२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

हराएको सुन र कारोबारीको नजिकः विशेष अनुसन्धान समिति

बिहान ७ देखि राति १ बजेसम्म अनुसन्धान समितिले काम गर्दै
जितेन्द्र साह

विराटनगर — विशेष अनुसन्धान समितिले हराएका र अन्य समेत गरी ४ हजार किलो सुनको नजिक पुगेको जनाएको छ । समितिका एक सदस्यका अनुसार  पगालेको अवस्थामा भएपनि सुन र त्यसको किनबेचमा संलग्नहरु पत्ता लागिसकेको बताए । ‘कुनै पनि बेला उनीहरुलाई पक्राउ गर्छौं,’ती सदस्यले कान्तिपुरसँग भने ।

हराएको सुन र कारोबारीको नजिकः विशेष अनुसन्धान समिति

सुन तस्करी समूहमा आबद्ध मोरंग उर्लाबारीका सनम शाक्यको हत्या भएको ३३ दिनपछि मन्त्रिपरिषदले गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा ९ सदस्यीय विशेष अनुसन्धान समिति गठन गरेको थियो । हराएको सुनको खोजी गर्ने क्रममा तस्करहरुले उर्लाबारीको जंगलमा लगेर लगातार पाँच दिनसम्म यातना दिँदा १८ फागुनमा शाक्यको मृत्यु भएको थियो ।


‘पत्रपत्रिकामा आएजस्तो साढे ३३ किलोको मात्र नभएर त्योभन्दा बढी ४ हजार किलो सुनलाई खोजी गरिरहेका थियौँ, त्यसको घेराबारको नजिक पुगेका छौँ,’समितिका ती सदस्यले भने,‘कसले बेचे ? कसले किने ? सबको पोल खुलिसकेको छ ।’ उनले सुन बरामद नभएको जनगुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको हुनाले प्राथमिकतामा राखेर सम्पूर्ण स्रोत परिचालन गरी खोजी गरिएको बताए ।


गत ९ माघमा तस्करले दुबईबाट ल्याएको साढे ३३ किलो सुन जिम्मा लिने एक विमान सेवाका कर्मचारी सानु बनको फोन सम्पर्कमा रहेका सबैको नालीबेली खोतलिएको ती सदस्यले जनाए ।


उक्त गिरोहका लागि काम गरिरहेका बनको २२ माघमा विमानस्थलभित्रै टंयाकरको ठक्करबाट मृत्यु भएको थियो । ज्यान गुमाउनु अघिसम्म बनसँग फरार अभियुक्तहरुले सम्पर्क गरिरहेको र तीमध्ये फुल्दुंग भन्ने व्यक्ति पक्राउ भइसकेको ती सदस्यले बताए ।


उनको अनुसार सुन तस्कर गिरोहका मुख्य सदस्य मध्येका एक भुजुंग गुरुङको चालक फुल्दुंग भन्ने मनाङका लक्षुबहादुर गुरुंगलाई बुधबार पक्राउ गरिएको हो । उनीबाट धेरथोक खुलासा भइसकेको उक्त समितिका ती सदस्यले दाबी गरे । हाल प्रहरी हिरासतमा रहेका भुजंग २०४०/४५ सालदेखि सुन तस्करीमा संलग्न रहेको समितिले जनाएको छ ।


यहि मुद्दाको अनुसन्धानको सेरोफेरोमा रहेर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बिहीबार फुल्दुंग विरुद्ध तत्काललाई केही सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दा दर्ता गरी २८ दिनको म्याद लिइएको ती सदस्यले बताए । अन्य कुनै उपाय नलागेपछि डिस्क होमबाट विवरण लिएर फुल्दुंगसम्म पुगेको समितिले जनाएको छ ।


‘निकै खोज्दा पनि फुल्दुंग फेला परिरहेका थिएनन्,’ ती सदस्यले भने, ‘डिस्क होमले राख्ने व्यक्तिगत विवरण खोतल्दै उनीसम्म पुग्यौँ ।’ फरार अभियुक्तहरु र सुनको उच्चस्तरमा खोजी जारी राखिएको ती सदस्यले बताए । ‘यस्तो घटनाको अनुसन्धानमा यतिउति हद म्याद वा समय हुन्न,’ समितिका संयोजक पौडेलले भने, ‘अनुसन्धान जारी छ, रहस्यको पाटा खुल्दै छ ।’


