प्राधिकरणले ल्यान्डिङ, पार्किङ तथा कम्युनिकेसन/नेभिगेसन शुल्क छुट दिन्छ । ‘यसबाहेक उडान अनुमति दस्तुरबापत लाग्ने ५६ दशमलव ५ डलर पनि छुट दिएका छौं,’ स्रोतले भन्यो । तर, नेपाल आउने प्रधानमन्त्रीसहित अन्य भम्रण दलका सदस्यबाट प्राधिकरणले विमानस्थल विकास शुल्क प्रतियात्रुका दरले एक हजार र यात्रु सेवा शुल्क आन्तरिक विमानस्थलमा २ सय र अन्तर्राष्ट्रियमा ११ सय ३० रुपैयाँ अनिवार्य लिने गरेको संलग्न स्रोतले जनाएको छ ।

मोदी भ्रमणका लागि ५ वटा भारतीय सेनाका हेलिकप्टर काठमाडौंमा छन् । भारतीय सेनाका पाइलट एक साताअघि नै काठमाडौं आई जोमसोम पुगेर फर्किसकेका छन् । ‘भारतीय पाइलटहरूले काठमाडौं, पोखरा, जोमसोमको रुटमा टेस्ट फ्लाइट सकिसकेका छन्,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘शनिबार मोदी काठमाडौंबाट सोझै पोखराको आकाश हुँदै मुक्तिनाथ जाँदै छन् ।’ ती अधिकारीका अनुसार प्राधिकरणबाट स्वीकृत उडान तालिकामा मोदी सवार रहने हेलिकप्टर पोखरा र जोमसोममा अवतरण नगरी सोझै मुक्तिनाथ पुग्ने तालिका छ । मोदीको उडान हुँदा त्यो रुटमा अरू कमर्सियल उडान भने हुने छैनन् ।

मोदी सवार हुने हेलिकप्टर काठमाडौं, पोखरा र जोमसोम विमानस्थलका एटीसीहरूको निगरानीमा रहने छन् । नेपाली सेनाको एउटा हेलिकप्टर शुक्रबारै पोखरा पुगिसकेको छ । शनिबार बिहान मोदीको हेलिकप्टर उड्नुअघि पर्यटनमन्त्री रवीन्द्र अधिकारी सेनाको हेलिकप्टर लिई जोमसोम पुग्ने तालिका छ । उनी हेलिकप्टरबाटै पोखरामा अवतरण नगरी काठमाडौं आउने छन् ।

प्रकाशित : वैशाख २९, २०७५ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?