हालसम्म यो प्रकरणमा ३० जना विरुद्ध मुद्दा चलिरहेको छ भने ३३ जना अझै फरार छन् । यो घटना सम्वद्ध तीन जनाको मृत्यु भइसकेको छ भने दुई जनालाई सोधपुछका लागि हिरासतमा लिइएको समितिले जनाएको छ ।


मुद्दा दर्ता गर्ने ६० दिनको म्याद भएपनि सुन भरिया शाक्यको हत्या भएको ३३ दिनपछि उक्त समिति गठन भएको र २७ दिनसम्म दिनरात काम गरी मुद्दा दर्ता गरिएको पौडेलले बताए । ‘अहिले पनि बिहान ७ बजेदेखि राति १ बजेसम्म काम गरिरहेका छौँ, ’ उनले भने । ती सदस्यका अनुसार सरकारको अहिलेसम्मकै महंगो अनुसन्धान मध्येको एक रहेको बताए ।

कडा सुरक्षासहित अभियुक्त लिएर आवागमन गर्दा विमान खर्च बापत मात्रै १० लाख रुपैयाँ बढी खर्च भइसकेको समितिले जनाएको छ ।


विशेष अनुसन्धान समिति हराएको सुनको नजिक लगभग पुगिसकेको तथ्य शुक्रबार बिहान मोरंग जिल्ला अदालतमा खुलासा भएको थियो । अदालतका एक अधिकृतले प्रहरीसँग जिज्ञासा राख्दै भने, ‘थुनछेकसँगै सुनछेक पनि हुनुपर्यो नि । ’ उनको यो जिज्ञासामा अर्का प्रहरी अधिकृतले सहजै जवाफ दिँदै भने, ‘चाँडै सुनछेक हुँदैछ । ’


सुन तस्करी र सनम हत्या प्रकरणमा बिहीबारदेखि मोरंग जिल्ला अदालतमा थुनछेकको बहस सुरु भएको छ । यो बहस सकिनु अगावै सम्भावित सबै थलोमा सुनको खोजी गर्ने गरी एक अनुसन्धान टोली बिहीबार साँझ विराटनगर आएको स्रोतले जनाएको थियो ।


उनीहरुले विराटनगर, धरान र भरिया सनम शाक्यको हत्या गरिएको मोरंग उर्लाबारीको जंगल, गोरे भन्ने चुडामणि उप्रेती र मोहन काफ्लेको घर एवं उनीहरुको निकटको घरमा समेत खानतलासी गर्ने स्रोतले जनाएको छ ।


मोरंग, सुनसरी र झापाका केही शंकास्पद व्यवसायीसँग दुई वर्षको अवधिमा गरेको सुनको किनबेच विवरण र स्रोतबारे टोलीले सोधपुछ गर्ने स्रोतले जनाएको छ । ‘भारी परिमाणमा तस्करीको सुन खपत हुने थलोमध्ये विराटनगर पनि एक हो, ’ अनुसन्धान स्रोतले भन्यो,‘दुई वर्षको अवधिमा तस्करहरुले सबैभन्दा बढी ओहोरदोहोर गरेको थलो पनि यो हो ।’


स्रोतको अनुसार लुटेरा समूहले पहिला नै व्यवसायीहरुसँग सेटिंग मिलाएर स–सानो परिमाणमा काँचो सुन विक्री गरिसकेको प्रबल सम्भावना छ । समितिका ती सदस्यका अनुसार विराटनगर मात्र नभएर काठमाडौं, विरगञ्ज, धरान र छिमेकी भारतसम्म नै खोजी गरेर एउटा निश्कर्षमा पुगिसकेका छौँ । ‘अब धेरै कुर्नु पर्दैन होला, जेजस्तो अवस्थामा भएपनि सुन, लुटेरा र क्रेता सबै प्रहरी हिरासतमा हुन्छन्,’ ती सदस्यले भने, ‘सबैतिरबाट सहयोग पाएका छौं ।’


हिरासतमा रहेका ३० जना अभियुक्त, उनीहरुका आफन्त, नागरिक समाज र दुवै पक्षका वकिलको बाक्लो उपस्थिति एवं कडा सुरक्षा प्रबन्धबीच मोरंग जिल्ला अदालतको ३ नम्बर इजलासमा बहस जारी छ । अभियुक्तमध्ये कोही निराश र कोही प्रफुल्ल मुद्रामा सुनिरहेको भेटिन्छन् । जिज्ञासु सर्वसाधारणको भीडले इजलासमा खुट्टा राख्नै ठाउँ हुन्न ।


पक्राउ परेकाको हकमा अदालतले के आदेश दिन्छ भन्ने प्रत्यक्ष सुन्न मन लागेर आएको विराटनगरकी सुश्मा विश्वासले बताइन् । उनले कान्तिपुर संवाददातासँग प्रतिप्रश्न गरिन्,‘सुन फेला पर्छ त, फेला परेन भने के हुन्छ ?’ १८ फागुनमा सुन तस्कर गिरोहका सदस्य सनम शाक्यको हत्या भएको तथ्य बाहिर आएदेखि सर्वाधिक खोजिएको तर नभेटिएको त्यही साढे ३३ किलो सुन हो । तर समितिका ती सदस्यले भने, ‘यति उच्च स्तरमा छानबीन भएपछि सुन पत्ता नलाग्ने कुरै भएन नि ।’

दुवै पक्षका वकिलको लर्को लागेकोले यो थुनछेकका बहस कहिल्यैसम्म टुंगिने भन्न नसकिने न्यायालयका अधिकृतहरुले बताएका छन् । ‘सुन बरामद भए त सरकारी वकिलको पनि जोसजाँगर बढ्थ्यो, ’उक्त न्यायालयका एक अधिकृतले भने । यो प्रकरणका अभियुक्त ठहर भएका वरिष्ठ प्रहरी अधिकृतहरुले तस्करीमा असंलग्नता सम्बन्धी विशेष अनुसन्धान समिति समक्ष दिएकै बयान अदालतमा कायम राखेका छन् ।


‘जति पटक सोधे पनि मेरो बयान त्यही हो,’शुक्रबार अदालत परिसरमा एसएसपी विकासराज खनालले कान्तिपुरसँग भने,‘सुन तस्करसँग कहिल्यै सम्पर्क रहेन ।’ उनीहरुको मातहतमा काम गर्ने जवानदेखि कनिष्ठ प्रहरी अधिकृतहरुले असुन्धान टोली सामु हाकिमकै निर्देशनमा आफूहरुले यो कार्यमा संलग्न रहेको भने पनि अदालतमा पूर्णतया अस्वीकारेका छन् ।


अनुसन्धान अधिकृतहरुका अनुसार बरामदी मुचुल्का, घटना विवरण कागज, डिजिटल फोरेन्सिक ल्याबबाट प्राप्त भिडियोहरु, निवेदनसाथ प्राप्त चिप्सबाट उतारिएका भिडियोहरु एवं वस्तुस्थिति मुचुल्का समेतको आधार प्रमाणहरुबाट गोरे भन्ने चुडामणी उप्रेती समेतका प्रतिवादीहरुले २०६९ साल देखिनै अपराधिक समूह गठन गरी विदेश दुवईबाट सुन खरिद गरी अवैध रुपमा भित्र्याउने गरेको हो ।


उक्त घटनामा संलग्न केही प्रतिवादीहरु विदेशबाट अवैध रुपमा सुन भित्र्याउने कार्यमा २०४४/२०४५ भन्दा अगाडि देखि नै संलग्न रहदै आएको अनुसन्धानमा खुलेको छ । २०६९ देखि प्रतिवादी गोरले अवैध रुपमा सुन भित्र्याउन केही पुराना र केही नयाँ सदस्य सम्मिलित गराई आपराधिक समूह सञ्जाल निर्माण गरेको भनिएको छ । प्रतिवादीहरुको बयान र सुन चोरी पैठारी गरेको मिति सहितको अभिलेख राखिएको रजिष्टर समेतका प्रमाणबाट यसको पुष्टी भएको अनुसन्धानमा उल्लेख छ ।


यो आपराधिक सञ्जालमा आबद्ध सदस्यहरुको भूमिका बेला बखत भरिया, खरिदकर्ता, व्यवस्थापक र अभिलेख कर्ता आदि/इत्यादी रुपमा परिवर्तन हुने गरेको समेत खुल्न आएको छ ।


संगठित अपराध समूह तयार पारी दुवई समेतका मुलुकबाट नेपालमा सुन अवैध चोरी पैठारी र नेपालबाट विदेशमा चोरी निकासी गरेको हिसाब प्रतिवादी मोरंग उर्लाबारीका मोहन काफ्लेको घरबाट वरामद विभिन्न रजिष्टर, नोटबुक र कापी समेतका कागजबाट विभिन्न मितिमा अवैध तवरले सुन चोरी पैठारी गरी हालसम्मको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रकाशित : वैशाख २९, २०७५ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?